Monday, April 17, 2023

२०८० साल बैशाख ४ गतेको सम्पादकीय

बसाइँसराइ व्यवस्थित गर्नु आवश्यक

राष्ट्रिय जनगणनाअनुसार २०६८ को तुलनामा २०७८ मा प्रदेशको पहाडी क्षेत्रमा जनसंख्या बृद्धिदर घटेको छ । त्यसो त बागमती प्रदेशको मात्रै चर्चा गर्ने हो भने पनि बागमती प्रदेशमा २०६८ को जनगणनाअनुसार जनसंख्या ५५ लाख २९ हजार ४५२ रहेकोमा दश वर्षमा बढेर ६१ लाख १६ हजार ८६६ पुगेको छ र समग्रमा प्रदेशको जनसंख्या बृद्धिदर ०.९७ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । २०६८ देखि २०७८ को एक दशकको अवधिमा यस प्रदेशमा जनसंख्या बृद्धिदर बढेको पाईए पनि पहाडी क्षेत्रको जनसंख्या बृद्धिदर ऋणात्मक देखाएको हो । हिमाली र पहाडी क्षेत्रबाट विदेश जानेहरूको संख्या बढेको छ । पहाड र हिमालबाट तराई पनि झर्छन् । माथिल्लो भेगबाट तल्लो भेगमा बसाइँ सर्ने भएका कारण पनि तराई क्षेत्रको जनसंख्या बढिरहेको र अरू क्षेत्रको घटिरहेको बुझ्न सकिन्छ । अहिले बसाइँसराइ गर्नेमा १५ देखि २५ वर्षसम्मको उमेर समूहको जनसंख्या बढी छ । उनीहरूले नयाँ परिवार बसाउन खोज्ने भएका कारण पनि यस्तो स्थिति देखिएको हुन सक्छ । तर मधेसबाट अन्यत्र बसाइँसराइ खासै छैन । मधेसमा अहिले पनि जन्मदर उच्च छ । मुख्य गरी हिमाली र पहाडी क्षेत्रमा अहिले पनि केही गाउँ रित्तिने अवस्थामा पुगिसकेका छन् । खाली नै हुने अवस्था अहिल्यै नरहे पनि बिस्तारै खाली हुँदै गएको देख्न सक्छौं । इटालीमा जन्मदर निकै घटेको थियो । युवावयका मान्छे विश्वविद्यालयमा पढ्न सहर आउनुपर्ने हुन्थ्यो । सहर आएकाहरू गउँ नफर्किएपछि त्यहाँ घरहरू नै खाली भए । सरकारले कर छुटलगायतका सुविधा दिएर बोलाए पनि उनीहरू फर्केनन् । त्यस्तै अवस्था यहाँ नआउला भन्न सकिँदैन । युरोपेली मुलुकका हिमाली क्षेत्र रित्तन थालेको सय वर्षभन्दा पनि बढी भयो । युरोपका देश मात्र होइन, चीन, जापानलगायत विकसित देशमा पनि यस्तो प्रवृत्ति देखिन्छ । ग्रामीण भेगको जनजीवन कष्टकर हुने भएका कारण युवावस्थाका मानिस गाउँ फर्किन चाहँदैनन् । हाम्रोमा पनि त्यो सम्भावना छ । पहिले युवा सहर आउँछन् र पछि उनीहरूका अभिभावक पनि बोलाउँछन् । हामीकहाँ विदेश गएका मानिसले पहिले छोराछोरी, श्रीमतीलाई सहर बोलाउँछन् । बिस्तारै अभिभावक पनि उनीहरू भएकै ठाउँ सहर वा विदेश पुग्छन् । यसकारण गाउँ खाली हुँदै जाने क्रम बढ्छ । डेमोगाफिक टूान्जिसन थ्योरीले जनसंख्याको विश्लेषण गर्दा आदिमकालमा जन्मदर र मृत्युदर दुवै बढी हुन्छ भन्छ । त्यस्तो अवस्थामा औसत आयु निकै कम हुन्छ । विकास हुँदै गएपछि शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सुधार हुनेबित्तिकै मृत्युदर घट्न थाल्छ । बिस्तारै पछि जन्मदर पनि घट्न थाल्छ । किनभने समाजमा धेरै बच्चा पाउन नहुने रहेछ भन्ने चेतना बढ्छ । हामी अहिले डेमोग्राफिक टूान्जिसनको अन्तिम बिन्दुतिर छौं । अर्थात् हामीकहाँ अहिले मृत्युदर र जन्मदर दुवै घटेको छ । हामी मृत्युदर अझै घटाउन सक्छौं । औसत आयु बढाउने ठाउँ हामीसँग छ ।

त्यसो त, सरकार आफैं पहिलेदेखि नै जनसंख्या कसरी घटाउने भनेर लागेको थियो । अहिले घटेको छ । यसमा त खुसी हुनुपर्ने हो । जनसंख्या घट्दा केही देशले चिन्ता किन गर्छन् भने उनीहरूको भूराजनीतिक अवस्थालाई जनसंख्याले अर्थ राख्छ । युद्धको कारण हेरेर जनसंख्या घट्दा समस्या मान्ने देशहरू पनि छन् । कुनै देशभित्रै पनि कुनै जाति वा समुदायको जनसंख्या घट्दा आन्तरिक द्वन्द्व देखिने सम्भावना रहन्छ । धेरैजसो देशले मुस्लिम समुदायको जनसंख्या बढ्नुलाई चुनौतीका रूपमा देख्छन् । नेपालको हकमा यस्ता विषय नरहेकाले जनसंख्या वृद्धिदर घट्नु समस्या होइन । बरु सरकारले रोजगार र त्यसको उचित मूल्य पाउने प्रबन्ध गर्नुपर्छ । हाम्रा युवा जबसम्म रोजगारी र तलब सुविधाका हिसाबले आफूलाई कमजोर ठानिरहन्छन्, विदेशिने समस्या रहिरहन्छ । अहिले कस्तो सीप भएको मान्छे कुन देशमा गएर कति कमाउँछ भन्ने थाहा पाउन गाह्रो छैन । अरू देशमा राम्रो जागिर र कमाइ भएपछि उनीहरूको सोचाइ नै विदेश जाने भन्ने हुन्छ । नेपालमा जबसम्म तलब बढ्दैन, तबसम्म यो क्रम चलिरहन्छ । हाम्रो सरकारी नीति रेमिट्यान्स मात्र ल्याउने हो कि भन्ने देखिन्छ । तर आन्तरिक श्रमको मूल्य कति पाएका छौं भनेर सोचिएको छैन । हाम्रा युवा कसरी अरू देशमा पठाउने भन्नेतर्फ मात्रै हाम्रो नीति केन्द्रित भएको जस्तो देखियो । देशभित्रै रोजगारको अवस्था कमजोर छ । हामीकहाँ रोजगारी सुरक्षित छैन । यो सुूिन समय लाग्छ । यसको सामाजिक प्रभावका रूपमा एक्लोपन, अभिभावकबाट एक्लो हुने आदि समस्या युवामा देखिरहेका छौं । परिवार नियोजनसँग सम्बन्धित नीतिलाई अब पुनर्विचार गर्नुपर्छ । सबै क्षेत्र र समुदायका लागि होइन, केही क्षेत्र र समुदायमा केन्द्रित भएर जानुपर्छ । त्यस्तै कम उमेरमा विवाह गर्ने र कम उमेरमै आमा बन्ने प्रवृत्ति पनि कम भएको छैन । कानुन नै बनाए पनि त्यो नियन्त्रण भएको छैन । त्यसकारण एकातिर परिवार नियोजनसँग सम्बद्ध मुद्दालाई पन्छाउनुपर्नेछ भने अर्कातिर अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हामीले ध्यान दिनुपर्ने महत्त्वपूर्ण क्षेत्र भनेको बसाइँसराइ नै हो । आन्तरिक र बाह्य दुवै खालको बसाइँसराइलाई व्यवस्थित गर्नतर्फ लाग्नुपर्छ । घटाउने वा बढाउनेभन्दा पनि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेतर्फ हाम्रा नीति केन्द्रित हुन जरुरी छ ।

No comments:

Post a Comment