Monday, April 10, 2023

अर्को पनि दमकल खरिद गर्ने निर्णय

विदुर । नुवाकोटमा सुख्खायाममा आगजनी नियन्त्रणका लागि दमकल पर्याप्त नभएको कारण थप दमकल खरिद गर्ने तयारी भएको छ । जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटले १२ स्थानीय तह रहेको नुवाकोटमा छिमेकी स्थानीय तहहरूबीचको समन्वयमा दमकल खरिद गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा विदुरमा बसेको  जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नुवाकोट आगलागी जन्य विपदबाट जोखिम रहेकाले आगो नियन्त्रणको लागि दमकलको आवश्यक रहेको भन्दै यस्तो निर्णय गरेको हो । जिल्लाको १२ वटै स्थानीय तहहरू मध्ये बढीमा ३ वटा पालिकाहरूबीचको समन्वयमा दमकल खरिद गरी सञ्चालनमा ल्याउन सकिए आगलागी जन्य घटनाबाट क्षतिको न्यूनीकरण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन् ।

जिल्लाभरिमा सदरमुकामको विदुर नगरपालिकाले मात्रै २ वटा दमकल सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकाले सञ्चालन गर्ने  दमकलले नगरभित्र मात्रै नभई जिल्लाभर नै सेवा पु-रहेकोले सञ्चालनको लागि अन्य पालिकाहरूबाट आर्थिक सहयोगको अपेक्षा गरिएको मेयर राजन श्रेष्ठले बताए । तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले दम्कल सञ्चालनको ग्रामीण भेगमा सञ्चालित सडक साँघुरो रहेको गुनासो गरे । सडक नजिकका बाहेक वनजंगलमा आगलागी हुँदा दमकलको प्रयोग गर्न असम्भव भए पनि गाउँबस्तीमा आगलागी भएमा दमकलको उपयोगिता बढी हुने उनको भनाइ छ । 

त्यस्तै बैठकमार्फत् विभिन्न ९ बुँदे निर्णयसमेत गरेको छ । सुख्खायामको समयमा आगलागीको घटनाहरू बढ्ने भएकोले त्यस्ता जोखिम युक्त स्थानहरूको पहिचान गरी त्यसलाई नियन्त्रण गर्न स्थानीय तह, वडा कार्यलय, डिभिजन वन कार्यलय, प्रहरी युनिट मार्फत नियमित निरिक्षण गर्ने निर्णय बैठकले गरेको छ ।

No comments:

Post a Comment