Friday, April 07, 2023

आम्दानी बढेपछि आलुमा आकर्षण


विदुर । गहुँ र तोरी खेती गर्ने यहाँका किसान पछिल्ला वर्ष आलु खेतीमा आकर्षित भएका छन् । आलुले राम्रो भाउ पाउन थालेपछि किसानको जीवनस्तर फेरिँदै गएको छ । ‘आलुबाट बढी आम्दानी हुन थाल्यो,’ सूर्यगढी गाउँपालिका–५ की उमा कँडेलले भनिन्, ‘गहुँ–तोरीभन्दा चार गुना फाइदा पाइएको छ ।’

उनको पाँच जनाको परिवारको खर्च आलु बेचेरै चलेको छ । उनी वार्षिक ५० बोराभन्दा बढी आलु उत्पादन गर्छिन् । एउटा बोरामा कम्तीमा पनि ४५/५० किलो आलु जान्छ । ‘गहुँ खेती गर्दा ज्याला उठ्नै गारो थियो,’ उनले भनिन्, ‘अहिले घर खर्चदेखि छोराछोरीको पढाइ खर्च यसैले धानेको छ ।’ उनी ५/६ रोपनीमा आलु खेती गर्छन् । 

आलु खेतीबाट आयआर्जनले जीवन फेरिएको बताउँछन् । ‘पहिला मुस्किलले पैसा देख्न पाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले यो नगदे बाली भएको छ र त्यस्तो अवस्था छैन ।’ त्यसैगरी छिमेकी पञ्चकन्या–२ का रामकृष्ण सिटौला पनि आलुबाटै मनग्य आम्दानी गरेका छन् । अन्य बालीभन्दा आलुमा फाइदा भइरहेको बताए । अहिले ४/५ बोरा आलुको बीउ लाग्छ । आलु खेतीमा मिहिनेत गरे पनि किसानले सजिलो रूपमा लिएका छन् । प्रतिकिलो १५–१९ रुपैयाँका दरले आलु बिक्री भएको किसानहरूले बताए ।

नुवाकोटका अधिकांश किसानले वर्षे धान भित्र्याएपछि आलु खेती गर्छन् । यहाँ नीलो एमएस पोट्री टु प्वाइन्ट थ्री जातको आलु खेती बढी छ । आलुले स्थानीय किसानको जीवन सुधार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको ९ वटा गाउँपालिका र एउटा नगरपालिकामा आलु खेती गरिँदै आएको छ । नुवाकोट आलुको बीउबिजन प्रमाणीकरण गर्ने पहिलो जिल्ला पनि हो । एमएस पोट्री टु प्वाइन्छ थ्री, जनकदेव, कार्डिनल र खुमल रातो जातका बीउ छन् । 

बीउबिजन गुण नियन्त्रण केन्द्र हरिहरभवनको सहयोगमा पाँच वर्षअघि नेपालमा पहिलो पटक बीउ प्रमाणीकरण गर्न सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्क पुस्तिकाअनुसार हिउँदे आलु खेती ३ हजार ५ सय ६० हेक्टर र बर्खे ७४५ हेक्टर गरी ४ हजार ३०५ हेक्टरमा क्षेत्रफलमा लगाइने गरेको छ । यहाँका आलुको मुख्य बजार काठमाडौं र पोखरा हो ।

No comments:

Post a Comment