![]() |
नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनी पासाङल्हामू राजमार्गको ठेक्का तत्काल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गर्दै । |
काठमाडौँ । पासाङल्हामू राजमार्गको ठेक्का तत्काल खोल्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराइएको छ । नुवाकोटका पूर्व सांसद समेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनीसहित सरोकारवालाहरूले मन्त्री ज्वालाको ध्यानाकर्षण गराएको अधिवक्ता बसन्त बस्नेतले जानकारी दिए ।
अधिवक्ता बस्नेतले मुख्य रूपमा दुई विषयमा मन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनका अनुसार पासाङल्हामू राजमार्गको निर्माणको तत्काल ठेक्का आव्हान र छहरे टोखा सुरूङ्ग मार्गका लागि बजेट सुनिश्चत गरेर तत्काल काम अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण गराउने क्रममा पूर्व सांसद लोहनीले पासाङल्हामू राजमार्गको दुरावास्थाका कारण धेरै जनताले दुःख पाएको, सडकको दुरावस्थाका कारण कतिपय बिरामीले बाटोमै ज्यान गुमाउनु परेको लगायतको विषयको मन्त्रीलाई जानकारी गराएका थिए ।
लोहनीसहितको टोलीको ध्यानाकर्षण पछि मन्त्री ज्वालाले विभाग र आयोजनाका प्रमुखसँग बसेर तत्काल ठेक्का लगाउनका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए । भारतीय एक्जिम बैंकको ऋणमा बिस्तार सुरू गरिएको राजमार्गको स्तरोन्नती अहिले अबरूद्ध छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने उद्देश्यले काम सुरू भएको भए पनि ठेकेदारहरूका कारण सडक नौ वर्षदेखि बेहाल बनेको छ ।
चीन नेपाल र भारत जोड्ने त्रिदेशीय मार्गसँग जोडिने पासाङल्हामु राजमार्ग जीर्ण बन्दा रसुवा र धादिङको केही भेगका नागरिकले समेत यातायात सेवा राम्रोसँग लिन पाएका छैनन् । सो अवसरमा अधिवक्ता बस्नेत, समृद्ध नुवाकोट अभियानका महासचिव माधव्रसाद तिवारी, अभियानका सदस्य समेत रहेका राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाल, विदुर नगरपालिका ६ का पूर्व अध्यक्ष राजु सडौला लगायत सरोकारवालाको उपस्थित रहेको थियो ।
बालाजुको बाइपासदेखि रौनीपौवासम्म १७ किलोमिटर एउटा र रानीपौवादेखि पिपलटारसम्म ३४ किलोमिटरको अर्को गरी दुई वटा ठेक्का भएकोमा दुबैमा ठेकेदारको लापरवाही काम भएन । पटक पटक म्याद थप्ने र ठेक्का महंगो बनाउने लैजाने काम मात्र गरे । भौतिक प्रगती हुन नसकेपछि सरकारले दुबै ठेक्का तोडिसकेको छ । बालाजुदेखि रानीपौवासम्मको सडकको ठेक्का शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनको जेभी र रानीपौवादेखि पिपलटारसम्मको सडक कोशी न्यौपाने एण्ड कम्पनीको जेभीको कम्पीले ठेक्कामा लिएका थिए । ठेक्का तोडिएको लामो समय भए पनि सडक आयोजनाले नयाँ ठेक्का खोल्न ढिलासुस्ती गरिरहेको छ ।
नुवाकोट प्रवेशको मुख्य नाका मानिने पासाङल्हामू राजमार्गको एक दशकको हविगतले त्यहाँका धेरै स्थानीय विस्थापित नै बन्न पुगेका छन् । सडक भत्काएर छाडिदा समयमै अस्पताल पुग्न नपाएर ज्यान गुमाउनेहरू पनि छन् । सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा समेत काम हुनसकेको छैन ।
पासाङल्हामु राजमार्ग नेपालका १४ वटा पुराना राजमार्गमध्ये एक भएको २०२१ फागुन २१ गते तत्कालीन सरकारले प्रकाशित गरेको ‘नेपाल गजेट’मा उल्लेख गरिएको छ । त्यतिबेला यो सडकको चौडाइ बीचबाट दायाँबायाँ २५÷२५ गज तोकिएको थियो । तर, सडक एकलेनको मात्र भएको कारण सरकारले विस्तारको काम थालेको भए पनि विभिन्न कारणले काम हुन सकेको छैन ।
No comments:
Post a Comment