![]() |
सन्तोष उप्रेती |
यो अधिवेशनले नेतृत्व चयन गर्ने भएकाले उद्योगी–व्यवसायी नेतृत्वमा पुग्न दौडधुप थालेका छन् । संघको वैशाख ९ गते हुन लागेको चुनावमा संघका वर्तमान कार्यसमितिका पदाधिकारीले नेतृत्व लिने घोषणा गर्न थालेका छन् । संघको विधानअनुसार गत वर्ष चैतमै अधिवेशन गरिसक्नुपर्ने थियो । कोरोनाको महामारी, स्थानीय र त्यसपछिको संघ र प्रदेशको चुनावले गर्दा अधिवेशन १३ महिनापछि आगामी वैशाखमा हुन लागेको महासचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिए । निर्वाचनको मिति नजिकिएसँगै संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले भावी अध्यक्षमा दाबी गर्दै टिम तयार गर्न तल्लीन छन् । उनले दुई हप्ता अघि अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए ।
संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेती एक वर्षअघिदेखि अध्यक्षको आकांक्षी रहेका छन् । उप्रेतीले सदस्यता नवीकरणदेखि वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यसँग समन्वय गरिरहेका छन् । दुवै जना नेपाली काङ्ग्रेसनिकट व्यवसायी रहेका छन् ।
काङ्ग्रेसइतर नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा पनि छुट्टै टिम बनाएर संघको अधिवेशनमा नेतृत्व लिने तयारीमा जुटिरहेका छन् । संघको निर्वाचन घोषणाले उद्योगी–व्यवसायीलाई भन्दा पनि राजनीतिक दललाई चटारो परेको छ । कोभिडको मारले थिलथिलो भएका व्यवसायी अहिलेको बैंकको पेलाइले बोल्न नसक्ने अवस्थामा रहेका छन् । यस्तो अवस्थामा पनि राजनीतिक दलले उद्योगी–व्यवसायीलाई उरालिरहेका छन् । संघको भावी नेतृत्व सर्वसम्मत गराउन पूर्वअध्यक्ष, पूर्वपदाधिकारी र अग्रज व्यवसायीले छलफल सुरु गरेका छन् । अधिवेशनबाट २२ जना निर्वाचित हुनेछन् । संघको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता, तनिजना महिला सदस्य, नौजना खुला सदस्य, दुईजना वस्तुगत सदस्यको निर्वाचन हुनेछ । निर्वाचनमा झन्डै दुई हजारजना सदस्य मतदाता रहेको संघको सचिवालयले जानकारी दिएको छ ।
![]() |
राजेन्द्र श्रेष्ठ |
२०४५ सालमा स्थापना भएको संघमा सातजना नेतृत्वमा पुगिसकेका छन् । संघको पहिलो संस्थापक अध्यक्ष प्रदीपरत्न शाक्य, प्रथम अधिवेशनबाट निर्मल श्रेष्ठ, दोस्रो अधिवेशनबाट पनि निर्मल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०५३ मा भएको तेस्रो अधिवेशनबाट बलराम रिजाल, २०५६ मा भएको चौथो अधिवेशनबाट धननारायण चित्रकार र २०५९ मा भएको पाँचौँ अधिवेशनबाट पुनः धननारायण चित्रकार अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यसैगरी, संघको छैटौँ अधिवेशन २०६२ र सातौँ अधिवेशन २०६५ बाट शरण उत्सुक सापकोटा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी, २०६५ मा भएको आठौँ अधिवेशनबाट राजन श्रेष्ठ, २०७२ र २०७६ मा भएको नवौँ र दशौँ अधिवेशनबाट ताराबहादुर कार्की अध्यक्षमा निर्वाचित भएका थिए ।
No comments:
Post a Comment