Friday, April 07, 2023

कारागारमा बिरामी बढे


विदुर । नुवाकोट कारागारमा स्वास्थ्यकर्मी अभावमा धेरै कैदीबन्दी बिरामी पर्न थालेका छन् ।  कारागारमा स्वास्थ्यकर्मी नहुँदा नियमित जँचाउनुपर्ने बिरामी पनि त्यत्तिकै बस्न बाध्य भएका छन् । 

‘बिरामी परेमा जेलभित्र उपचार गराउन अवस्था छैन,’ कारागारका जेलर गंगालाल योगीले भने, ‘१३ जना जति मानसिक रोगी नै छन् । ती रोगीलाई बाहिर उपचार गराउन समस्या छ । औषधि खुवाइरहनुपर्छ । बिरामी धेरै हुने गरेका छन् । स्वास्थ्यकर्मी अभाव छ ।’ कारागारका लागि एकमात्र सिनियर अहेवको दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन् । कारागारमा १६ महिला एक दुई वर्षको नाबालक गरी जम्मा १४१ जना छन् । त्यसमध्ये विदेशीको हकमा एक जना अमेरिकी पुरुष र एक बोलेभियन महिला नागरिक छन् । 

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । उनीहरूलाई सहज रुपमा सुत्न र बस्न गाह्रो भएको छ । कारागारको क्षमता पुरुष र महिला ५०/५० जनाको हो । 

तर यही कारागारभन्दा करिब ६ किलोमिटर दूरीमा विदुरमा आधुनिक सुविधासम्पन्न केन्द्रीय कारागार बनिरहेको छ । तीन वर्षदेखि कैदीबन्दीलाई स्थानान्तरण गर्ने भनिए पनि अहिलेसम्म भएको छैन ।

No comments:

Post a Comment