Monday, May 01, 2023

२०८० साल बैशाख १८ गतेको सम्पादकीय

श्रम अधिकार सुनिश्चित होस्

यस वर्षको १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । 

प्रत्येक वर्ष मे १ मा मजदुर दिवस मनाई रहँदा मजदुरको पेसागत हक हित र उनीहरूको जीवनस्तर उँभो बनाउने निश्चित योजना प्रस्तुत गर्न‘को साटो मजदुर दिवसलाई राजनीति गर्ने प्रयोगशालाको रूपमा उपयोग गर्दा दलपिच्छे मजदुर सङ्गठन खुल्ने र ट्रेड युनियनहरूमा भित्रिएको अवसरवाद र संरक्षणवादी सोच र प्रवृत्तिले श्रमिकको वास्तविक एजेन्डा सही ढङ्गले उठ्न सकिरहेको छैन । वास्तविक श्रमिकको अवस्था आज पनि दयनीय छ । आफ्नो व्यक्तिगत स्वार्थ र हितलाई पूरा गर्न ट्रेड युनियनलाई भ¥याङ बनाउने र आफ्नो स्वार्थ पूरा भएपछि आन्दोलनलाई कमजोर बनाउने तथा पुँजीपति वर्गसँग आफ्नो व्यक्तिगत स्वार्थ अनुकूल सम्झौता गर्दा एकातिर ट्रेड युनियन आन्दोलन कमजोर बन्दै गएको छ भने अर्कोतिर श्रमिकहरू वास्तविक रूपमा असुरक्षित र निरीह बनिरहेका छन् । सडकमा दिनभर खाली खुट्टामा भारी बोक्ने भरियाको जीवनस्तर आज पनि उस्तै छ । होटेल र रेष्टुराहरूमा भाडा सफा गरेर जीविकोपार्जन गरिरहेका मजदुरहरूका जीवन उस्तै छ । चिया बगानमा काम गर्ने मजदुरको अवस्था उस्तै दयनीय छ । देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने वर्ग जो मुलुकमा पर्याप्त रोजगारीका अवसर नहुँदा खाडी मुलुकमा कष्टपूर्ण, अपहेलित र असुरक्षित काम गर्न बाध्य छ त्यसले श्रमिक दिवसबाट केही पाउन सकिरहेको छैन । संघीयतासँगै समायोजनका नाममा कर्मचारीले न्यूनतम रूपमा प्राप्त गर्ने सम्पूर्ण अधिकारहरू कुण्ठित गरी विभेदपूर्ण र असामान्य ढङ्गले निजामती श्रमिकहरूलाई घोक्रेठ्याक लगाएर काम गराउन बाध्य बनाइएको छ । अनुमानयोग्य सेवा सुविधा र अवसरको सुनिश्चितता विना श्रम गराउन बाध्य बनाइएको छ । निजामती कर्मचारीहरूबिच विभेद सिर्जना गरिएको छ । श्रमिक कर्मचारीहरूले पाउने सेवा सुविधा र वृत्ति विकासको अवसर तथा सुरक्षामा असमानता र अदूरदर्शिताको सिद्धान्त लागू गरिएको छ । यी सबै पक्षको अध्ययन गर्दा नेपालको ट्रेड युनियन आन्दोलन राजनीतिक र नीतिगत रूपमा सफल भए पनि आर्थिक, सामाजिक र नैतिक रूपमा सफल हुन सकेको देखिँदैन ।

श्रमिकको एकता नै विजयको पहिलो सुरुवात हो । अबको श्रमिक आन्दोलन एकल ट्रेड युनियन आन्दोलनको रूपमा अगाडि बढ्नु पर्ने देखिन्छ । सबै प्रकारका श्रमिकहरूको जीवनस्तरलाई माथि उठाउने र उनीहरूको सुख, शान्ति र समृद्धि हुने तथा देशको आर्थिक तथा सामाजिक क्रान्ति गर्ने दिशामा दृढ सङ्कल्पका साथ ट्रेड युनियन आन्दोलनलाई मर्यादित बनाउनु सम्पूर्ण ट्रेड युनियनकर्मीको उत्तरदायित्व हो । ट्रेड युनियन आन्दोलन साझा एजेन्डा र आन्दोलनमा केन्द्रित हुनु पर्छ । कुनै सीमित अवसर र स्वार्थका लागि गरिने आन्दोलन श्रमिकका लागि नभएर बुर्ज‘वाहरूकै लागि फलदायिक बनिरहेका दृष्टान्तहरू प्रशस्त रही आएका छन् । सबै समान हुने र सबैको अधिकार सुनिश्चित हुने सुन्दर बगैँचाको रूपमा चिनिँदै आएको लोकतान्त्रिक गणतन्त्रात्मक शासन सञ्चालन भएको देशमा श्रमिकले आफ्नो रगत र पसिना बेचेर श्रम गर्दा अनुकूल श्रम वातावरण, भेदभाव रहित कार्य व्यवहार एवम् पारिश्रमिक र सामाजिक सुरक्षा लगायतका श्रम अधिकार सुनिश्चित हुन सक्ने अवस्था सिर्जना गरोस् । संघीयता र समायोजनका नाममा सबै प्रकारका श्रमिकहरूलाई विभेद नगरियोस् । संविधानले प्रदत्त गरेको श्रमसम्बन्धी मौलिक हकको पूर्ण प्रत्याभूत गराइयोस् । भाषणका बदलामा मजदुरको पक्षमा काममा गरियोस् । मजदुर दिवस अर्थपूर्ण र मजदूरमैत्री बनोस् । सबै प्रकारका श्रमिकहरूलाई मजदुर दिवसको शुभकामना ।

No comments:

Post a Comment