![]() |
गणेश पण्डितको सालिक |
रामती । नुवाकोटको कम्युनिष्ट र शैक्षिक आन्दोलनका अगुवा गणेश पण्डितको सालिक अनावरण शनिवा सभामुख देवराज घिमिरेले गरेका छन् । स्वर्गीय पण्डित नुवाकोटका पूर्व सांसद समेत हुन । पण्डितको २०७५ फागुन २१ गते हृदयघातका कारण ७३ वर्षको उमेरमा निधन भएको थियो ।
दुप्चेश्वर गाउँपालिका–६ दुप्चेश्वर माध्यमिक विद्यालयको प्राङ्गण रामतीमा निर्मित अर्धकदको सालिक (प्रतिमा) प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अनावरण गरेका हुन् । गणेश पण्डित स्मृति केन्द्रद्वारा आयोजित कार्यक्रममा नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा माओवादीका सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ, क्षेत्र २ बाट निर्वाचित अर्ज‘ननरसिंह केसी, संघीय सांसद विमला सुवेदी, क्षेत्र १ (१) बाट निर्वाचित वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विभिन्न राजनीतिक दलका नेताहरु र स्थानीयको समेत उपस्थिति थियो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता पण्डितको २०७५ फागुन २१ गते हृदयघातबाट निधन भएको छ । भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किनुभएका ७२ वर्षीय पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए । नेपाली कांग्रेस नेता एवं संघीय सांसद अर्जुननरसिंह केसी पण्डितका भान्जा हुन् । पण्डित सादा जीवन उच्च विचारका धनी शैक्षिक अभियन्ताका रुपमा समेत परिचित थिए ।
विसं २००३ मा शिखरबेंसीमा जन्मिएका पण्डितको सामाजिक तथा राजनीतिक यात्रा आफ्नो घरबाट नै तमसुक च्यातेर विद्रोह गरेपछि शुरु भएको जानकारहरू बताउँछन् । आफ्ना पिताले गाउँमा गरीबलाई ऋण दिएको तमसुक च्यातेर राजनीतिक तथा सामाजिक अभियन्ता भएर हिँडेका पण्डितको नुवाकोटको वाम राजनीति र शैक्षिक अभियानमा अतुलनीय योगदान छ ।
जिल्लाका पूर्वी क्षेत्रको शैक्षिक विकासमा पण्डितको योगदान अतुलनीय रहेको छ । पण्डितले अमरज्योति माविलाई माध्यामिक तह बनाउन, सातबिसेको सुन्दरा माविको स्थापना गराउन र रामतीको दुप्चेश्वर मावि स्थापना गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले अमरज्योति माविलाई मावि तह मात्र बनाएनन १० वर्ष प्रधानाध्यापक भएर अध्यापनसमेत गरेका थिए । पण्डितले २०३२ देखि २०४२ सालसम्म अमरज्योति माविमा पढाएका थिए ।
शिक्षणसँगै वामपन्थी राजनीतिमा सक्रिय पण्डितले दिनभरि विद्यालयमा पठनपाठन गराउने र राति राजनीतिक प्रशिक्षण दिँदै सङ्गठन विस्तार गर्ने काम गर्ने गरेको उनका समकालीनहरू बताउने गर्छन । १० वर्षसँगै अध्यापन गरेको खरानीटारका लोकबहादुर श्रेष्ठ पण्डितसँगको सहकार्य यसरी सम्झिन्छन ‘पञ्चायतका मान्छे दिउँसो स्कूलमा आउँथे । पण्डित सरलाई स्कूलमै देख्थे । हामी राति नै विभिन्न गाउँमा पुग्थ्यौँ । पण्डित सरको नेतृत्वमा हामीले राति राति गएर यो भेगका सबै गाउँमा सङ्गठन विस्तार गरिसकेका थियौँ ।’
पञ्चायतकालमा पनि रामती, समुद्रटार, थप्रेक, कुमरी, दुईपिपललगायत क्षेत्रका पण्डित सरकै अगुवाइ पार्टीको सङ्गठन विस्तार भएको सहकर्मी श्रेष्ठ बताउँछन । जिल्लामा कम्युनिष्ट पार्टीको जग बसाल्न र त्यसलाई फलाउन, फुलाउन पण्डितको योगदान अतुलनीय छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला उपाध्यक्ष समेत भएका पण्डित २०४२ सालको बमकाण्डमा पक्राउ परेपछि शैक्षिक क्षेत्रमा फर्किएनन् ।
बमकाण्डमा १४ महिना जेल परेर फर्किए पछि पाण्डित पूर्णकालीन राजनीतिमा प्रवेश गर्दै २०४३ सालमा जनपक्षीय उम्मेदवार भएर निर्वाचनमा होमिएका थिए । उक्त निर्वाचनमा पराजित भए पनि पण्डित राजनीतिक सङ्गठन विस्तारमा सक्रिय रहे । नेकपा(चौम)मा आबद्ध पण्डित २०४७ सालमा पार्टी एकीकरणपछि नेकपा एमालेमा प्रवेश गरेका थिए । विसं २०४८ को निर्वाचनमा नुवाकोट क्षेत्र नं २ बाट विजयी पण्डित २०४९ सालमा नेकपा एमालेको जिल्ला अधिवेशनबाट सचिव भएका थिए ।
पण्डित २०५० सालमा पार्टीको अनुमतिविना अमेरिका गएको आरोपमा माधवकुमार नेपालबाट कारवाहीमा परेपछि राजनीतिक सक्रियताबाट बाहिरिएका थिए । पार्टीले कारवाही गरेपछि कार्यकर्ता माउविनाको चल्ला जस्तो भएका थिए । तर उनी पछि मालेमा लागे । २०५६ सालमा नेकपा मालेबाट उम्मेदवार समेत भएका थिए । पण्डित २०६४ पछि भने तत्कालीन नेकपा (माओवादी)मा आबद्ध भएका थिए । पछि नेकपा हुनुकेही एमालेमा केही गतिबिधिमा देखिएका पण्डित नेकपासँगै पार्टीको गतिबिधिमा तत्कालीन पार्टी कार्यालय धुम्बाराही जान थालेका थिए तर २०७५ फागुन २१ गते चमेरे गुफा जानेक्रममा उनको ह्दयघात भएर मृत्यु भएको थियो ।
No comments:
Post a Comment