Wednesday, May 31, 2023

रसुवाको गोसाइँकुण्डमा विशेष मेला सुरु

गोसाइँकुण्ड

कालिकास्थान । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष मेला सुरु भएको छ ।
    गंगा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले कुण्डमा स्नान तथा भगवान शिवको पूजा आरधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको बताइन्छ ।
    समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान शिव निलाद्री पर्वत पुगेको धार्मिक मान्यता रहेको छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेट्नु भई त्यही जलले बनेको पोखरीमा शिव शंकर भगवान विराजमान रहेको बताइएको छ। कुण्डमा डुबुल्की मारेपछि  शक्तिले उकालोमा जाँदा लागेको सम्पूर्ण थकाइ समाप्ति भएको अनुभव प्राप्त हुँदै आएको छ ।
    निलाद्री पर्वत अर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एकपटक गोसाइँकुण्ड पुग्नैपर्ने मान्यता रहिआएको छ । स्थानीय पुरोहित टंकसाद ढकालले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गंगा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुंगा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवानको दर्शन गरी फर्किँदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताए ।
    दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा रहिआएको छ। यस वर्षको गंगा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने प्रक्षेपण गरिएको जनाउँदै लाङटाङ राष्ट्रिय निकुञ्जले भनेको छ सबै यात्रुको संख्यात्मक रूपमा लगत राखिनेछ ।

No comments:

Post a Comment