Wednesday, May 31, 2023

बेलकोटगढी मर्मतमा पुरातत्वको चासो

मर्मत भइरहेको बेलकोटगढी

– भोलाराज पौडेल

बेलकोटगढी । नुवाकोट एकिकरणको अभिन्न अंगको रुपमा चिनिने बेलकोटगढीको मर्मत सम्भारको लागि पुरातत्व विभागले यस वर्ष थप काम गर्ने भएको छ ।
    भुकम्पबाट क्षतिग्रस्त भएको गढीको माथिल्लो कोणको पुर्ननिर्माणको काम सम्पन्न गरेको पुरातत्व विभागले यस वर्षदेखि माथिल्लो भागमा भत्किएको पर्खाललाई थप विस्तार गर्न लागेको हो । पुरातत्व विभागले यस वर्ष २० लाख रुपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत गढीको माथिल्लो भागमा १ मिटर अग्लो चारैतिरको पर्खाल थप गर्न लागेको हो । यो पर्खालमा पृथ्वीनारायण शाहको पालामा गढीमा सेना लुक्ने र अरुलाई आक्रमण गर्न मिल्ने ठाउँठाउँमा प्वाल भएको पर्खाल निर्माण गरिने छ । जेठ महिनाभित्रै सो काम सम्पन्न गर्ने गरी पुर्ननिर्माणको काम अघि बढाईने पुरातत्व विभागले जनाएको छ ।
    समुन्द्री सतहदेखि करिव एक हजार २ सय फिटरको उचाइमा ऐतिहासिक बेलकोटगढी पृथ्वी नारायण शाहले बाइसे–चौविसे राज्य एकिकरण गर्ने शिलसिलामा वि.स. १८०१ मा नुवाकोट आक्रमण गर्ने क्रममा निर्माण गरेको कुरा नेपालको इतिहासमा लेखिएको छ ।
    जिल्लाभित्र रहेका प्रमुख ऐतिहासिक तथा धार्मिक सम्पदाहरूमध्येको एक स्थानको रुपमा यस गढी आवश्यक मर्मत संभार र जिर्णोद्वारको अभावमा खण्डहर बन्दै गइरहेको गढीलाई विगत १० वर्षदेखि पुरातत्व विभागले चासो दिएर गढी संरक्षणमा लागेको हो । तर, यो प्रयाप्त छैन । गढीको पर्खालमा लगाइएको ढुंगा संरक्षण र पर्खाल लगाउने काम सुरु गरेपनि यो काम अझै पूर्ण हुन सकेको छैन । गढीको तल्लो कोणको पर्खाल मर्मत गर्न‘पर्ने स्थानीय राजनीतिज्ञ बासुदेव कँडुवालले बताए । ‘पुरातत्व विभागबाट केही सुधारका कार्यक्रम सञ्चालन भइरहेको छ,’ कँडुवालले भने–‘यो प्रयाप्त छैन ।’ गढीको माथिल्लो भागको पर्खाल मिलाउने काम सकिएपनि तल्लो भागको पर्खाल मर्मतको काम भने अझै हुन नसकिएको उनले बताए ।
    सदरमुकाम बिदुरदेखि तीन कोष दक्षिणतर्फ पर्ने यस गढी तीन रोपनी क्षेत्रफलभित्र चारैतिर ढुङ्गाको पर्खाल लगाइएको छ । यस गढीको माथिल्लो भागको मा निरञ्जना मन्दिर अवस्थित छ । गढीमा लगाइएको ढुंगाको पर्खालमा २२÷२२ हातका ८ कोण र तल्लो भागमा ३२/३२ हातका ८ कोण (अष्टकोण) आकार दिइरहेको छ ।
    युद्धकलामा आधारित रहेर निर्माण गरिएको गढी शत्रु पक्षले आफ्नो पक्षलाई हानेको गोली वा हतियार रोकेर अफू सुरक्षित रहन सकिने तर शत्रुपक्षलाई सिधै आक्रमण गर्न मिल्ने गढीको पर्खाल पृथ्वीनारायण शाह र उनका सैन्य समूहले एकै रातमा एक कि.मी. पर ढुङ्गे खानीको ढुङ्गा ल्याएर निर्माण गरेको भन्ने आख्यान बूढापाकाहरूको रहेको छ ।
    पासाङल्हामु मार्गको धमलेदेखि २ किलोमिटर धमले– जिलिङ सडकसँगै जोडिएको बेलकोटगढी राष्ट्रको सितरा, नुवाकोटको गहना, र सिङ्गो बेलकोटगढी नगरपालिकाको परिचयसँग गाँसिएको छ ।
    गढीको अर्को विषेशताको रुपमा रहेको दशैं घर अगाडी रहेको काठको मौलो । पृथ्वी नारायण शाहले बाइसे–चौविसे राज्य अन्र्तगतको बेलकोटका राज्यका राजा जयन्त रानालाई काटी मारेपछि जयन्तको बहादुरीको सम्झनामा गाडिएको यो मौले अझै रहेको छ । जयन्तका पुर्खा राना मगर अहिले पनि बेलकोटमै बसोवास गर्दै आइरहेका छन् । निरञ्जाा भगवती मन्दिरमा यहाँका मगर समुदायका उपासे छन् । निरञ्जनालाई मगर समुदायले आफ्नो मुख्य देवीको रुपमा पुज्दै आएको उपासे मानवबहादुर राना बताउँछन् । विशेष पर्व पुजामा कर्ताको रुपमा उनीहरूको भूमिका रहने गर्दछ । यहाँ पुजारी र पुरोहित पौडेल परिवारका छन् । पृथ्वी नारायण शाहले रामानन्द पौडल (पण्डित)को सल्लाहको आधारमा नुवाकोट आक्रमण सफल भएकोले यो मन्दिरमा गुठीको व्यवस्था गरी मन्दिर संरक्षणमा लगाएको पौडेल समुदायको दावी रहेको छ । ‘त्यतिबेला सबैतिर पढाई हुँदैन थियो, स्थानीय वृद्ध युवराज पौडेल भन्छन्–‘रामानन्द पढेर घर फर्कने क्रममा पृथ्वीनारायण शाहसँग फर्किएका र त्रिशूली नदीमा खडा थापेर साइत हेर्ने काम उनैले गरेकाले यो मन्दिरमा पौडेलले पुजारी र सञ्चालनको जिम्मेवारी पाएको हो ।’
    गढीमा रहेको निरञ्जना भगवती मन्दिर पनि पौराणिक र शक्ति पीठको रुपमा गाउलेहरूले पुज्दै आएका छन् । ग्रन्थहरूका अनुसार बेलकोटलाई देवीकोट भनिएको र पछि धेरै बेलका रुखहरू भएको र कोट (गढी) को निर्माण भएपछि बेलकोट रहन गएको स्थानीयबाट सुन्न पाइन्छ ।
    पृथ्वीनारयण शाहहद्वारा गढी निर्माण गरे पश्चात नित्य बिहान बेलुका पुजाआरती नगरा लगाउन र पर्व मेला संचालन गर्न झण्डै चार सय रोपनी जति जग्गा देवीको नाममा राखी गुठीको व्यवस्था गरी कुुुत वालीबाट कर्मचारीहरूले काम गर्नुपर्ने गरी तोकिएको थियो । जग्गा मध्ये दुइसय एकनब्बे रोपनी जग्गा मात्र पत्ता लागेको छ, वाँकी जग्गाहरू कहाँ कसरी रहेका छन् अहिलेसम्म पत्ता लगाउनै नसकिएको स्थानीयहरू बताउँछन् ।
बढादशैंमा यहाँ काठमाडौं हनुमान ढोकाको वैद्धिक विधिअनुसार पुजा सञ्चालन हुने गरेको छ भने यहाँ दैनिक विहान बेलुकी नगरावाना लगाउने चलन अझै निरन्तरता पाएको छ । पहिले समय सुचकको काम गर्ने नगरावाना अचेलको पुस्ताको लागि नौलो लाग्ने गरेको छ । विहानको नगरा बजेपछि उठ्ने समय भएको र बेलुकीको नगरा बजेपछि मेलापातबाट फर्किने समयको रुपमा स्थानीयहरूले लिने गरेका थिए । स्थानीय भीमबहादुर नेपालीको नेतृत्वको टोलीले दैनिक नगरावाना बजाउँदै आएको छ ।
    २०७२ सालको भुकम्पपछि भत्किएको निरञ्जना भगवती मन्दिर निर्माणको काम यसै वर्षमात्रै सुरु भएको छ । पुरातत्व विभागको डिजाइन र बेलकोटगढी नगरपालिकाको अनुदानमा एक करोड १० लाखको लगानीमा मन्दिर निर्माण हुन लागेको हो ।

No comments:

Post a Comment