Wednesday, May 31, 2023

कोम्राङपाखामा बिजुली

सुर्यगढी गाउँपालिकाको को कोम्राङपाखा गाउँ

चोकते । नुवाकोटको विगत मानिने सूर्यगढी गाँउपालिका वडा नं. १ को कोम्राङपाखासहितको आसपासमा विद्युत् सेवा पुगेको छ ।
    जिल्लाको दुर्गम क्षेत्र र माथिल्लो भूभाग भएकाले भौगोलिक कठिनाइको कारण विद्यत्् प्रसारण प्रणाली पुग्न नसकेको उक्त गाउँमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत केन्द्रीय प्रसारण प्रणाली पु-याएको हो । कार्यालयका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईको अनुसार ‘उज्यालो बागमती अभियान’ अन्तर्गत ४० लाख रुपैयाँको लगानीमा ६० फलामको खम्बा र प्रसारण लाइन विस्तार गरेर विद्युत् पु-याइएको हो । ‘विद्युत् अभाव र तत्कालको लागि प्राधिकरणबाट विस्तारको तयारी नभएको भन्दै स्थानीयवासीको आग्रह अनुसार बत्ती विस्तारको तयारी गरिएको हो’, डिभिजन प्रमुख गुरागाईले भने, ‘किसानको दैनिक जीवनमा आर्थिक रुपान्तरणसँग जोड्न बनाएको लक्ष्य विद्युत् सेवाको पहुँच पु-याउन सफल भएसँगै पूरा भएको छ ।’
    विद्युत् सेवाको विस्तार भएसँगै यहाँका नागरिकले टुकी बत्तीको सट्टा बिजुली बाल्न पाउने भएपछि गाँउमा खुसीको उमङ्ग छाएको सूर्यगढी गाउँपालिका–१ वडाध्यक्ष राजकुमार तामाङ (रञ्जित)ले बताए । उनका अनुसार बत्ती बाल्न र सञ्चारमाध्यमको उपभोग गर्नसहित जङ्गली जनावरले कृषि उब्जनीमा पु-याउँदै आएको क्षति नोक्सानी कम गराउन सक्ने आशा स्थानीयवासीको छ । ‘लाङटाङ राष्ट्रिय निकुञ्जको पहुँच क्षेत्र भएकाले बदेल, दुम्सी भगाउन बत्ती बाल्न र सङ्गीत बजाएर भगाउन सकिन्छ भन्ने योजना बनाएका छौँ ।’ वडाध्यक्ष तामाङले भने, ‘गाउँमा कुटानीपिसानी गर्ने मिल चलाउन, बालबालिकालाई अध्ययन र चुलोचौकाको काम समयमा गर्न सहज भएपछि गाउँवासी उत्साहित छन् ।’
    कोम्राङपाखाको ८४ वर्षीय जितमानसिंह तामाङको घरमा बत्ती बालेर सुरु भएको विद्युत् सेवा तार व्यवस्थापनको काम भइरहेकाले लक्ष्यअनुसार १५० घरधुरीमा पु-याउन एक साता लाग्ने देखिएको छ । साठी वटा खम्बा र त्यसमा प्रसारण लाइन जडान भइसकेको छ भने घरघरमा विद्युतीकरणको लाइन मिलाउन बाँकी भएकाले सबैको घरमा बत्ती बल्न केही दिन लाग्ने ‘ग्रामीण विद्युतीकरण तथा अन्य निर्माण उपभोक्ता समिति’का अध्यक्ष काजीमान तामाङले बताए ।
समुद्री सतहदेखि दुई हजार दुईसय मिटर उचाइमा अवस्थित यस (कोम्राङपाखा) बस्ती गोसाइँकुण्ड पदमार्ग, निकुञ्ज र हिमशृङ्खलाको मनोरम दृष्यावलोकनको लागि पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध यस ठाँउमा विद्युत्को उपभोगले स्थानीयवासीको आर्थिक जनजीवनमा उल्लेख्य सुधार हुने विश्वास लिएको उनको भनाइ छ ।

No comments:

Post a Comment