अनियन्त्रित भ्रष्टाचारले थिचेको नेपाल
नेपालमा भ्रष्टाचार अनियन्त्रित हुँदा साधारण नागरिकको राज्यमाथिको विश्वास घटेको छ । नवजात लोकतन्त्र उदय भएको एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशमा प्रजातन्त्रप्रति आस्था घट्दै गई त्यहाँका नागरिकमा नकारात्मक प्रभाव परिरहेको छ । नेपालको अवस्था त खराबमध्येको खराबमा रहेको छ । यद्यपि नागरिक र लोकतन्त्रका प्रमुख अभिकर्ता राजनीतिक दलले भ्रष्टाचार उन्मूलनका लागि दृढ इच्छाशक्ति प्रदर्शन गर्ने हो भने भ्रष्टाचारलाई उन्मूलन गर्न नसके पनि नियन्त्रण गर्न सकिन्छ । नयाँ नेपालको परिकल्पना साकार पार्ने हो भने भ्रष्टाचारमा शून्य सहिष्णुता चाहिन्छ । यसका लागि सबै नेपाली एक ढिक्का भएर भ्रष्टाचारविरुद्ध सङ्गठित संघर्ष गर्नुको विकल्प छैन । समाज विविधतायुक्त हुन्छ । एउटै प्रकृतिका मानिस सबै हुँदैनन् । सबै मानिसबाट समान व्यवहार, आचरण र चालचलनको अपेक्षा गर्न सकिँदैन र हुँदैन पनि । सदाचारी, भ्रष्टाचारी, क्षमतावान्, क्षमताहीन, समाजसेवी, स्वार्थी आदि सबै खाले मानिस समाजमा भेटिन्छन् । कथनी र करनी एउटै भएका र बोल्ने एउटा गर्ने अर्कै स्वभाव भएका एउटै समाजमा रहेका हुन्छन् । अरूको पीडामा सँगसँगै रुने र अरूको दुःखमा रमाउने दुवै स्वभावका मानिसले समाज बनेको हुन्छ । रामराज्यमा त सीतालाई अन्याय हुन पुगेको थियो भने कलियुगको नेपालमा न्यायै मात्र मिल्छ भन्ने अपेक्षा सायदै कसैले गरेको होला । राजनीतिक दल यही समाजबाट निर्मित हुन्छन् । समाजको प्रतिरूप दलहरूमा देखिनु कुनै अनौठो कुरा होइन । देश र समाजको नितान्त सेवा गर्दछु भन्ने भावनाका साथ राजनीतिमा समाहित भएका पनि दलहरूमा छन् र राजनीतिका माध्यमबाट सत्तामा पुगेर शक्ति आर्जन गर्दै सत्ता शक्तिका माध्यमबाट आफ्ना पनाति पुस्तासम्मलाई पुग्ने गरी सम्पत्ति जोड्ने उद्देश्यले सव्रिmय भएका पनि त्यत्तिकै संख्यामा छन् । सच्चा राजनीतिज्ञ सत्तामा पुगे भने जनताको भाग्य ठहरिन्छ । दुराशय भावनाका साथ राजनीतिमा होमिएकाको हालीमुहाली हुँदा देश र जनता दुवैको दुर्भाग्यले डेरा जमाउन पुग्दछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर मुलुक अहिले व्यापक हलचलको अवस्थामा छ । विशेष गरी देश र जनताको जिम्मेवारी लिएर बसेका उच्चपदस्थ पदाधिकारीमाथि नै अभियोग लागेका कारण शासकीय व्यवस्थादेखि लिएर पुराना दलका आचरणका सम्बन्धमा विविध प्रश्नको ओइरो लागेको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा देशै चलाउनुपर्ने उपप्रधानमन्त्री, मुलुककै शान्तिसुरक्षा र सुशासनको प्रत्याभूति दिलाउनुपर्ने गृहमन्त्रीका साथै गृहसचिव जस्तो संवेदनशील पदाधिकारी मुछिएपछि गणतन्त्रप्रति अनुदारहरूले सल्बलाउने मौका पनि पाएका छन् । संघीयताका विरुद्धमा मात्रै बोल्दै आएकासमेत गणतन्त्रलाई दोषारोपण गर्न उक्सिएको पाइन्छ । सोच्नुपर्ने कुरा के हो भने यो प्रकृतिका घटना सम्भव हुने भनेको गणतन्त्रमै हो । अवसर पाउँदा भ्रष्टाचार गर्नेको संख्या बढ्न सक्ने व्यवस्था पनि गणतन्त्र नै हो र प्रमाण पुग्दा जोसुकै होस्, कारबाहीको दायरामा आउन बाध्य हुने प्रणाली पनि गणतान्त्रिक प्रणाली नै हो । शासकहरू पूर्ण रूपमा लोकतान्त्रिक आचरणमा प्रतिबद्ध नहुँदासम्म सुशासनको प्रत्याभूति दिन चुक्ने वातावरण यही स्वतन्त्र व्यवस्थामा मिल्छ भने चुकेपछि कानुनको कठघरामा शक्तिशाली व्यक्ति भए पनि बाँधिनुपर्ने अवस्था गणतन्त्रमा नै सम्भव हुन सक्छ ।
काण्डमा सम्लग्नहरू विभिन्न षड्यन्त्रका माध्यमबाट भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई प्रभावित गर्न प्रयत्न गर्ने नै भए, भ्रष्ट जेल जानै पर्छ भन्ने मानसिकता बोकेकाले पनि बुझेर वा नबुझी विभिन्न विचार प्रस्तुत गर्दा नकारात्मक प्रभाव पर्न जाने खतरा पनि देखिएको छ । त्यसैले सबै संवेदनशील हुनुपर्ने अवस्था अहिलेको हो । अहिलेको अवस्था भनेको भ्रष्टाचारका विरुद्ध कदम चालेका प्रधानमन्त्रीलाई अझ बढी सहयोग गर्नुपर्ने समय हो । कारबाहीको साँचो हातमा बोकेर बसेका गृहमन्त्रीको हौसला बढाउँदै निर्दोष नपरोस् र दोषी नउम्कियोस् भन्ने सुझावका साथ अझ बढी प्रेरित गर्ने समय हो यो । अनुसन्धानमा खटिएका प्रहरीलाई विभिन्न खाले धम्की आउने सम्भावनालाई नकार्न सकिँदैन । ती प्रहरीको पछाडि आमजनता उभिएका छन् भन्ने अनुभूति दिलाउनुपर्ने दायित्व आमनागरिकको हो । मैले समर्थन गरेको पार्टीको नेता मुछिने भयो भनेर गलत कदम समाजका सदस्यले चाले भने आफ्नो खुट्टामा आफैँले बञ्चरो हाने सिवाय केही हुँदैन ।
No comments:
Post a Comment