Wednesday, May 31, 2023

तारकेश्वरमा स्थानीय पाठ्यक्रम लागू

पाठ्यक्रमको विमोचन गर्दै जनप्रतिनिधिहरु ।

दाङसिंग । नुवाकोटको तारकेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम विमोचन गरेको छ । शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रमबिच गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमसँगै नयाँ शैक्षिक सत्रको शैक्षिक क्यालेन्डर विमोचन गरेका हुन् । स्थानीय पाठ्यक्रमसँगै विमोचनपछि आजैदेखि गाउँपालिकाभरिका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ ।
    संघीयता कार्यान्वयनको सातौं वर्षमा गाउँपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम लागू गरेको हो । गाउँपालिकाभरका जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यापकहरूको उपस्थितिमा स्थानीय पाठ्यक्रम विमोचन गरिएको हो । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले समाजको सर्वाङ्गीण विकासको आधार नै शिक्षा भएकाले गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्ने बताए । उनले शिक्षाको गुणस्तर सुधारका लागि आफूले सुरु गरेका कार्यक्रम  प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे ।
    अध्यक्ष अधिकारीले केही विद्यालयमा यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने तयारी रहेको समेत खुलासा गरे । उनले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिँदै पाठ्यक्रमलाई परिष्कृत गर्दै लैजाने उल्लेख गरे ।
    यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अधिकारीले शिक्षकहरूको तलब कुनै हालतमा रोकिन नहुने भन्दै समयमै तलब भुक्तानी गर्न शिक्षा शाखालाई निर्देशन समेत दिएका छन् ।

No comments:

Post a Comment