रसुवा । गोरखा बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पको मंगलबार वैशाख १२ गते आठ वर्ष पूरा भएको छ ।
२०७२ वैशाख १२ गतेका दिन बिहान ११ः५६ मा गएको ७.८ रेक्टर स्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार तीन सय नौजना घाइते भएका थिए । भूकम्पमा परी गोरखामा मात्र ४७१ जनाको निधन भएको थियो ।
भूकम्पका कारण थातथलोमा पहिरो गएपछि विस्थापित भएका रसुवाका १७४ घरपरिवार अझै विस्थापित अवस्थामा रहेका छन् । उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली नदीको किनारामा रहेको टहरोमा भूकम्प गएपछि आठ वर्षदेखि आफ्नो गुजारा चलाइरहेका छन् । विस्थापितमध्येका छेकु लामा भन्छन्, ‘हामी विस्थापितलाई स्थापित गराउन प-यो भनेर आवाज त उठाइरहेका छौँ, आजसम्म सुनुवाइ भएकै छैन ।’ खाल्टेमा नै बस्न थालेका छेकुजस्तै अरू विस्थापित परिवार पनि जस्ताको टहरामा बस्न थालेको आठ वर्ष भयो । उनीलगायत धेरै छन् । थातथलो छोड्नुको पीडा एकातिर छ भने अर्काेतर्फ नदीको बगरको असुरक्षित बसाइ बर्खा लागेपछि रातभरि सुत्नै पाइँदैन, जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ ।
पुस–माघ लागेपछि टहराबाट शीत चुहिने, बिहान उठ्दा ओड्ने भिज्छ । चैत–वैशाखमा आउने हावाहुरीले टहरो उडाउलाजस्तो गर्छ । यसको मारमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिला अपाङ्गता भएका व्यक्ति रहेका छन् । थातथलोमा बस्नै नहुने भएपछि खोलाको बगरमा नै बसोवास गरिरहेको आठ वर्ष भयो । विस्थापित भूकम्पपीडितको समस्या ज्युँका त्युँ रहेको छ । सुरक्षित पुनः स्थापनाको आशा गरेको यहाँका नागरिकले भूकम्पको पीडा भुल्न रातदिन सम्बन्धित निकायमा धाइरहेको त्यहाँको स्थानीय छेकु लामा बताउँछन् ।
No comments:
Post a Comment