Wednesday, May 31, 2023

१८ हजार गाई गोरुमा लम्पी स्किन रोग

विदुर । देशभर ३५ भन्दा धेरै जिल्लामा फैलिएको लम्पी स्किन रोगबाट नुवाकोटमा ३ सयभन्दा बढि गाइ सङ्क्रमित भएका छन् । पहिलो चरणको तथ्याङ्क अनुसार नुवाकोट सहित बागमती प्रदेशभित्रका १३ वटा जिल्लामा लम्पी स्किन रोगबाट १८ हजार ३२४ गाई सङ्क्रमित भएका छन् ।
    लम्पी स्किन रोगबाट सङ्क्रमित केही गाईगोरु मरेका छन् । बाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार मकवानपुरमा यो रोग ४ हजार ८३५ वटा गाईमा देखिएको छ र भने १९७ गाई मरेका छन् । त्यस्तै, सिन्धुलीमा ९ हजार ६३४ गाईगोरुमा सङ्क्रमण भएको छ भने र ४७ वटा मरेका छन् । रामेछापमा १ हजार ९६५, चितवनमा १ हजार ६० वटा गाईमा रोगको सङ्क्रमण देखिएको छ । अहिलेसम्म गाईगोरुमा मात्र सङ्क्रमण भएको र भैँसीमा सङ्क्रमण नदेखिएको सचिव पाण्डेले बताएका छन् ।
    काठमाडौंमा ८३, ललितपुरमा ४०, काभ्रेमा ४ सय, नुवाकोटमा ३ सय, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखापरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो रोगबाट पशुमा हुने मृत्युदर कम भएपनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने हुँदा किसानलाई नोक्सानी हुने गरेको छ । रोगग्रस्त क्षेत्रमा निःसङ्क्रमण, उपचारलगायतका कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ । यसवर्ष गएको पुसदेखि नै पशुचौपायामा फाट्टफुट्ट रोगको सङ्क्रमण देखिन थालेको थियो । त्यसबेला मकवानपुर, चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा देखिएको लम्पी स्किन रोग अहिले देशभर फैलिएको छ ।
    नेपाल कृषि अनुसन्धान परिषद नार्कको पशु तथा मत्स्य अनुसन्धानका अनुसार लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखिने गर्छ । रोग लागेका पशुचौपायालाई चरनमा नलैजान तथा क्वारेन्टिनमा राखेर उपचार गर्न पशु सेवा विभागले कृषकहरूलाई सुझाव दिएको छ ।
    भारत तथा चीनमा सन् २०१९ मा देखिएको यो रोग नेपालमा मोरङ हुँदै भित्रिएको थियो । २०७७ साल असारमा नेपालमा लम्पी स्किन रोग भित्रिएको थियो । यो रोग बागमतीसहित ७ वटै प्रदेशका ३५ भन्दा धेरै जिल्लामा फैलिएको छ ।

No comments:

Post a Comment