Monday, May 15, 2023

सुभद्रा नेपाल अर्थात् ‘नाफाको जिन्दगी’


ध्रुबकुमार रावल र भोलाराज पौडेल 
(यो समय डटकम)

म जन्मिएको ठाउँ अहिलेको विदुर नगरपालिका वडा नम्वर ७ (त्यतिबेलाको तुप्चे गाविस) राजनीतिक चेतनाको हिसावले राम्रो ठाउँ थियो । म सानैदेखि विद्यार्थी संगठनमा आवद्ध भएको थिएँ, त्यतिबेला विद्यार्थी संगठन पाँचौ छैठौँ दशौं भन्ने चलन थियो । २०४७/४८ सालतिर म म १०, ११ वर्षको मात्रै थिएँ । त्यतिबेला नै म भित्र थोरै थोरै राजनीतिक चेतना विकास भएको थियो । २०५१ सालमा नेकपा माओवादी पार्टीले विभिन्न अभियान सञ्चालन गरेको थियो । त्यो अभियान सञ्चालन गर्दा हामी अप्रत्यक्ष रुपमा यो अभियानमा जोडिन पुग्यौँ । हाम्रो गाविसमा २०४९ सालमा पनि जनमोर्चाले चुनाव जितेको थियो । कम्युनिष्ट ‘व्याकराउण्ड’ भएको ठाउँमा जन्मिएपछि मलाई पनि यसको छाप प-यो । २०५२ साल मंसिरतिर जस्तो लाग्छ, त्यहाँ एउटा कार्यक्रम भएको थियो । त्यो कार्यक्रममा स्व. पोष्टबहादुर बोगटी (दिवाकर) आफैं आउनु भएको थियो । त्यो कार्यक्रममा उहाँले गुरिल्लाको कुरा गर्न‘भयो, मलाई गुरिल्ला कस्तो हुन्छ भनेर अचम्म लाग्यो । उहाँले बोल्दै जाँदा गाउँर्कै दुई चार जना बूढापाकाहरूलाई देखाएर ‘गुरिल्ला’ भनेपछि गुरिल्ला भनेको एउटा विद्रोह गर्न सक्ने, विद्रोही मान्छे, समाजको विकृति विरुद्ध बोल्न सक्ने मान्छेलाई गुरिल्ला भन्दो रहेछ भन्ने बुझेँ । मैले २०५४ सालमा एसएलसी दिएँ, त्यसपछि महिला संगठन, वाइसिएलमा संगठित भएँ । स्व. रवि बोगटी (पोष्टबहादुर बोगटीको छोरा) र म सँगै पढेका थियाँै । रवि २०५६ सालमा बट्टार क्याम्पसबाट गिरफ्तार परे । त्यसपछि खास पढ्ने वातावरण भएन । अनि म माओवादीको पूर्णकालीन कार्यकर्ता बने । पहिले विद्यार्थी संगठनमै काम गर्न थालेँ । त्यतिबेला जनताको घरमा जनतालाई सम्झाएर मागेर खानुपर्ने अवस्था थियो । म त्यतिबेला धादिङको सेमजोङ र मार्पाक भन्ने स्थानमा खटिएको थिएँ । धादिङ जिल्लाको विद्यार्थी सम्मेलनको तयारी हुँदै रहेछ । संगठन निर्माणको लागि हामी विद्यालयहरूमा पुग्थ्यौँ । विहान खान खाने बेलामा हामी मागेर खान सक्दैनथ्यौँ । हामी तीन जना साथी थियौँ । हामीले करिव एक महिना जति विहानको खाना खाएनौँ । विहान दालमोठ चिउराको भरमा हामी संगठन निर्माणमा जुट्यौँ । बेलुकी चाँहि आफूभन्दा सिनियर नेताहरूसँग भेट हुन्थ्यो, उहाँहरूले खाना मागेर हामीलाई खुवाउनुहुन्थ्यो ।

सुरुका वर्षहरूमा म अधिकांश समय धादिङ संगठन निर्माणको काममा जुटेँ । २०५८ सालमा पार्टीले २÷३ वटा ठूला ठूला आक्रमण ग-यो, स्याङ्जा, दाङलगायतका ठाउँमा आक्रमण गरेपछि सरकारले सेना परिचालन ग¥यो । देशमा संकटकाल लाग्यो । म धादिङमै थिएँ । मेरो हात भाँचिएको थियो । जिल्ला अस्पतालहरूमा उपचार गर्न सम्भव भएन । म उपचारको लागि काठमाडौं जानुपर्ने भयो । वीर अस्पतालमा चिनिएका मान्छेहरू भेटिने भएपछि म एउटा क्लिनिकमा उपचार गराउँदै थिएँ । हात फ्याक्चर भएको लामो समय भइसकेकोले प्लाष्टर गर्न नमिल्ने भएपछि ‘एक्सरसाइज’ गर्न‘पर्ने डाक्टरको सुझाव थियो । क्लिनिकमा उपचार गराउने क्रममा पुस २१ गते राति म गिरफ्तारीमा परेँ । नेपाली सेनाले गिरफ्तार गरेर मलाई छाउनी व्यारेकमा राख्यो । यो कुरा मैले पछि थाहा पाएँ । झण्डै दुई महिना हनुमान ढोका र छाउनी व्यारेकमा राख्यो । त्यसपछि मलाई केन्द्रीय कारागारमा राखियो । तीन महिनाको पुर्जी दिइन्थ्यो । तीन महिना पूरा भएपछि फेरी हनुमान ढोका लेराउने गरिन्थ्यो । यो क्रम चलिरहेको थियो । जेल परेको १५ महिना जति भएको थियो, जस्तो लाग्छ, मेरो माइली दिदीले सर्वोच्चमा रिट हाल्नु भएको रहेछ । त्यो सुनुवाई चाँहि २०६० माघको १२ गते हुँदै थियो । त्यही दिन विहान एउटा घटना घट्यो । सशस्त्र प्रहरीको कृष्णमोहन श्रेष्ठको हत्या भयो । त्यसले गर्दा मेरो रिहाइमा विलम्व भयो । त्यसले तरंग पैदा ग¥यो । त्यसको पर्सिपल्ट सर्वोच्चले रिहाइ ग¥यो । २०६० फागुन १ गते छुट्ने भएँ । राजनीतिक व्यक्तिलाई सर्वोच्चले छाडेपनि प्रहरीले फेरी समाउने गर्दथ्यो । त्यतिबेलाका वार्ताकार नै मलाई लिन आउनुभयो । उहाँहरूकै गाडीमा राखेर म जेलबाट छुटेँ । मलाई फेरी हनुमान ढोकामा लैजानको लागि प्रहरीहरू परिचालन भएको थियो । प्रहरीहरूबाट नै मैले आफू फेरी गिरफ्तारीमा पर्न लागेको सुचना पाएर नै वार्ता टोलीलाई नै लिन बोलाएको थिएँ । मेरो भिनाजु नवराज अधिकारी पत्रकार हुनुहुन्थ्योँ, उहाँमार्फत नै वार्ता टोलीलाई सम्पर्क गरेर वार्ताकार वीरेन्द्र झापाली र डिआर लामिछाने नै आएर मलाई छुटाउनुभयो । जेलभित्रका यातना, कष्ट र भोग्नुपरेको पीडाको बारेमा म अहिले बोल्दिन, किनभने देशले उपलब्धी हाँसिल गरेर पनि यतिका परिवर्तन भइसकेका छन् । पूराना विषयहरू खोतलेर यस्तो उस्तो भन्नुमा अहिले सान्र्दभिक हुँदैन पनि । कतिपय साथीहरूले पूराना कुराहरू खोतल्नु पनि हुन्छ । मेरा हात गोडा सहज अवस्थाका छैनन् मेरो तर, पनि म यो विषयमा धेरै बोल्दिन ।

जेलबाट छुटेर म नुवाकोट घर आएँ । चौघडाको एउटा कार्यक्रम थियो । आमाले एक्लै पठाउन मान्नु भएन । मैले बहिनीलाई साथी लिएर गंगटेतर्फ जाँदै थिएँ । त्यहाँ गाडी कुरेर बसिरहेको बेलामा नुवाकोटको प्रहरी टोलीले मलाई गिरफ्तार गर्न खोजेँ । त्यतबेला युद्ध विरामको बेला थियो । जेल जीवनबाट मैले प्रहरी, आर्मीसँग कसरी कुरा गर्न‘पर्छ भन्ने कुरा सिकेको थिए । उनीहरूलाई मैले ठीक छ, तिमीहरूले मलाई गिरफ्तार गर्न त सक्छौँ, तर, अहिले भइरहेको वार्ता प्रक्रिया सबै रोकिन्छ भनेपछि उनीहरू पछि हटे । त्यसपछि म चौघडाको कार्यक्रममा गएको थिएँ । त्यसपछि मलाई नुवाकोटमा बस्न असहज भयो भनेर पार्टीले फेरी धादिङ पठायो । धादिङको भूगोलमा म लामो समयसम्म काम गरेँ । त्यहाँको दुःख, कष्ट, पीडा त्यहाँका युद्धका अनुभवहरू त्यहाँका जनतालाई चिन्ने अवसर पनि दिलायो । त्यहाँको समस्यालाई बुझ्ने अवसर मैले प्राप्त गरेँ । त्यहाँ कार्यरत रहँदा प्रहरीको घेरावन्दीमा पर्ने भाग्नुपर्ने अवस्था धेरै पटक आयो । गिरफ्तारीमा भने परिन । २, ४ वटा जटिल खालको घेरावन्दी तोडेर भाग्न पनि सफल भएको छु । एक पटक मेरो हातको छाला नै लछार्ने गरी गोली लाग्यो । तातो गोलीले डाम मात्रै बस्यो । गोली लागेर घाइतेसमेत पनि भइँन । शान्ति प्रक्रिया सुरु भएपछि ०६३ को मंसिर तिर मलाई पार्टीले आफ्नै जिल्ला जाँदा राम्रो हुन्छ भनेर पठायो । त्यसपछि निरन्तर म नुवाकोटकै पार्टी संगठनमा आवद्ध भएर काम गरिरहेको छु ।

जीवनमा धेरै अविस्मरणीय क्षणहरू मसँग छ । नेपाली सेनाको घेरावन्दीमा पनि मलाई छाडेको घटना जीवनकै महत्वपूर्ण घटना ठान्दछु । गोरखामा एउटा अभियानको क्रममा एउटा हेल्थपोष्टमा औषधि लिनको लागि हामी गएका थियौँ । हेल्थपोष्टमा तल र माथि दुवै तर्फ सशस्त्रसहितको सेनाको टोली रहेछन् । शान्ति नाम गरेको साथी र म दुई जना मात्रै थियौँ । म शौचालय जान खोजेको थिएँ, शौचालय खोज्ने क्रममा तल माथि नै सेना देखेँ । मैले शान्ति दिदी भनेर बोलाएँ । सबैतिर सेना छ भनेर जानकारी गराएँ । उहाँले त्यसो भए यो गल्लीबाट जाऔं भन्नुभयो । गल्लीबाट हामी हिँड्दै थियौँ । सादा पोसाकका तीन जना सैनिकहरू हिँडिरहेका रहेछन् । हामी के गर्ने के गर्ने भयौँ, अगाडी पनि सेना पछाडि पनि सेना । 

हामीलाई हामीहरू हिँडिरहन पर्छ जस्तो लाग्यो । गोली नहान्दासम्म केही गर्न सक्ने अवस्था थिएन । उनीहरू भन्दा अगाडी कसरी जाने भन्ने सोच आयो । सेनासँग बारीको छेउमा भेट भयो । ४ मिटर पर गएपछि हामीले फर्किएर हे¥यौँ । उनीहरू हाँसे । हाँस्ने मान्छेले मार्दैन जस्तो मलाई लाग्यो । हामी दौडिएर जंगलभित्र गयौँ । हामीले पार्टीभित्र पटक पटक सेटमा कुरा गर्न खोज्यौँ तर, हामी गिरफ्तार भएको सुचना पुगेको रहेछ । हामीसँग पार्टीले कुरा गर्न मानेन । पार्टीसँगको हाम्रो सम्पर्क टुट्यो । कारण हामी सेनाको नियन्त्रणमा छाँै भन्ने पार्टीमा हल्ला चलेको रहेछ । हामी दिनभरी जस्तो जंगलमै बस्यौँ । सेनाले किन यस्तो ग-यो भन्ने जिज्ञासा आयो, साँझ परेपछि हामी गाउँ आयौँ । एउटा सहिद परिवार¥ाई सेनाले एक जना शान्ति नाम गरेका र अर्को एक जना माओवादीलाई दुव्लो भएका कारणले गोली हान्न सकेनाँै, तिनीहरू दुई जना बाँचेका छन् भनेर गएको रहेछ । त्यसको भोलीपल्ट मात्रै हामीले यो कुरा थाह पायौँ । द्वन्द्वको चरम उत्कर्षको बेला पनि सेनाभित्र यस्ता दयालु मान्छे हुँदा रहेछन् भनेर मलाई अहिले पनि लागिरहन्छ ।

जनयुद्ध सुरु गर्दा, जनयुद्धताका र अहिलेको माओवादीमा खासै धेरै फरक त छैन । त्यतिबेला जुन अपेक्षा गरिएको थियो, जुन खालको भविष्य देखेका थियौँ, अहिले केही परिमार्जन भएका छन् । कतिपय अपेक्षाहरू पूरा भएका छन्, कतिपय भएका छैनन् । दुई सय वर्षको पूरानो एउटा युगको अन्त भएको छ । हामीले यो भन्दा धेरै सपना देखेका थियौँ । तर, नेपालको संरचना, भूगोल र परिस्थितिले सबै पूरा हुन सकेन भन्ने मलाई लाग्छ । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र माओवादीका एजेण्डा हुन् । संविधानसभाबाट संविधान निर्माणको कुरा माओवादी कै एजेण्डा हुन् । जनताले जति अपेक्षा गरेका थिए, त्यो सबै चाँहि पूरा हुन सकेन । आमूल परिवर्तनको कुरा हामीले गरेका थियौँ । राजनीतिक हिसावले, आर्थिक हिसावले सामाजिक हिसावले परिवर्तनको कुरा अझै पूरा भएको छैन । देशलाई समृद्ध बनाउने चरणमा अव सबै मिलेर अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

संघीयता भर्खरै स्थापित भएको विषय हो । कार्यान्वयन गर्ने पक्षबाट केही कमजोरी भएका कारण केही समस्याहरू उत्पन्न भएका छन् । जनताले जसलाई निर्वाचित गराएर पठाउनु भएको छ । कार्यान्वयन गर्ने पक्षले नै संघीयताको विषयमा नबुझेको हो कि भन्ने मलाई लाग्छ । जनताको अधिकार जनताको घरआँगनमा दिने कुरामा आफू शासकको रुपमा स्थापित भइरहने, जनतालाई शासन व्यवस्था कस्तो दिने भन्दा पनि आफूले शासन गर्नेमा केन्द्रीत हुँदा संघीयता धेरै साना राजाहरू जन्माउने व्यवस्था पो रहेछ भन्ने कुरा परेको छ । संघीयता मुलुकमा स्थापित भइसकेपछि हरेक पालिका, समाज, वस्तीमा हेर्ने हो भने यसले सकारात्मक उर्जा दिएको छ । यसलाई व्यवस्थित र स्थापित गर्न नसक्नु यसका मूल्य मान्यतालाई सहीरुपमा परिचालन गर्न नसक्नु राजनीतिक दलहरूको कमजोरी हो । 

राजनीतिक दलले राजनीति बुझेका, संघीयता बुझेका व्यक्तिलाई स्थापित गराउनुपर्नेमा पैसाको आडमा दलहरूले टिकट दिने र त्यस्तै व्यक्ति निर्वाचित हुँदा संघीयता कार्यान्वयनमा समस्या भएको हो । जनताको अधिकार स्थापित गर्ने सवाल भन्दा आफूले कसरी शासन गर्ने भन्नेमा केन्द्रीत हुनेहरूको जमात बढ्दै जाँदा संघीयता नै बदनाम हुने डर उत्पन्न भएको छ ।

राजनीतिमा लागेर मैले धेरै पाएको छु । राजनीतिमा नलागेको भए तपाईले मलाई चिन्नु हुँदैनथ्यो । आम नागरिकहरूले मलाई चिन्ने अवसर पाउनुहुन्थेन । जनताको घरआँगनमा पुगेर आफूले जानेको कुरा सिकाएँ । अहिलेसम्म पनि जनताको कामको लागि दौडिरहेको छु । व्यक्तिगत रुपमा मैले ठूलो लाभ लिएको छैन । लाभ लिनको लागि म लागेको पनि होइन । व्यक्तिगत रुपमा त म सन्तुष्ट नै छु । व्यक्तिगत रुपमा मैले केही गुमाएको पनि छैन । 

आन्दोलनका क्रममा थुप्रै होनाहार साथीहरू गुमाएको छु । त्यो पीडा मसँग छ । म राजनीतिमा निरन्तर छु । लाभको पदमा जाने लोभ छैन । जनताको सेवामा निरन्तर लागिरहन पाउँ भन्ने मेरो चाहना हो । फलानो मान्छे गलत हो भन्ने कुरा स्थापित भएन भने म यसमै सन्तुष्ट छु ।

माओवादी आन्दोलनकै कुरा गर्ने हो भने युवाहरूको बलमा भएको आन्दोलन हो । म आफैं पनि १७, १८ वर्षको उमेरमा बन्दुक बोक्न तयार भएको मान्छे हुँ । म भन्दा पछाडि को छ माओवादी आन्दोलनमा भनेर भनेर मैले पनि खोजिरहेको छु । राजनीतिक दलहरूले युवाहरूलाई राजनीतिक बैचारिकरुपमा प्रशिक्षित गराउन सकेका छैनन् । के सही हो, के गलत हो भन्ने कुरा युवामाझ पु-याउनै सकिएको छैन । पुँजीवादले यस्तो बनाइदिएको छ, सबै कुरा पैसा मात्रै हो भन्ने कुरा स्थापित भइरहेको छ । विचार के हो ? राजनीति के हो ? भन्ने कुरालाई स्थापित गर्न हामीले सकेनौँ । अहिले केही वैकल्पिक पार्टीहरू आइरहेका छन् यो क्षणिक हो भन्ने मलाई लाग्छ । विचारबाट आएका, ठूला आन्दोलनबाट आएका पार्टीलाई त नेपालको राजनीतिमा टिक्न गाह्रो परिरहेको सन्दर्भमा वैकल्पिकरुपमा उदाएका पार्टी केही समय रहेपनि विस्तारै सेलाउँछन् भन्ने मेरो बुझाई हो । पूराना राजनीतिक दलहरूले नयाँ पुस्तालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने मलाई लाग्छ । (राष्ट्रिय भूमि आयोग, नुवाकोटकी सदस्यसमेत रहेकी नेपालसँग कुराकानीमा आधारित)

No comments:

Post a Comment