Monday, May 08, 2023

माग सम्बोधन नभए प्रतिकार हुने

बञ्चरेडाँडामा थुप्रिएको काठमाडौंको फोहोर

बञ्चरेडाँडा । नुवाकोटका ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका र धादिङको धुनीबेंशी नगरपालिकाले आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । 

प्रभावित क्षेत्रमा संयुक्त पत्रकार सम्मेलन गरी शनिबार बेलुका तीन बुँदे मागसहित तीनै पालिकाले फोहोर व्यवस्थापन नभए कडा कदम चाल्ने चेतावनी दिएका हुन् । वैज्ञानिक ढंगबाट फोहोरमैलाको व्यवस्थापन, प्रभावित स्थानीयहरूको उचित व्यवस्थापन, आवश्यकताको आधारमा मानव बस्तीको समेत व्यवस्थापन र यसअघिका सम्झौताहरूको पूर्णरुपमा कार्यान्वयन गर्न तीनै स्थानीय तहका अध्यक्ष तथा प्रमुखहरूले माग गरेका छन् । 

यसअघि १५ दिने अल्टिमेटम सकिएलगत्तै उनीहरूले उक्त माग सार्वजनिक गरेका हुन् । उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फोहोर व्यवस्थापनका लागि फोहोर संकलन, प्रशोधन र व्यवस्थित रुपमा विसर्जन गरिनुपर्नेमा फोहोरको लिच्चड अव्यवस्थित रुपमा खोलामा मिसाउनाले यस वरिपरिको क्षेत्र दुर्गन्धित हुनुका साथै स्थानीय बसोबास गर्न समेत अयोग्य बनेको छ ।’ 

प्रभावित क्षेत्रमा वातावरण दूषित हुनुका साथै कृषियोग्य जमिनमा समेत खेती हुन छाडेको, चिल र गिद्धले फोहोर एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा प्रभावित क्षेत्रका स्थानीयलाई विभिन्न रोगको सिकार बनाएको बताएका छन् । प्रभावित क्षेत्रका बसिन्दामाथि खेलबाड भइरहेकाले जनप्रतिनिधिहरू टुलुटुलु हेरेर बस्ने अवस्था नरहेको तीनै पालिकाका प्रमुखहरूले बताए । 

सहरी विकास मन्त्रालयका साथै काठमाडौं महानगरपालिकासँगको सहमतिमा धादिङ र नुवाकोटको सीमामा पर्ने सिसडोल हुँदै बन्चेरेडाँडा कुडुलेमा विगत १८ वर्षदेखि काठमाडौं महानगरपालिकासहित १८ वटा पालिकाको फोहोर विर्सजन गरिँदै आएको छ ।

No comments:

Post a Comment