Wednesday, May 31, 2023

रानीपौवा सडक जेठभित्रै टेन्डर गर्न माग

हितबहादुर तामाङ

काठमाडौं । काठमाडौंदेखि नुवाकोट–रसुवा जोड्ने सबैभन्दा पुरानो सडक पासाङल्हामुको तीनपिप्ले–रानीपौवा खण्ड निर्माणका लागि जेठभित्रै टेन्डर आह्वान गर्न माग गरिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अस्तव्यस्त रहेको तीनपिप्ले–रानीपौवा सडक छिटो निर्माणका लागि कुनै पनि हालतमा जेठभित्रै टेन्डर आह्वान गर्न माग गरेका हुन् ।
    ‘बालाजु–रानीपौवा–पिपलटार–त्रिशूली सडक नुवाकोट रसुवाको सबैभन्दा पुरानो हो । त्यो सडक वर्षौंदेखि अवरुद्ध छ । त्यहाँका मान्छेहरुले यातायातका साधन गुडाउन पाएका छैनन् । ज्यादै कष्टकर जीवन बिताइरहेका छन् । त्यो सडक निर्माणको निम्ति हामी जिल्लाका जनप्रतिनिधिहरुले सम्बन्धित मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग कुराकानी गर्दै आएका छौं,’ सांसद तामाङले भने, ‘हालसालै भौतिक पूर्वाधार, यातायात मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग म र ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङबीच भेट हुँदा जेठ महिनाभित्र तीनपिप्लेदेखि रानीपौवा खण्ड टेण्डर आह्वानको जानकारी पाएका छौं । त्यो तोकिएको समयभित्र कुनै पनि हिसाबले टेण्डर आह्वानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’
    मन्त्रालय प्राविधिकका अनुसार उक्त खण्डको लागि ८४ करोड बजेट आवश्यक रहेको डीपीआर तयार भएको छ । यो सडक अब आन्तरिक स्रोतबाट निर्माण हुने छ ।  सांसद तामाङले रानीपौवा–पिपलटार खण्डको स्तरोन्नतिको लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
    पूर्वमन्त्रीसमेत रहनुभएका तामाङले रानीपौवा–पिपलटार खण्डको बाँकी सडक पनि सकभर यही महिनाभित्रै टेण्डर आह्वान गर्न‘पर्ने र यदि आउने आर्थिक वर्षमा मात्रै हुने हो भने आन्तरिक स्रोतबाट निर्माण गर्न‘पर्नेमा जोड दिएका छन् । उनले भारतीय एक्झिम बैंकको रकमबाट यसअघि पनि निर्माण गर्दा ती कम्पनीको अनावश्यक सर्तका कारण वर्षौंदेखि सडक अलपत्र रहेको उल्लेख गर्न‘हुँदै नेपालकै आन्तरिक स्रोतबाट काम गर्ने गरी बजेटको व्यवस्था गर्न उनले माग गरेका छन् ।
    यदि उक्त सडकमा अब पनि भारतीय एक्झिम बैंककै रकम विनियोजन हुने हो भने नुवाकोटका जनताको लागि दुर्भाग्य हुनेछ । त्यसो नगर्न सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु,’ सांसद तामाङको भनाइ थियो । यसअघि उक्त सडकमा भारतीय एक्झिम बैंकको रकम परेको थियो । उक्त बैंकको सर्तअनुसार ५५ प्रतिशत निर्माण सामग्री भारतबाटै आयत गर्न‘पर्ने, निर्माण कम्पनी सकभर भारतीय नै हुनुपर्ने भारतीय नभए नेपाली निर्माण कम्पनीले भारतीय निर्माण कम्पनीलाई ज्वाइन्ट भेञ्चरमा टेण्डर गर्न‘पर्ने र बिल भुक्तानी लिन पनि भारत नै जानुपर्ने झन्झटिलो सर्तहरु थिए । त्यसबाहेक निर्माण कम्पनीको गैरजिम्मेवारपन, समस्या र नियमन निकायहरुको लापरबाहीपूर्ण कारणले पनि उक्त सडक नबनेपछि स्थानीयहरुको चर्को दबाबले पुरानो टेन्डर रद्द गर्न‘परेको थियो ।
    नुवाकोट प्रवेशको टोखा–गुर्जे–छहरे सडक खण्डको स्तरोन्नति सन्तोषजनक तरिकाले अघि बढेपछि सांसद तामाङलगायत जनप्रतिनिधि बालाजु–ककनी–त्रिशूली सडक निर्माणको पहलमा जुटेका छन् । उनकै पहलमा टोखा–छहरे सडकमा अहिले १० करोडभन्दा बढी बजेटबाट काम भइरहेको छ । चालु आर्थिक वर्ष २०७९÷८० को ४ करोड र भौतिक पूर्वाधार मन्त्रालयबाट निकासा हुने विशेष बजेट ६ करोडभन्दा बढी रुपैयाँको टेण्डर आह्वानपश्चात् काम भइरहेको छ ।

No comments:

Post a Comment