Monday, May 08, 2023

रुबीभ्यालीको सेर्तुङमा हेलिप्याड

 

नवनिर्मित हेलिप्याड

धादिङ । नेपाली सेनाले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ३ सेर्त‘ङमा हेलिप्याड निर्माण गरेको छ ।

विपतमा परेका, जटिल अवस्थाका गर्भवती र सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको नेपाली सेनाको शिवदल गण गजुरीका गणपति प्रमुख सेनानी अशोकराज बरालले बताए । धादिङको उत्तरी क्षेत्र रुबीभ्याली र गंगाजमुना गाउँपालिकामा सहज सडक सञ्जालको पहुँच नहुँदा स्थानीयहरू कष्टकर दैनिकी गुजारा चलाइरहेका छन् ।

उनले भने, ‘उत्तरी धादिङमा आपतकालीन अवस्था र जटिल खालका बिरामीको उपचार गर्न हेलिकोप्टर नै राम्रो विकल्प हो । सेर्तुङवासीको आवश्यकता मध्यनजर गरेर हेलिप्याड निर्माण गरेको हो,’ उनले भने । जनहित कार्यक्रम अन्तर्गत हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको उनले बताएका छन् । उक्त कार्यका लागि गाउन्पालिकाको पनि उस्तै सहयोग रहेको उनले बताए । 

उनले भने, ‘१० लाखमा बन्न त सम्भव थिएन । तर, अन्य सहयोग र श्रमदानबाट निर्माण गर्न सफल भयौँ । त्यसका लागि सबैलाई धन्यवाद दिँदै अब लाभग्राहीले सक्दो लाभ र उपयोग गर्न सके हाम्रा लागि त्यो नै सबै भन्दा ठूलो उपलब्धि हो,’ उनले भने ।

गाउँपालिकाको समन्वयमा सेनाले दश लाखको लगानीमा हेलिप्याड निर्माण गरेको हो। हेलिप्याड निर्माण भएपछि स्थानीय खुसी भएका छन् । अब अकालमै ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने उनीहरूको विश्वास छ । 

No comments:

Post a Comment