Monday, May 08, 2023

माथिल्लो मैलुङ–बि निर्माण हुँदै

बेत्राबती । रसुवाको मैलुङ खोलामा सम्भाव्यता अध्ययन भएको १७ मेगावाटको माथिल्लो मैलुङ ‘बी’ जलविद्युत आयोजना निर्माणको तयारी अघि बढेको छ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना अघि बढाएको हो । प्रस्तावित आयोजना रसुवाको उत्तरगया गाउँपालिका हुँदै बग्ने मैलुङ खोलामा निर्माण हुनेछ । 

विद्युत विकास विभागले सूचना निकालेर यो आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवाला निकायहरूलाइ आग्रह गरेको छ । यो आयोजनाको सम्भाव्यता अध्ययन २०२१ मा नै भएको हो । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत तयार भइसकेको छ । यो नदी बहावमा आधारित आयोजना हो। जसबाट वार्षिक १०१.२ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । आयोजनाका मुख्य भौतिक संरचनाहरू मैलुङ खोलाको दायाँ किनारमा हुनेछन् । हेडरेस सुरुङ करिब ३४६२.५० मिटरको हुनेछ ।  २२४ मिटर ठाडो र ५१ मिटर तेर्सो पेनस्टक पाइप राखिनेछ। भूमिगत विद्युतगृह निर्माण प्रस्ताव गरिएको छ । उत्पादित विद्युतलाई ११ किमि १३२ केभीए सिंगल सर्किट प्रसारणलाइनमार्फत त्रिशूली थ्री–बी हब सबस्टेसनमार्फत समाहित गरिनेछ । २०८३ चैतसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

No comments:

Post a Comment