Wednesday, May 31, 2023

‘जनयुद्ध शब्द सुन्नै नचाहनु संकीर्णता’

सांसद विमला सुवेदी

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले जनयुद्धको जगमा प्राप्त गणतन्त्रको फल सबैलाई मीठो तर जनयुद्ध शब्द सुन्नै नचाहनु संकीर्णता भएको टिप्पणी गरेका छन् ।
    प्रतिनिधिसभामा मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै सांसद सुवेदीले अरुलाई हेप्ने प्रवृत्ति देखाएर प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आफ्नै कद र मर्यादा घटाइरहेको बताए । ‘जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायतका देशका परिवर्तनकारी आन्दोलनहरुले संघीय लोकतान्त्रित्रक गणतन्त्र नेपालमा प्राप्त भयो । जनयुद्धले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको फल हामी सबैलाई मीठो हुने तर जनयुद्ध शब्द सुन्नै नहुने संकीर्णता हामीले देखिरहेका छौं । अरुलाई होच्याउने र हेप्ने प्रवृत्ति देखाइरहनुभएको छ । उहाँहरुले आफ्नै कद र मर्यादालाई घटाइरहनुभएको छ,’ उनको भनाइ थियो । गणतन्त्रको उपलब्धि पछि नै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अवसर पाएको उल्लेख गर्दै उनले खोलो तर्ने लौरो बिर्सिने प्रवृत्ति नदेखाउन चेतावनी दिए । अरुलाई होच्याउने प्रवृत्तिको अन्त्य भए देशविकास हुने भनाइ छ । ‘अरुलाई होच्याएर आफू ठूलो हुने प्रवृत्ति देखिरहेको छु । यसको अन्त्य हुनु जरुरी छ । त्यसले मात्रै देश विकास हुन्छ,’ उनको भनाइ थियो ।
    सरकारले ल्याएको नीति तथा कार्यक्रममा सकारात्मकै सकारात्मक पक्षहरु रहेको भन्नुहुँदै आफ्नो पूरा समर्थन रहेको उनले बताएका छन् ।

No comments:

Post a Comment