विदुर । मानव बेचविखनमा सम्लग्न भएको आरोपमा पक्राउ परेकी नुवाकोट शिवपुरी गाउँपालिका–१ तलाखुकी सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई जिल्ला अदालतले थुनामा पठाएको छ ।
जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीले डोल्मालाई विहीबार पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएपछि डोल्मालाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारत पु-याएकी महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा घटना भएको ६ वर्षपछि सोनामलाई प्रहरीले गिरफ्तार गरेको हो । शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया सोनामलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा गत चैत २५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
काभ्रे धुलिखेलकी २६ वर्षीया महिलाले २०७३ वैशाख ३ गते ललाई फकाई भारतमा पु-याउने सिन्धुपाल्चोक राम्चेका ३४ कुमार तामाङसँग भारु. पाँच लाखमा आफूलाई खरीद गरी भारतको मुनिरकास्थित जिवि रोडमा कोठी सञ्चालन गर्ने आरोपित डोल्माले चार महिना यौन व्यवसायमा जबर्जस्ती लगाएकी थिइन् ।
य सअघि नुवाकोट शिवपुरीकी २९ वर्षीया महिलाको उजुरीमा पनि डोल्मा प्रतिवादी रहेको र सोही घटनामा संलग्न कुमार तामाङको फैसलामा डोल्मालाई भेटिएको वखत मुद्धा चलाउने गरी फैसला भएकोले पुरक जाहेरी दर्ता गरि अनुषन्धान अघि बढाउन सहज भएको जिल्ला न्यायाधीवक्ता टेकराज भुसालले बताए । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार पीडितले दिएको उजुरीमा हदैसम्म (सर्वस्वसहित)को कारबाहीको माग गरिएको छ । प्रहरीका अनुसार दलालले विवाह गर्नेदेखि रोजगारमा लगाइदिने भनेर झुटो आश्वासन दिई भारतको कोठीमा पुगेका पीडित दुई महिलाले दिएको उजुरीका आधारमा कोठी सञ्चालन गर्दै आएकी सोनामलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छिन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको देखिएको छ । नुवाकोट र काभ्रेका एक–एक महिलालाई उनले जनही पाँच लाख भारतीय रुपैयाँमा खरिद गरेर त्यहाँ यौन व्यवसायमा लगाएको पीडितले दिएको जाहेरी र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती पीडित महिलालाई सिन्धुपाल्चोक जिल्लाको साविक राम्चे गाविस–१ का कुमारले बिक्री गर्न भारत पु-याएका थिए ।
काभ्रेका किशोरीलाई विसंं २०७३ वैशाखमा भारतमा फेसन डिजाइनरमा रोजगार लगाइने भनेर लगिएको थियो भने नुवाकोटकी महिलालाई भारतमा गएर बिहे गर्ने र उता आफैँले होटल सञ्चालन गर्ने भनेर लगिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । फरक–फरक समयमा भारतको कोठीमा पुगेका ती दुई महिला विसं २०७३ कात्तिक २५ गते भागेर नेपाल आएर न्यायका लागि लडेका थिए । कोठी सञ्चालक सोनामलाई यसअघि कुमारसँगको मुद्दामा पूरक अभियोग बनाइएको थियो भने अहिले पीडितले उनलाई नै मुख्य प्रतिवादी बनाएर जाहेरी दिएका छन् ।
बेचविखनमा सम्लग्न कुमार तामाङलाई भने नुवाकोट जिल्ला अदालतले ०७५ कात्तिक १४ गते २० वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । हाल तामाङ कैद भुक्तान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Wednesday, May 31, 2023
कोठी सञ्चालक डोल्मा कारागार चलान
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment