![]() |
भवन उद्घाटन गर्दै मन्त्री मोदी । |
समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको प्रशासनीक भवन निर्माण सम्पन्न भएर शुक्रवार उद्घाटन भएको छ ।
झण्डै चार वर्षदेखि निर्माण भइरहेको भवनको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलेले उद्घाटन गरेका हुन् । दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारमा बनेको प्रशासकीय भवनमा १८ कोठे छन् । उक्त भवन २ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण भएको पालिकाले जनाएको छ ।
नवनिर्मित प्रशासकीय भवन शुक्रबार उद्घाटन गर्दै मन्त्री मोदीले देशमा सुशासन कायम गर्न ठूला भ्रष्टाचारको अन्त्य गर्न सरकार लागि परेको बताएका छन् । उनले सुशासन र भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्रीले गरेका कामलाई साथ दिनुपर्ने बताएका छन् । ‘यो देशमा सुशासन कायम गर्न ठूला भ्रष्टाचारहरूको अन्त्य गर्न सरकार लागि राखेको छ,’ उनले भने, ‘सुशासन र भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्रीले गर्नभएको कामलाई सकारात्मक ढंगले साथ दिनुपर्छ ।’ उनले संघीयता कार्यान्वयन गर्नुपर्ने भूमिका र प्रशासनिक सुधार गर्नुपर्नेमा जोड दिए ।
मन्त्री मोदीले जनप्रतिनिधिलाई कर्मचारी पठाउने र भनिदिनु पर्ने कार्यका लागि मन्त्रालय लागिरहने बताए । आफ्नो ठाउँबाट नुवाकोटको विकास निर्माणका लागि भूमिका खेल्ने समेत आश्वासन दिए । जनतालाई सेवा र खुसी दिने कार्यमा लाग्नुपर्ने उनले बताए । ‘अहिले वडाध्यक्षदेखि प्रतिनिधिसभा र मन्त्रीसम्ममा जनता असन्तुष्ट छैनन् । सन्तुष्टी दिने सक्ने गरी कार्य गर्नुपर्छ,’ उनले भने, ‘नेपालीहरू अनुशासनको दायरामा छैनौं । देश बनाउने हो । सरकार, जनता, जनप्रतिनिधि र जनताबीच दोहोरो सम्बन्ध हुनपर्छ ।’ उनले मधेश÷तराई, पहाड मिलेर अगाडि बढ्नु पर्ने भन्दै सबैको एकता आवश्यक रहेको बताए ।
प्रतिनिधिसभाका सांसद एवं नेकपा माओवादीका पोलिटव्युरो सदस्य हितबहादुर तामाङले ठूलो संघर्ष, आन्दोलनबाट सिंहदरबारको अधिकारलाई जनताको घरदैलोमा ल्याएको बताए । उनले समुन्द्रटारदेखि ढिकुरे सडक चौडा गर्ने र समुन्द्रटारदेखि तालुकसेरीसम्म सडक विस्तार गर्नु आफ्नो पहल रहने धारणा राखे । यस्तै, बागमती प्रदेश सदस्य राधिका तामाङले भ्रष्टाचार नियन्त्रण र सूचना प्रवाहलाई चुस्त बनाउनुपर्नेमा कानुन निर्माण ढिलाई भएको बताइन् । उनले धार्मिक, सांस्कृतिक महत्व बोकेको दुप्चेश्वरलाई संघीय सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरिदिन मन्त्री मोदीसमक्ष आग्रह गरिन् ।
No comments:
Post a Comment