गणतन्त्र दिवसको शुभकामना
लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहने गर्दछ । ठूलो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न क्रियाशील रहनुपर्दछ । संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र संस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधार हुन् । नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण संघर्षको जगमा विसं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । एकात्मक सामन्ती केन्द्रिकृत राज्यव्यवस्थाको समूल अन्त्य गर्दै जनताका प्रतिनिधिबाट जनताले शासन गर्न पाउने संघीय, समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १५ वर्ष पूरा भएको छ । यसर्थमा आजको दिनलाई नेपालको राजनीतिक इतिहासलाई नयाँ युगतर्फ लैजाने ऐतिहासिक दिनका रूपमा स्मरण गर्न‘पर्छ । सयौँ वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य कदापि थिएन । गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयन चुनौती देखिए पनि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिनुपर्दछ ।
हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका जनप्रतिनिधिबाट आज मुलुकको शासनप्रणाली सञ्चालित भइरहेको छ । विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनसक्नु गौरवको विषय हो । नेपाली समाजको संरचना तथा भौगोलिक विशिष्टतालाई सम्बोधन गर्न संघीयता, समावेशिता एवं समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अङ्गिकार गरिएको छ । विश्वव्यापीरूपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ । यसलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकता छ । नेपाली जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण यो व्यवस्थाको अभिष्ट हो । संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्छ र हुँदै पनि गएका छन् । नागरिक हकअधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुन जरुरी छ ।
लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक हो । यसो भएता पनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिन्छ । संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहजरूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दीगो हुँदैन । आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य सिद्ध नहुने स्पष्ट छ । जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिबद्धतासाथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो छ । यस बीचमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संर्घर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने षडयन्त्र पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयास कदापि सफल हुने छैनन् । संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु जरुरी छ । सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपालका लागि फेरि राष्ट्रिय एकताको खाँचो रहेको तथ्यलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । गणतन्त्र स्थापना र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका राजनैतिक आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिद, अग्रज राजनेता र राजनीतिक कार्यकर्ताहरू, बुद्धिजीवी, नागरिक समाजका अगुवा, लोकतन्त्र र गणतन्त्रप्रति आस्थावान सबैमा सम्मान सहित गणतन्त्र दिवसको हार्दिक शुभकामना ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Wednesday, May 31, 2023
२०८० साल जेठ १५ गतेको सम्पादकीय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment