Monday, June 12, 2023

२०८० साल जेठ २९ गतेको सम्पादकीय

विद्यालय खाजाको इतिहास रचियोस्
सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, गराउने दायित्व निर्वाह गर्ने प्रणालीको विकास गर्न आवश्यक देखिएको छ । स्थानीय तहका शिक्षा प्रमुख र जनप्रतिनिधिहरूलाई चाहिने आवश्यक न्यूनतम व्यस्थापकीय प्रशासनिक ज्ञान तथा प्राविधिक स्वास्थ्य मापन र पोषकतत्वको ज्ञान र सूक्ष्म र बृहद पोषक तत्वको स्रोत प्रयोग गरी सन्तुलित दिवा खाजाको व्यवस्थापन गर्ने सीप सहितको क्षमता अभिवृद्धि गर्नृु जरुरी देखिएको छ । यसलाई सम्बोधन गर्न नेपाल सरकारले कार्यक्रमलाई अगाडि बढाएको अवस्था छ । मानव पूँजी विकासको दृष्टिकोणले आधारभूत तहको विद्यालय तहमा बालबालिकाहरूलाई खुवाइने दिवा खाजाको महत्व अती धेरै छ । तर विद्यालय तहमा खुवाउन तोकिएको दिवा खाजाको मात्रा, गुणस्तर मापदण्ड एवं सुरक्षित र व्यवस्थापकीय प्रावधानको सजगता अति जरुरी हुन्छ । यसर्थ दिवा खाजाको प्रबन्ध गर्ने, स्रोत जुटाउने र पकाएर खुवाउने तथा लाभान्वित हुने विद्यार्थी र अभिभावक सहितका सरोकारवालाहरूलाई दिवा खाजाको वैज्ञानिक मापदण्ड सित राम्ररी सुसूचित गर्न, गराउन उच्च सचेतताको आवश्यकता हुन्छ । यसर्थ दिवा खाजासँग सम्बन्धित पोषण लगायत अन्य प्राविधिक विषयमा आवश्यक ज्ञान र क्षमता सरोकारवालाहरूमा अभिवृद्धि गर्न र गुणस्तरीय खाजाको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध देखिन्छ । कुनै पनि बच्चालाई विद्यालयमा भोको पेटमा टिकाउन, सिकाउन र सिकाइलाई दिगो बनाउन असम्भव हुन्छ ।

जीवनको मुख्य आधार कृषि विकास र उत्पादन रहेछ, कृषि उत्पादन बढाउन, गाउँ समुदायमा आफ्ना बालबालिकालाई ताजा र स्वच्छ खाजा खुवाउन, पौष्टिक सन्तुलित आहारको व्यवस्था मिलाउन अति आवश्यक छ । विद्यार्थीलाई खाजा खुवाउने र खाजाको मात्रा, परिमाण सिकाउँदा शिक्षकले सामाजिक विषय, गणित विषय, भाषा विषय, विज्ञान विषय, स्वास्थ्य विषय, प्रकृति वातावरण, जीवजन्तु र सबै व्यवहारिक ज्ञान सिकाउने आधार दिवा खाजा मेनु तालिका हुन सक्छ । आज आफूले शिशु कक्षादेखि सिकेको र खाएको मात्रा क्रमशः घर परिवारमा लागू गर्न गराउन सहयोगी हुन सक्छ । आफूलाई बानी परेको खाद्य परिकार र शारीरिक, मानसिक तथा संवेगात्मक प्रभावको सिकाइलाई आफू आमा, बाबु र अभिभावक हुँदा पूर्ण रुपमा कार्यान्वयन गर्न सक्छन् । यसरी सम्पूर्ण स्वस्थ, स्वच्छ र सामाजिक अन्तरघुलन हुने जातपातको अमानवीय विभेदको अन्त्य गर्न अप्रत्यक्ष  भूमिका खेल्ने विद्यालय दिवा खाजा व्यवस्थापनमा सबै सरोकारवालाको सक्रीय सहभागिता आवश्यक छ । दिवा खाजाको लागि चाहिने स्थानीय उत्पादनमा आधारित खाद्य टोकरी र सो को आधारमा पोषणयुक्त सामान्य खाजा मेनु (सूची) को निर्माण गर्न सक्ने सीपको विकास गर्न, गराउन आवश्यक छ । विद्यालय दिवा खाजा कार्यक्रम व्यवस्थित रुपमा कार्यान्वयन गर्न आ–आफ्नो स्थानीय परिवेश अनुकूलको व्यवस्थापन प्रणाली छनोट गर्न र गुणात्मक खाजा प्रबन्ध गर्न स्थानीय तहहरूको सहयोग अपरिहार्य नै हुनेछ । दिवा खाजा सुरक्षित, गुणस्तरीय र पोषणयुक्त बनाउन आवश्यक पहल गर्ने, गराउने र सबै विद्यार्थीमार्फत समुदायस्तरमा सन्तुलित खानपिनको जग हाल्न विद्यालयहरू दिवा खाजा कार्यक्रमको माध्यमबाट सफल हुने नै छन् ।

दिवा खाजा तालिकाको सामग्री उत्पादन, गुणस्तरी मात्राको प्रयोग र पोषणतत्वलाई व्यवस्थापन गर्न कृषि र स्वास्थ्य सेवाको प्रभावकारीता बढ्ने नै छ । दिवा खाजामा मूल्यमान्यता बुझाउने स्रोत सामग्री एवं विधिहरूको उपयोग गरिएको मेनु तालिका सहित ७५३ स्थानीय तहमा जनशक्ति विकास र सिकाइ प्रक्रियालाई एकीकृत रुपमा अवलम्वन गर्न प्रशिक्षण सहजीकरण गर्न शिक्षाले केही प्रयासको काम त गरेको छ । तर सबै स्थानीय तह सम्म दिवा खाजा कार्यक्रम कार्यान्वयनलाई सहजीकरण गर्न आवश्यक पर्ने योजना, प्रणाली, नियम, टुल्स आदिको निर्माण गर्न अभिमुखीकरण गरेर यो अभियानलाई देशको अहम् मुद्दा स्थापित गराउन भने सकेको छैन । इमानदार व्यवस्थापन कुशलता सीप र असल नागरिकको जग विकासमा विद्यालय दिवा खाजाको इतिहास रचियोस् । सामाजिक न्यायको लोककल्याणकारी राज्यको अभिभावकत्वमा हाम्रा बालबालिकाहरू फस्टाउन सकून् । त्यसका लागि नुवाकोटका १२ वटै पालिकाले आफ्ना परिवेश, उपलब्धता र मौलिकता झल्काउने गरी खाजाको मेनु तयार गारएर सबै विद्यालयहरूमा लागू गराउनु आवश्यक छ ।

No comments:

Post a Comment