लोचन भट्टराई
भोलाराज पौडेल
विदुर । नुवाकोटमा अपाङ्गता क्षेत्रमा लामो समय काम गर्ने अथक योद्धा । लौरोको सहरामा दैनिक जीवन चलाउनुपर्ने उनी आफू भोकभोकै भएर पनि अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक तथा राजनैतिक विकासको लागि ०६० देखि अहिलेसम्म निरन्तर क्रियाशील छन् ।
उनी जन्मजातै अपाङ्ग होइनन्, ६/७ महिनामा विरामी हुँदा राम्रो उपचार नपाएर नै उनको खुट्टामा समस्या भएको हो । ‘ज्वरो आएको बेलामा राम्रो उपचार नपाएपछि यस्तो भएको हो ।’ लोचन भन्छन्– ‘टाइफाइड विग्रिएका कारण यस्तो भएको भन्ने कुरा मैले पछि डाक्टरले भनेपछि थाहा पाएँ ।’ उनले गाउँकै तीन वटा विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका हुन् । ‘लौरो टेकेर हिँड्नुपर्छ दैनिक दुई घण्टा हिँडेर स्कुल जानुपथ्र्यो, सानो कक्षामा पढ्दा आधा घण्टा र मावि पढ्द दुई घण्टा जानुपथ्र्यो ।’– लोचनले भने । सरस्वती प्राविमा (अहिले आधारभुत भनिन्छ) कक्षा ५ सम्म पढेका उनले ६, ७ कक्षा कृष्ण मावि तारुका र त्यसपछि माथिको कक्षा चण्डी मावि पढेर २०५६ सालमा एसएलसी पास गरेँ । व्याचलरसम्म पढेका उनले पढाईलाई निरन्तरता दिन नसकिएको बताउँछन् ।
अपाङ्गता भएका व्यक्तिहरूको सवालमा अहिले त निकै सहज भएको उनी बताउँछन् । आफूले सहज, अनुकुलतावादको सिर्जना गर्न सक्यो भने कुनै समस्या नहुने उनको बुझाई छ । सबै क्षेत्रमा आफ्नो सहभागिता गराउन सकिन्छ । उनको व्यक्तिगत कुरा गर्दा सुरुका दिनमा गाउँमै जन्मिएको कारणले पनि हेर्ने दृष्ट्रिकोण दया, भावको हिसावले हेर्ने गरेको अनुभव हुन्थ्यो । पढ्दै गएपछि बुझ्दै गएपछि पचाउन सकिन्छ भन्ने बुझाई उनको छ ।
उनी साविकको बुधसिंग गाविस वडा नं. ६ थियो भने अहिले तारकेश्वर गाउँपालिका वडा नं. ४ बुधसिं जन्मिएका हुन् । एसएलसी पास गरेपछि गाउँमा कलेज नभएका कारण उनी उच्च शिक्षा पढ्ने धोको बोकेर काठमाडौं छिरे । ‘निम्न बर्गीय परिवारमा जन्मिएको मान्छे । ज्यला पात गरेर दैनिक गुजारा चलाउनुपर्ने बाध्यता थियो ।’ उनी भन्छन्– ‘एसएलसी पास गरेपछि कम्प्युटर सिक्नको लागि काठमाडौं जानुपर्छ भन्ने भुत चढ्यो । काठमाडौं गइयो भने त्यहाँ आरआर क्याम्पसमा स्ववियुलाई लगाएर बल्ल बल्ल भर्ना पनि गरियो । त्यतिबेला कलेज भर्ना गर्ने पैसा थिएन, त्यसैले स्ववियुको सहयताले भर्ना गर्नुपरेको हो ।’
काठमाडौंमा उनका आफन्त कोही थिएनन्, बस्ने कोठा थिएन । कहिले कस्कोमा कहिले कस्कोमा गएर एक डेढ वर्ष काठमाडौंमा विताएका लोचनलाई लाग्यो यसरी बस्न सहज थिएन । ‘कलेज जाने कामलाई निरन्तरता दिन सकिएन । अवस्था एकदमै नाजुक भयो ।’ उनी विगत सम्झँदै भन्छन्– ‘घरबाट आवश्यक पैसा पठाउन सक्ने अवस्था थिएन । काठमाडौं बस्नै नसक्ने अवस्था सिर्जना भएपछि म गाउँ फर्किएँ ।’
आइए पढ्नको लागि काठमाडौं छिरेको उनको त्यो सपना अधूरो रह्यो । २०५८ साल उनको लागि उतावचढाव भयो । काठमाडौं जाने अपाङ्गता भएका साथीहरूसँग भेटघाट गर्ने, कस्ले के गर्छ, के भन्छ यस्तै वेवारिसे ढंगमा वित्यो । ‘न पढ्ने ठेगान, न बस्ने ठेगान ।’ उनी भन्छन्– ‘जिन्दगी नै पूरै अस्तव्यस्त थियो ।’
काठमाडौंको जीवन अस्तव्यस्त भइरहेको बेला उनले ६ महिनाको लागि रेडक्रसको साक्षरता कक्षाको अनुगमन गर्ने कामको लागि सामाजिक कार्यकर्ताको जागिर पाए । सेभ द चिल्डे«नले सञ्चालन गरेको यो कार्यक्रममा मासिक ३ हजार एक सय रुपैयाँमा तलव पाउने भए । ६ वटा स्थानमा सञ्चालन भएको कक्षाको अनुगमन गर्ने जिम्मा लोचनले पाए । ०६० सालमा देवीघाटको एक जना साथीसँग मिलेर संस्था खोल्ने कुरा आयो । त्यतिबेला उनले संस्था खोल्नको लागि ७ जना अपाङ्गता भएका व्यक्तिहरू खोजी गर्न थालेँ । तर, ७ जना पु-याउन उनलाई निकै गाह्रो भयो । अध्यक्ष बन्नुपर्ने मान्छे उनी सचिव बनेर संस्था दर्ता गरे । उनी अपाङ्ग सेवा संघको सचिव भए ।
संस्था दर्तापछि उनको विदुरमा कार्यक्षेत्र हुन थाल्यो । उनको घर बुधसिंबाट तल देवीघाट फेदीमा झर्नको लागि उनलाई ४ घण्टा सयम लाग्थ्यो । त्यतिबेला बाटो थिएन । लौरोको सहराले उनी विदुर आउँथेँ । त्रिशुली नदीमा भएको तुइन एक्लै तरेर देवीघाटबाट वस चढेर उनी विदुर जाने आउने गर्दथ्ये । ०६२÷०६३ को जनआन्दोलन ताका कहिले साथी, कहिले आफन्तको बस्ने गर्दा गर्दै उनीहरू मिलेर कोठा भाडामा लिएर बस्न थाले । ‘कोठामा बस्दा पनि बर्षौसम्म कोठा भाडा तिर्न नसकेर निकै दुःख भोग्नु परेको छ ।’ उनी भन्छन्– ‘भात खाएको पैसा तिर्न नसकेको पनि उदाहरण धेरै छ । तिर्न चाहिँ तिरियो ।’
संस्था खोलेपछि त्यो संस्था सञ्चालनको लागि फण्ड चाहिने थियो । सरकारले अपाङ्गता भएका क्षेत्रमा केही बजेट विनियोजन गर्ने निति बनाएपनि सरोकारवालाले यो क्षेत्रमा पैसा विनियोजन गर्न नमान्ने, अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको लागि कार्यक्रम सञ्चालनको लागि बजेट माग गर्दा पनि अर्को दृष्ट्रिकोणबाट हेर्ने गरेको तितो अनुभव उनीसँग छ । त्यो बेलाको दुःख पनि आफूसँग धेरै भएको उनी बताउँछन् ।
२०६० सालमा संस्था स्थापना गरेर अपाङ्गता क्षेत्रको अभियानमा लागेका उनले त्रिभुवन विश्व विद्यालयको प्राइभेटबाट इन्टर पास गरेँ । ०५६ सालमा पढ्नको लागि भनेर काठमाडौं गएको बेला पढ्नको लागि वातावरण बनाउन नसकेका उनले तयतिबेला अधिकारकर्मीसँग भेट गर्ने, बेलाबेलाा कुननै कार्यक्रमहरूमा सहभागिता जनाउने गरेका थिए । ‘त्यतिबेलासम्म मलाई अपाङ्गता भएको व्यक्ति मै मात्रै छु नुवाकोटमा जस्तो लाग्थ्यो ।’ उनी भन्छन्– ‘अधिकारकर्मीसँग भेट हुने र राष्ट्रि«य अपाङ्ग महासंघमा जाने आउने गर्दा नुवाकोटमा गएर अपाङ्गताको क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोच आयो ।’
५ वर्ष जिल्लामा बसेर अपाङ्गताको क्षेत्रमा काम गरेका लोचनलाई यो अभियानले मात्र आफ्नो व्यक्तिगत जीवन सञ्चालन गर्न कठिनाइ हुन्छ भन्ने लागेर राहत शिक्षकको रुपमा २०६५ सालदेखि आफैं पढेको सरस्वती आधारभुत विद्यालयमा शिक्षकको रुपमा कार्यरत छन् । आफूले स्थापना गरेको संस्था छाड्न मन नलाग्दा नलाग्दै पनि त्यतिबेला उनले अपाङ्ग सेवा संघ छाडेर जागिरे जीवनमा प्रवेश गरे । जागिर खाने क्रममा उनले सोचेँ – म त्यस्तो अभियानबाट आएको मान्छे अपाङ्गता भएका क्षेत्रमा गर्न बाँकी धेरै छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउनुपर्छ, सीप, क्षमता, शिक्षा, समानतामूलक समाज निर्माणको अभियानमा फेरी पनि लाग्नुपर्छ । यही सोचेर उनले अपाङ्गता भएकाहरूको जीवनस्तरलाई माथि उठाउनको लागि तीनै तहका सरकारसँगको समन्वयमा आफ्नो क्षेत्रको वृहत्तर विकासको लागि विहान बेलुकीको समयलाई सदुपयोग गर्ने निर्णय गरे । अनि २०७० सालमा अपाङ्ग मानवअधिकार मञ्च नाम गरेको संस्था स्थापना गरी त्यसको सचिव भएर काम गरिरहेका छन् ।
लोचन आफूले अहिलेसम्म अपाङ्गताको क्षेत्रमा कानुन, निति बनाउने विषयमा धेरै पहल गरेको बताउँछन् । अन्तराष्ट्रिय कानुन अनुसार नेपालमा पनि सोही अनुसारका कानुन निर्माण गर्नको लागि आफूले भूमिका खेलेको दावी गर्छन् । संविधान निर्माणको चरणमा भएकाले पनि ०७२ अघि आफूहरूलाई निति तथा कानुन बनाउन सहज भएको उनी बताउँछन् । शिक्षा स्वास्थ्य रोजगारको विषयमा पहिले जस्तो अहिलेको अवस्था छैन । संविधानमै आरक्षणको व्यवस्था छ । राज्य तथा समाजको विभेद विस्तारै हराउँदै गएको छ । स्थानीय सरकारलाई भने केही नियम र नितिमा लैजानुपर्ने आवश्यकता रहेको उनको बुझाई छ ।
गैरसरकारी संस्था महासंघमा पनि पछिल्लो समय नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । मैले समाज रुपान्तरणको लागि खेलेको भूमिका, त्याग र समपर्णकै कारण आज आफूलाई स्थापित गर्न पाउँदा खुशी लागेको उनी बताउँछन् । (यो समय डटकमबाट)
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 26, 2023
लोचन, लौरो र अधिकार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment