Tuesday, June 27, 2023

हराउँदै कुँडार

कुँडार

राजकृष्ण श्रेष्ठ

विदुर । पछिल्लो समय नुवाकोटमा घरायसी प्रयोजन तथा उपभोगका लागि गरिने परम्परागत कुँडार तथा करेसाबारी खेतीको प्रचलन हट्दै गएको छ । बसाईँसराई र बढ्दो शहरीकरण तथा आधुनिकतासंगै कुँडार खेती र करेसामा गरिने तरकारीजन्य खेतीको ठाउँ अहिले ‘गार्डेन’(सुन्दर बगैँचा)ले ढाकेको छ ।
    शहरीकरण र जिल्लामा बढ्दो आधुनिकतासंगै मौलिक र परम्परागत शैलीका घरहरू लोप हुँदै गएसंगै कुँडार तथा करेसाबारीको संस्कृति पनि हराउँदै गएको हो । ढुंगा माटोका परम्परागत घरको ठाउँ अहिले आधुनिक र सुविधा सम्पन्न घर निर्माण हुन थालेका छन् । करेसाबारीमा तरकारी उत्पादन गरेर आफूलाई आवश्यक तरकारी आफैंले उत्पादन गर्ने प्रणालीको अन्त भएसँगै बजारबाट विहान बेलुकीको छाक टार्न खरिद गर्न‘नपर्ने बाध्यताको विकास भएको छ । सहर बजारमा मात्र होइन यस्तो समस्या अहिले ग्रामीण क्षेत्रमासमेत देखिन थालेको छ ।
    बजार क्षेत्रमा आधुनिक घर निर्माणसँगै घरभित्र र बाहिरको साजसज्जामा परिवर्तन हुन थालेसंगै कुँडार तथा करेसाबारी खेती हराउन थालेको हो । घर छेउछाउ तथा आँगन र रछ्यानको ठाउँ अहिले कंक्रिट ढलान तथा स्लेट ढूंगा बिछ्याउने लगायत थरीथरिका बोटबिरुवा सहित फुलबारीको रुपमा परिणत हुन थालेपछि कुँडार र करेसाबारी परम्परा हट्दै गएको हो । कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनाल सहरी क्षेत्र बढ्दो आधुनिकताको नाममा सहरी क्षेत्रमा करेसा खेती गर्ने चलन हराउँदै गएको बताउँछन् । यसले नेपालको मुख्य पेशाको रुपमा रहेको कृषिमा परनिर्भर हुनुपर्ने बाध्यता बढ्दो छ भने वर्षेनी दैनिक उपभोग्य तरकारी खरिदका नाममा ठूलो धनराशी बाहिरिने गरेको छ । ‘पहिले करेसावारी हुन्थ्यो, विहान बेलुकी हातमुख धुने र भाडा माझेको पानीले एउटा परिवारको लागि पुग्ने तरकारी खेती गर्न सकिन्थ्यो’ खनालले भने– ‘जुठ्यानको पानीले नै परिवार तरकारीमा आत्म निर्भर हुन्थ्यो ।’ उनले तरकारी खेती गरिने करेसावारीमा अहिले स्टेट ढुंगा र फूलवारीले सजिएकाले दैनिक उपभोग्य तरकारीमा परनिर्भर बन्नु परेको छ ।
    करिव दशक अघिसम्म सदरमुकाम बिदुर लगायत नगर तथा स्थानीय गाउँघरमा तरकारीजन्य बस्तुका लागि आफ्नै कुँडार र करेसाबारीमै निर्भर रहेका थिए । तर, पछिल्लो समय बसाईँसराई तथा बढ्दो शहरीकरण र आधुनिक जीवनयापनको रहरमा सौन्दर्य र आकर्षणको लागि आँगन र घर छेउछाउका कुँडार र करेसाबारी मासिनेक्रम दिन प्रतिदिन बढेसंगै ताजा र स्वच्छ हरियापरिया तरकारीको स्थानीय गाउँठाउँको मुख्य स्रोतमा कमी आएको अखिल नेपाल किसान महासंघ नुवाकोटका अध्यक्ष रामहरि पाण्डे बताउँछन् । ‘युवा पलायन बढ्दो क्रममा छ, गाउँघरमा बूढापाका र गर्न नसक्ने जमात बढ्दै करेसावारीमा गरिने खेती हराउँदै गएको छ’ पाण्डे भन्छन् – ‘आधुनिकताको नाममा विहान वेलुकीको छाक टार्ने तरकारीमा पनि पूरै वर्ष परनिर्भर हुनुपरेपछि परिवारको आर्थिक अवस्थामासमेत विचलन आएको छ ।’
    भान्छा तथा घरभित्र र बाहिरबाट निस्कने सामान्य फोहर एवं प्रांगारिक मलको प्रयोगमा साँझ बिहानको समय र श्रमको सदुपयोग गरी हुने कुँडार तथा करेसाबारी खेती हराउँदै गएपछि अहिले सर्वसाधारणमा अतिरिक्त व्ययभार थपिएको छ भने जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने गरेको छ । आफ्नै उत्पादन सुपथ मुल्यमा प्रयोग गर्न पाइने भएपनि बजारबाट विषादी प्रयोग भएको महंगो तरकारी खेतीले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
    करेसाबारी खेतीमा आएको कमीसंगै बिगतमा स्थानीय गाउँभरमा सहजै देखिने चिचिन्डा, घिरौंला, गोलभेडा, भेन्टा, बोडीका झाललगायत हरिया सागसब्जी लसुन, प्याज, धनियाँ, चम्सुर, पालूंगजस्ता तरकारीजन्य बस्तु अहिले कुँडारमा देखिन मुस्किल भएको छ । निरोगी र दिर्घ जीवनको आधारसमेत मानिने यस्ता अर्गानिक करेसाबारी खेती हट्दै गएका कारण अहिले स्थानीयमा अतिरिक्त व्ययभार र स्वास्थ्य सम्बन्धी जोखिम्का साथै आयात प्रतिस्थापन गर्ने सरकारी लक्ष्य समेत प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभावित बनेको छ ।

No comments:

Post a Comment