![]() |
रकम हस्तान्त्रण गर्दै मेयर श्रेष्ठ |
विदुर । विदुर नगरपालिकाले आफ्नो नगरपालिकामा सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको विदाई कार्यक्रम सुरु गरेको छ । महिला स्वास्थ्य स्वयंसेविका भएर नगरवासीको स्वास्थ्य चेतनाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई विदाई गर्ने अभियान सञ्चालन गरेको हो । विदुर नगरपालिकामा यस वर्ष ६० वर्ष पूरा भएका २८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू रहेका छन् ।
पहिलो चरण अन्र्तगत उनीहरूलाई जनही ५० हजार रुपैयाँका दरले प्रोत्साहन रकमसहित सम्मानपत्रसहित विदाई गरिएको हो । कार्यक्रममा वडा नं. ३ का अध्यक्ष बद्रीप्रसाद रिमाल, वडा नं. ७ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रविन्द्र नेपाललगायतको सहभागिता रहेको थियो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरूको सेवा अवधिको आधारमा प्रोत्साहन रकमसहित उनीहरूको विदाई कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए । ‘सेवा अवधिको हरेक वर्ष १० हजार रुपैयाँको दरले हिसाव गरी विदाई गर्ने कार्यक्रम अन्र्तगत पहिलो चरणमा ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।’– प्रमुख श्रेष्ठले भने । विदुर नगरपालिकाले गत वर्षदेखि नै प्रोत्साहन रकमसहित स्वयंसेविकाहरूको विदाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेपनि यस वर्षबाट भने कार्यक्रम सञ्चालन गरिएको हो ।
यो कार्यक्रम अन्र्तगत प्रतिवर्ष १० हजार रुपैयाँका दरले सेवा अवधिको रकम एक मुष्ठ उपलब्ध गराइने भएपनि स्रोत अभावका कारण नगरपालिकाका ६० वर्ष उमेर पूरा गरेका २८ जनालाई सबै रकम उपलब्ध गराउन नसकिएको विदुर नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन रामराजा भण्डारीले बताए । नगरपालिकामा यस वर्ष उमेर हदका कारण सेवा निवृत्त भएका स्वयंसेविकामध्ये ३२ वर्षसम्म निरन्तर सेवा गरेका स्वयंसेविकासमेत रहेको भण्डारीले बताए ।
३२ वर्ष सेवा गरेका स्वयंसेविकालाई प्रतिवर्ष १० हजारका दरले ३ लाख २० हजारसम्म प्रोत्साहन रकम प्रदान गर्न‘पर्ने हुन्छ । यसरी सेवा निवृत्त भएका स्वयंसेविकाको बाँकी रकम पछिल्ला वर्षहरूमा क्रमशः भुक्तानी गर्दै अघि बढ्ने योजना नगरपालिकाको रहेको उपप्रमुख प्रभा बोगटीले जानकारी दिइन् ।
No comments:
Post a Comment