![]() |
पञ्चकन्या गाउँपालिकाको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड |
पञ्चकन्या । प्रधानमन्त्री पुष्पकमल दाहालले छहरे–टोखा सुरुङमार्ग निर्माण राजनीति गर्ने विषय नभई यो राष्ट्रको बृहत् हितका निम्ति हुने बताएका छन् । शनिबार पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै दाहालले छहरे–टोखा सुरुङमार्ग निर्माणमा सबैले राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताए ।
‘कसले ग¥यो भन्दा पनि यसमा सबैले राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने, राष्ट्रिय सहमति र राष्ट्रिय प्रतिबद्धता गर्नु पर्ने विषय हो,’ उनले भने, ‘छहरे–टोखा सुरुङमार्गले धेरैतिर बहुआयामिकरुपले नेपाल राष्ट्रको हित, आर्थिक क्रियाकलापमा हुने हुनाले हामीले राजनीतिक आग्रहबाट हेर्न हुँदैन ।’ प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रको आवश्यकतालाई हेरेर मैले कूटनीतिक तहमा र राजनीति तहमा पनि यो सुरुङमार्ग अगाडि बढाउन योगदान गरेर तपाईंहरूसँगै हिस्सेदार पाउँदा खुसी र गर्वको महसुस भएको छ ।’
उनले यो पटक नुवाकोटले नीति तथा कार्यक्रममा पनि र बजेटमा पनि सकारात्मक हिस्सेदारी प्राप्त गरेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रम र बजेटमा कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरालाई प्राथमिकता दिएको पनि बताए । उनले रोजगारी सृष्टि गर्ने विषयमा बजेट केन्द्रित रहेको दाबी गरे । ‘जो उत्पादन कार्यक्रममा संलग्न छ उनीहरूको हातमा पैसा जाओस् भनेर कार्यक्रम ल्याइएको हो, विचौलियालाई होइन्,’ प्रधानमन्त्री दाहालले भने । सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पु¥याउन धेरै संघर्ष र बलिदान गर्न परेको उनले बताए । नुवाकोटले संविधान र विकास निर्माणमा खेलेको भूमिकाको दाहालले स्मरण गराए ।
पञ्ककन्या गाउँपालिका ३ लाकुरीभञ्ज्याङमा बनेको नयाँ तीनतले भवनमा २७ कोठा छन् । यसको लागत ६ करोड २ लाख रुपैयाँ रहेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताएको छन् । प्रधानमन्त्री दाहालले डिपबोरिङ, भवन अगाडिको बुद्धको मूर्तिसमेत उद्घाटन गरेका छन् । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, संघीय सांसद हितबहादुर तामाङ, वागमती प्रदेश सदस्य राधिका तामाङ, रमेशकुमार महत, एमाले नुवाकोट अध्यक्ष बद्री मैनालीले धारणा राखे ।
No comments:
Post a Comment