Monday, June 12, 2023

गाउँकै उत्पादन खाजामा प्रयोग गर्न जोड

सचेतनाका कार्यक्रम

भोलाराज पौडेल (यो समय)

किस्पाङ । नुवाकोटमा परीक्षणको रुपमा सुरु गरिएको स्थानीय उत्पादनमा आधारित राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालाहरूले जोड दिएका छन् ।
    सरकारले ०७५।०७६ देखि सञ्चालनमा ल्याएको दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्नका लागि विश्व खाद्य कार्यक्रम र शान्ति भोलेन्टियर्स एसोसियन र कार्डसन नेपालले स्थानीय उत्पादनलाई प्रयोग गर्नको लागि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन् । सरकारले कक्षा ६ सम्म अध्ययन विद्यार्थीका लागि दैनिक १५ रुपैयाँका दरले खाजावापतको रकम प्रदान गर्दै आइरहेको छ । सरकारले दिने उक्त रकम स्थानीय उत्पादन प्रयोग गर्दा विद्यालय क्षेत्रका अभिभावकले पनि फाइदा लिन सक्ने र पौष्टिक तत्व भएको उत्पादनमा जोड दिन सकिने किस्पाङ गाउँपालिकामा मंगलवार भएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
    किस्पाङ गाउँपालिकामा निर्माण भएको दिवा खाजा भान्छा घर तथा सामूहिक हात धुने धाराको हस्तान्तरण कार्यक्रममा बोल्दै विश्व खाद्य कार्यक्रम दिवा खाजा कार्यक्रम इकाइ नेपाल डा. क्रिष्टिना मर्फीले विद्यालय र विद्यार्थीको विकास नै देश विकासको प्रमुख आधार भएको बताउँदै स्वस्थ, तन्दरुस्त एवं मानसिक एवं शारिरीक विकासका लागि चाहिने पौष्टिक आहार दिवा खाजामा दिन सके समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताइन् । ‘पौष्टिक आहारले नै वौद्धिक एवं शारिरीक विकास हुन्छ’, डा. क्रिष्टिनाले भनिन्–‘स्थानीय उत्पादनको प्रयोगले समुदायले ठूलो फाइदा लिन सक्छन् ।’
    कार्यक्रममा राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम परियोजना प्रमुख डा. दीपक गौतमले दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय उत्पादन र स्थानीयलाई पनि रोजगार एवं कृषि पेशाप्रति आकर्षण बढाउनको लागि भूमिका खेल्नुपर्ने बताए । ‘सरकारले खाजा कार्यक्रमको लागि उपलब्ध गराउने रकम स्थानीयले विद्यालयको लागि खाजा विक्री गरी प्राप्त गरुन् भन्ने हाम्रो उद्देश्य हो’, गौतमले भने– ‘स्थानीय उत्पादन विद्यालयले खरिद गर्दा किसानलाई पनि विक्री केन्द्र बन्ने र आयस्रोतमा वृद्धि हुन्छ ।’
    कार्यक्रममा किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्ज‘न न्यौपानेले सरकारले सामुदायिक विद्यालय र त्यहाँ अध्ययनरत बालबालिकाको वृद्धि विकासको लागि विभिन्न कार्यक्रम सञ्चालन गरेपनि शैक्षिक गुणस्तर कायम गर्न नसक्नु दुभाग्य भएको धारणा राखे । ‘हाम्रा सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न नसक्नु दुर्भाग्य हो’ न्यौपानेले भने– ‘दिवा खाजासँगै शैक्षिक गुणस्तर वृद्धिमा सरोकारवाला सबै लाग्नुपर्छ ।’ जिल्लामा स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन गरिएपनि व्यवहारिक रुपमा केही कठिनाई रहेको बताउँदै उनले भावी दिनमा आफ्नो पालिकाले प्रभावकारी रुपमा अघि बढाउने बारेमा थप अध्ययन गरिरहेको बताए ।
    साझेदार संस्था कार्डसन नेपालका कार्यकारी निर्देशक पदम उप्रेतीले साझेदार संस्थाहरू कार्यक्रमबाट बाहिरिए पनि निर्वाध रुपमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालको दिवा खाजा कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले भूमिका खेल्नुपर्ने बताए । उनले यसका लागि गाउँपालिकाले प्रभावकारी निति कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
    शान्ति भोलेन्टियर एसोसियनका कार्यक्रम प्रमुख गणेशकुमार लामाले शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवाला सबैको भूमिका प्रभावकारी नभएको गुनासो व्यक्त गरे । उनले विद्यालय सुधार योजना कागजी डकुमेन्टको रुपमा मात्र लागू भएकोले यसलाई व्यवहारिक कार्यान्वयनमा स्थानीय सरकारको भूमिका हुनुपर्ने बताए । इच्छाशक्ति भएमा स्थानीय सरकार, शिक्षक, अभिभावक तथा सरोकारवाला सबैको समन्वयमा शैक्षिक गुणस्तर वृद्धि योजना बनाउन सकिने बताए ।
    कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष प्रकाश तामाङ, व्यवस्थापन समितिको तर्फबाट दिलकुमारी मोक्तान, शिक्षकहरूको तर्फबाट चुडामणि न्यौपाने, पालिकाका शिक्षा इकाई प्रमुख चक्र साउथ लगायतले खाजा कार्यक्रमले विद्यार्थीलाई नियमित विद्यालय जाने वानीको विकास, शैक्षिक गुणस्तरमा वृद्धि, बालबालिकाको शारिरीक तथा मानसिक विकासका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको धारणा राखे ।
    कार्यक्रमा किस्पाङ गाउँपालिकामा निर्माण भएका ६ वटा दिवा खाजा भान्छाघर, ८ वटा सामूहिक हात धुने धारा विश्व खाद्य कार्यक्रमको तर्फबाट गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । जापान सरकारको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघ, विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा किस्पाङ गाउँपालिको नुचेत आधारभुत विद्यालय, सप्चेत आधारभुत विद्यालय, जयबुद्ध आधारभुत विद्यालय, कालिका आधारभुत विद्यालय, कन्यादेवी आधारभुत विद्यालय, कालिकाभुमे आधारभुत विद्यालयमा भान्छा घर र सामूहिक हातधुने धारा निर्माण भएको छ भने सिम्राङचौर आधारभुत विद्यालय र कार्की मनकामाना आधारभुत विद्यालयमा बालमैत्री समूहिक धारा निर्माण भएको परियोजनाका इन्जिनियर सुमन दाहालले बताए । किस्पाङ गाउँपालिकामा निर्माण भएका संरचना ७२ लाख ९८ हजार ३० रुपैयाँको कुल लागतमा निर्माण भएको परियोजनाले जनाएको छ ।

No comments:

Post a Comment