![]() |
प्रयोगविहीन कोसेली घर |
बट्टार । विदुर नगरपालिकामा निर्माण भएको कोसेली घर प्रयोगविहीन भएको छ । नुवाकोटमा उत्पादन भएको वस्तुको बजारीकरण तथा उत्पादित बस्तु कोसेलीको रुपमा निर्यात गराउन निर्माण भएको कोसेलीघर विदुर नगरपालिकाले सञ्चालनमा ल्याउन नसकेको हो ।
नुवाकोटमा उत्पादन भएको घरेलु, स्थानीय स्रोत साधनबाट उत्पादन भएका बस्तुको बजारीकरण, प्रवर्धन तथा नुवाकोटको कोसेली अन्य जिल्लामा पठाउने प्रयोजनको लागि सो कोसेली घर आर्थिक वर्ष २०७८/०७९ मा निर्माण भएको थियो । घरेलु तथा साना उद्योग विकास समितिको ५५ लाख रुपैयाँ र विदुर नगरपालिकाको २० लाख रुपैयाँ गरी ७५ लाख रुपैयाँको लगानीमा विदुर नगरपालिका वडा नं. ४ बट्टार वसपार्कमा सो कोसेली घर निर्माण भएको हो । जिल्लामा उत्पादन भएका वस्तु जानकारी तथा बिक्री वितरण एउटै स्थानबाट गर्ने उद्देश्यले कोसेली घर निर्माण भएको छ । निर्माण भएको कोसेली घरमा जिल्लाका विभिन्न स्थानमा उत्पादन भएका हस्तकलाका साथै कृषि उत्पादन तथा अन्य कोसेलीको रुपमा प्रयोग गर्न सकिने सामग्री तथा वस्तुहरू संकलन गरी विक्री गर्ने उद्देश्य राखिएको छ ।
कोसेलीघर सञ्चालनको लागि टेण्डर प्रक्रियाद्वारा भाडामा दिनुपर्नेमा अहिलेसम्म सो कोसेलीघर सञ्चालनको लागि विदुर नगरपालिकाले प्रक्रिया सुरु गरेको छैन । नगरपालिकाले वार्षिक आम्दानी गर्ने थलोको रुपमा विकास हुनुपर्नेमा यसो हुन नसकेको विदुर नगरपालिका वडा नं. ४ का पूर्व वडाअध्यक्ष टलकमान श्रेष्ठले बताए । प्रक्रिया सुरु भएको ६ महिनामै कोसेली घर निर्माण सम्पन्न भएको उनले बताए । कोसेलीघर नगरपालिका आफैंले सञ्चालन गर्ने हो भने केही कानुनको समेत आवश्यकता हुन्छ । तर, टेण्डर प्रक्रियामार्फत कोसेली घर भाडामा दिँदा टेण्डर प्रक्रियाबाहेक अरु कानुनी समस्या नहुने उनले बताए । कोसेली घर सञ्चालनमा आउन सके जिल्लाका उद्यमीहरूलाई बजारको खोजी गर्नुपर्ने बाध्यता नहुने र साना लगानीका उद्यमीका लागि प्रोत्साह तथा बजारीकरणमा समेत सहज हुने पूर्व अध्यक्ष श्रेष्ठले बताए ।
कोसेलीघर सञ्चालनको लागि तयारी पूरा भएपनि ‘कपाउण्ड वाल’ लगाउन बाँकी रहेको बताउँदै वडा नं. ४ का वडाअध्यक्ष निलमबाबु ढुंगेलले नगरसभाबाट ५ लाख रुपैयाँ बजेट विनियोजन गरी आगामी वर्षदेखि कोसेलीघर सञ्चालनमा ल्याइन लागेको बताए । ‘कोसेलीघर सञ्चालनको लागि हामीले नगरप्रमुखलाई भनिरहेका छौँ’ उनले भने– ‘तर, नगरप्रमुखले पहिलेका अपूरा योजनालाई पूर्णता दिन चासो दिनुभएको छैन ।’ आर्थिक विकास समितिको संयोजकसमेत रहेका ढुंगेलले कोसेलीघर सञ्चालनको लागि सोही शाखामार्फत ५ लाख रुपैयाँ बजेट राखिने र सञ्चालनको प्रक्रिया अघि बढ्ने उनले बताए ।
कोसेली घरमा नुवाकोट जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री राखिने र कोसेलीघर छिट्टै सञ्चालन गर्नको लागि आफूले काम गरिरहेको उनी बताउँछन् । कोसेली घरमा जिल्लामा सवै पहिचान समेटिने गरी राखिने बस्तुले जिल्लामा आउने पर्यटकलाइ नुवाकोटको कोसेली विक्री गरिने अध्यक्ष ढुंगेलले बताए ।– यो समय डटकम
No comments:
Post a Comment