Monday, June 26, 2023

गाउँ सभा गर्ने सुर्यगढी पहिलो गाउँपालिका

सुर्यगढी गाउँपालिकाको गाउँ सभा ।

चोकदे । नुवाकोटको सुर्यगढी गाँउपालिकाले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट गाँउ सभामा प्रस्तुत गरेको छ । गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेले बिहीबार गाँउ सभामा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
    आर्थिक बर्ष ८०÷८१ को लागी नेपाल सरकारबाट आउने र आन्तरिक राजश्व समेत न्युन रहेकाले बजेट केही घटेको अध्यक्ष तामाङले उल्लेख गरे । पालिकाको बिकास र सम्बृद्धिको लागी आएको कार्यक्रमको पुर्ण कार्यान्वनमा आफुहरू प्रतिबद्ध रहेको उनले बताए । नयाँ बजेट तथा कार्यक्रममा समाबेश भएका सबै बिषयहरूको सफल कार्यान्वयनको लागि पालिकाका सबै जनप्रतिनिधि र कर्मचारी प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
    सिमित श्रोत र साधनको प्रयोगबाट स्थानीय तहको सम्बृद्धि ल्याउने कार्यमा थप मद्दत पुगेको बताईएको छ । बिगतमा रहेका कार्यक्रमलाई परिस्कृत गर्दै स्थानीय तहमा रहेका नागरिकहरूको हितको पक्षमा पालिकाको नीति तथा कार्यक्रमहरू रहेको छ । गाँउपालिकाले आर्थिक बिकासको लागी कृषि तथा पशु बिकास, घरेलु तथा साना उद्योग, पर्यटन, गरिबी निबारण लगायत कार्यक्रमलाई प्राथमितामा राखेको छ । स्थानीय तह भित्र रहेका सबै साँस्कृतिक तथा ऐतिहासिक पक्षहरूको जगेर्ना गर्न गाँउपालिका कट्टिबद्ध भएर लागेको गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेले बताएका छन् ।
    स्थानीय तहको आन्तरिक आय समेत न्युन रहेको बताउदै पालिका अध्यक्ष घलेले संघ र प्रदेशसँग सहकार्य गर्दै स्थानिय तहको बिकासमा जुट्न सबैमा आग्रह समेत गरेका छन् । गाँउसभामा पालिकाका उपाध्यक्ष मञ्जु ढकाल बुढाथोकीले आर्थिक बर्ष २०८०/८१ को लागी नेपाल सरकारबाट बित्तिय समानिकरण तर्फ संघ सरकारबाट ९ करोड ५३ लाख २२ हजार रुपैयाँ प्राप्त भएको बताए । यस्तै, गाँउपालिकाले आउने आर्थिक बर्षको लागी कुल ३८ करोड, ५१ लाख ४७ हजार ४४९ रुपैयाँको पेश गरेका छन् । जसमा आर्थिक बिकासको लागी ९० लाख, सामाजिक बिकासको लागी ८ करोड, पुर्बाधार बिकास तर्फ १५ करोड २६ लाख, बातावरण तथा बिपद् ब्यबस्थापन तर्फ ३५ लाख, संस्थागत बिकास तथा सेवा प्रबाहमा १४ करोड ४७ हजार रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष बुढाथोकीले बताए । 

एकल पुरुषलाई मासिक भत्ता

चोकदे । नुवाकोटको सुर्यगढी गाउँपालिकाले एकल पुरुषलाई विशेष भत्ता दिने भएको छ । सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ५५ वर्षदेखि ६७ वर्षसम्मका एकल पुरुष (विदुर) का लागि विशेष भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिए ।
    त्यसका लागि बजेट बिनियोजन, कार्यक्रमको सुनिश्चितता सहित कार्यविधि निर्माण गरेर भत्ता उपलब्ध गराउन लागेको घलेले बताए । यो निर्णयले ५५ वर्ष उमेर पूरा भएका एकसय भन्दाबढी एकल पुरुष लाभान्वित हुने भएका छन् ।
    यस्तै गाउँपालिकाले जेष्ठ नागरिकहरूको लागि निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्राथमिकता दिई लागु गर्ने भएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता वडा वडामा वितरण गर्ने, जेष्ठ नागरिक सम्मान तथा सद्भाव कार्यक्रमलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम लागु गरिने भएको छ ।
    सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ लागि ३८ करोड ५१ लाख ४७ हजार ४ सय ४९ रुपैयाँ पारित गरेको हो ।

No comments:

Post a Comment