विदुर । दुप्चेश्वर गाउँपालिकाको होइमाङ गाउँमा गत हप्ता देखापरेको झाडाबान्ता नियन्त्रणमा आएको छ । दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित होइमाङमा झाडाबान्ताका बिरामीलाई निको भएपछि झाडाबान्ता नियन्त्रणमा आएको हो ।
होइमाङस्थित तामपुन तामाङको घरमा गत साता देखापरेको झाडाबान्ताले दुई बालिकाको ज्यान गएको थियो भने अन्य ६ जना बिरामी परेका थिए । बिरामीको स्वास्थ्यमा क्रमशः सुधार आएको दुप्चेश्वर गापा कार्यालय समुन्द्रटारले जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकोट, जिल्ला अस्पताल त्रिशुली र दुप्चेश्वर गापाका स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार सुरु गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरबहादुर थापाले बताए । उनका अनुसार झाडाबान्ताले नौ जनाको परिवारमध्ये आठ जना सिकिस्त बिरामी भएपछि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार थालिएको थियो ।
उपचारका क्रममा ११ वर्षीया सुनिता तामाङ र पाँच वर्षीया आइसानी तामाङको निधन भएको थियो । उपचारका क्रममा दुई बालिकाको निधन भएपछि रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमा खटाइएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचाररत परिवारका बाँकी ६ सदस्य घर फर्किएका छन् । होइमाङमा झाडापखाला देखिएपछि स्वास्थ्य टोली परिचालित भई अनुगमन, स्वास्थ्य परीक्षण र उपचार, नमूना संकलन (दिशा तथा पिउने पानी) तथा औषधि वितरण गरिएको थियो ।
‘रोग फैलन सक्ने जोखिम भएकाले स्वास्थ्यकर्मीको टोली गाउँमा खटाएका छौँ । बिरामीको परिवारलाई पनि स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ’, अध्यक्ष थापाले भने । उनीहरूलाई झाडाबान्ता लाग्नुको कारण ‘फुडपोइजन’ देखिएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् ।
झाडाबान्ता लागेपछि गाउँको स्वास्थ्य संस्थामा पुगेका उनीहरू थप उपचारका लागि अस्पताल नलगेकाले झाडावान्ताको सङ्क्रमण फैलिएको अध्यक्ष थापाको भनाइ थियो । झाडापखालाको समस्या देखिएको स्थान तामाङ समुदायको बसोबास रहेको स्थान हो ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, June 26, 2023
झाडाबान्ता नियन्त्रणमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment