Monday, June 12, 2023

कृषि उत्पादन गाउँपालिकाले किनिदिने

पञ्चकन्या । कृषि उपज बिक्री भएन ? अब चिन्ता नलिनुस् । यो चिन्ता लिन नपर्ने चाँही पञ्चकन्या गाउँपालिकाका किसानहरूले हो । गाउँपालिकाले ‘कृषकको ग्राहक गाउँपालिका’ कार्यक्रम अन्तर्गत किसानले उत्पादन गरेका कृषि उपजहरू बजारमा बिक्री नभएमा गाउँपालिकाले खरीद गर्ने कार्यक्रम अघि सारेको छ ।
    गएको शुक्रबार घलेभञ्ज्याङमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले बजारमा बिक्री हुन नसकेको किसानको उत्पादन गाउँपालिकाले खरीद गर्ने र खरीद गरेको कृषि उत्पादनको पालिकाले नै बिक्री गर्ने र यदी बिक्री नभएमा उपभोक्तालाई सित्तैमा वितरण गरिने बताए । चालु आर्थिक वर्षमा नै ‘कृषकको ग्राहक गाउँपालिका’ कार्यक्रमको लागि बजेट विनियोजन गरिए पनि कोही किसानहरू पनि आफ्नो उत्पादन बजारमा बिक्री भएन किनिदिन प¥यो भनेर नआएको अध्यक्ष तामाङले बताए । उनले यो आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताए ।
    अध्यक्ष तामाङ किसानहरूले आफ्नो उत्पादन खेर नजाओस्, बजार नपाएर कृषि कर्मबाट विमुख हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको बताए ।
    पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९÷८० मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता सम्बन्धी आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले विभिन्न विषयमा सवालहरू उठाएका थिए । धेरैजसो प्रश्नहरू सडक, कृषि, पूर्वाधार लगायतमा आएको थियो ।
    कर्मचारीको कमीले परेका समस्याहरू, बालविकास तथा शिक्षाका सवालहरू, निर्माण थालेर अलपत्र छाडिएको विकास निर्माणको कारण भएको जोखिम, समयमा काम सम्पन्न गराउनका गाउँपालिकाको भूमिका लगायत विषयमा पनि सहभागीहरूले गाउँपालिकाका जिम्मेवार पदाधिकारीलाई प्रश्न उठाए ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरूको गाउँपालिका अध्यक्ष तामाङ, उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले जवाफ दिएका थिए ।
    कार्यक्रममा गाउँपालिकाको चालु आर्थिक वर्षको गतिविधी, प्रगतिको अवस्थाको बारेमा प्रमुख प्रशासकीय अधिकृत काफ्लेले जानकारी दिएका थिए । कार्यक्रममा स्थानीयबासी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, संघसंस्थाका प्रतिनिधीहरू, कर्मचारीहरूको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment