![]() |
दुई वर्षअघि पञ्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालय कविलासबाट ५३ लाख चोरी गर्दैको अवस्थाको सिसिटिभी फुटेज । तस्बिर : इमेज फाइल |
विदुर । दुई वर्षअघि पञ्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालय कविलासबाट हराएको ५३ लाख रुपैयाँ कसले चोरेको भनेर अझै पत्ता लाग्न नसकेपछि स्थानीयबासी अन्यौलमा परेका छन् । नुवाकोट जिल्ला अदालतमा विचाराधीन मुद्दामा प्रतिवादीहरूले सफाई पाएसँगै रकम कसले चोरेको भनेर थप अन्यौल परेको हो ।
उक्त रकम हराएको घटनामा पञ्चकन्या गाउँपालिका वडा नं. २ का तत्कालिन वडाअध्यक्ष ध्रुवप्रसाद मिश्रको जाहेरीमा तीन जना आरोपित छन् । तत्कालिन वडासचिव सरिता रावत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई प्रतिवादी बनाइएको छ ।
‘अपराधिक विस्वासघात’ शीर्षकमा जिल्ला अदालतमा मुद्दा चलेको सरकारवादी यो मुद्दाले प्रतिवादीहरूले गत वैशाख १३ गतेको फैसलाबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले गरेको अन्तिम फैसलामा अभियोग दावी नपुग्ने उल्लेख गरिएको छ ।
फैसलाको विस्तृत विवरण सार्वजनिक भएको छैन । फैसलाका पूर्णपाठ आएपछिमात्र के के आधारमा प्रतिवादीहरूमाथि लागेको अभियोग दाबी नपुग्ने उल्लेख गरिएको थाहा हुने सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता टेकराज भुसालले बताए । ‘के आधारमा अभियोग दाबी नपुग्ने भन्ने फैसलाको पूर्णपाठ आएपछि थाह हुन्छ ।’
जिल्ला अदालतमा मुद्दा हारेपछि जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालतमा मुद्दा लिएर जाने तयारी थालेको छ । जिल्ला न्यायाधिवक्ता भुसालले फैसलाको पूर्णपाठ आएपछि उच्चमा जाने बताउँछन् । उनले जिल्लाबाट अभियोग दाबी नपुग्ने फैसला आउँछ भन्ने नलागेको बताए ।
रकम हराएको घटनाको आवश्यक बलियो प्रमाणहरू पेश गरेको र अभियुक्त तीन जनाको पोलीग्राफ परीक्षण हुँदा पनि एक जनाले झुटो बोलेको परीक्षण प्रतिवेदनसमेत रहेको भुसालले बताए । जिल्ला न्यायाधिवक्ता भुसालका अनुसार आरोपितमध्ये कार्यालय सहायक रामकुमार गिरीले झुटो बोलेको पोलीग्राफ प्रतिवेदनसमेत संलग्न रहेको छ ।
सरकारले अपराधिक विस्वासघातमा मुद्धा चलाएको हो । मुलुकी अपराध संहिताको दफा २५२ मा अपराधिक विस्वासघात गर्न नहुने विषय उल्लेख गरिएको छ । उक्त दफामा उल्लेख गरिएको छ– ‘आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा र अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफू वा अरु कसैलाई फाइदा पुर्याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पु¥याएमा’ अपराधिक विस्वासघात गरेको ठहरिने लेखेको छ ।
यस्तै कसैले अपराधिक विस्वासघात गरेकामा हुने सजाय पनि उल्लेख गरेको छ । ‘कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पु¥याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना’ हुने सकेत उल्लेख गरिएको छ ।
जिल्ला अदालतले आरोपितहरूलाई सफाई दिएपछि उक्त रकम चोर को हो पत्ता लगाई दिन सरोकारावाला निकायहरूसँग पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आग्रह गरेका छन् ।
५३ लाख सरकारी पैसा कार्यालयबाट हराउनु भनेको गम्भीर विषय हो । यसलाई राज्यका निकायहरूले पनि गम्भीरतापूर्वक लिएका छन् । तर, अदालतबाट नै आरोपितले सफाई पाएपछि अब ५३ लाखको चोर को हो ? भन्ने प्रश्न पेचिलो बनेको छ ।
उक्त रकम २०७७ चैत २४ गते राती चोरी वडा कार्यालयबाट चोरी भएको थियो । सामाजिक सुरक्षाको रकम चोरी भएपछि पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिला तथा दलित बालबालिकाले दुई वर्षअघिको सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् ।
No comments:
Post a Comment