Monday, July 03, 2023

घरमै नागरिकता

 घरमै नागरिकता

विदुर । नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं ६ निवासी शारिरिक रुपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । जन्मजात नै शारिरिक रुपमा कमजोर भएको कारण हिडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले गएको मंगलबार घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
    उक्त वडाको वडाध्यक्ष नारायणप्रसाद रिमालले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पुगेर आवश्यक कागजात सहितको सिफारिस तयार गरेसगैँ उनलाई प्रशासन कार्यालयबाट प्रजिअ थापा सहित सहायक प्रजिअ बेदनिधी अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा सहितले घरमा नै पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागकिताको प्रमाणपत्र उपलब्ध गराए । शारिरिक रुपमा पूर्ण अशक्त रिमाललाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता बापतको रकम पाउन समस्या भएको जानकारीमा आएकाले घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ किरण थापाले बताए ।
    उनका अनुसार शारिरिक रुपमा कमजोर भएका तथा हिडडुल गर्न नसक्ने नागरिकहरूको हकमा घरमै गएर नागरिकता प्रदान गरिने भएकाले त्यस्तो कोही भएमा सम्पर्कमा आउनको लागी पनि अनुरोध गरिएको छ । घरमा नै नागकिरता प्राप्त गरेसगैँ खुसी हुनुभएका सन्तोषीको बुबा तोयबहादुर रिमालले असक्त छोरीलाई स्याहारसुसार तथा रेखदेखमा समस्या हुने गरेको गुनासो गरेका छन् । राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाईको सामाग्रि खरिद गर्न समेत नपुग्ने गुनासो गर्दै शरिर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनु र एक जना हेरालु खटिनुपर्ने भएकाले दीर्घकालीन सहयोगको कार्यक्रम भएमा प्रभावकारी हुने घरमै नागकिरता पाउनुभएका सन्तोषीको बुबा तोयबहादुर रिमालले बताए ।

No comments:

Post a Comment