Monday, July 03, 2023

मानवअधिकार सम्बन्धी छलफल

 मानवअधिकार सम्बन्धी छलफल

विदुर । नुवाकोटको मानवअधिकारको विषयमा सोमबार विदुरमा सरोकारवालाहरूबीच छलफल सम्पन्न भएको छ ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाहरूले जिल्लामा मानव अधिकारसँग जोडिएका विभिन्न विषयमा छलफल भएको थियो । कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णबहादुर ओलीले पीडितलाई ‘होस्टाइल’ हुन नदिनको लागि संघसंस्था र नागरिक समाज, मानवअधिकारकर्मीहरूको भूमिका रहेको बताए । उनले ऐनले साक्षी संरक्षणको व्यवस्था गरेपनि पनि पीडकबाट होस्टाइल हुँदा मुद्दा कमजोर हुने गरेकोले यसलाई रोक्न सबैको ध्यान पुग्नु पर्ने बताए ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले जिल्लामा पोके व्यापारीलाई निषेध भन्ने विषयमा चासो दिंदै राज्यलाई कर तिरेर व्यवसाय गर्नेलाई रोक्न नहुने बताए । उनले बालबालिकामाथि बढी हिंसा हुने गरे पनि त्यसलाई कानूनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।
    कार्यक्रमम जिल्ला कारागारका प्रमुख गंगालाल योगीले कारागारको आधारभूत आवश्यकता पुरा गराउनको लागि सरकार ध्यान नदिएको कारण कैदी बन्दीलाई असुविधा भईरहेको बताए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य धु्रबकुमार रावलले कुनै एउटा संस्थाले जिल्लामा व्यवसाय गर्न निषेध गर्न नपाउने बताउँदै दर्ता गरेर पनि कसैले झोलामा सामान राखेर बिक्री गर्दछ भने त्यसलाई रोक्न नहुने बताए । उनले पोके व्यवसायीको मानवअधिकार हनन भएको बताए ।
    कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष लोचन भट्टराईले मानवअधिकारको दृष्टिमा अपांगता भएकाहरूको सवाललाई प्राथमिकता दिनुपर्ने बताए ।  नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष देवराज कँडेलले बालबालिकाहरूलाई विद्यालयहरूले प्रवेश परीक्षाको नाममा मानसिक तनाब दिएर बालबालिको विद्यालय छनौट गर्न पाउने अधिकारको हनन गरिरहेको विषय छलफलमा नै नआएको बताए ।  
    महिला मानवअधिकार रक्षकहरूको सञ्जाल नुवाकोटकी पूर्वअध्यक्ष शर्मिला थापामगरले आर्थिक अभावका शिक्षाबाट बञ्चित बालबालिकाहरूलाई स्थानीय सरकारले अभिभाकत्व लिएर शैक्षिक पहुँचमा लैजानको लागि मानवअधिकारकर्मीहरूले दबाब दिनुपर्ने बताइन् ।  
    मनोपरामर्शदाता रुपा राईले मानवअधिकारबाट पीडित भएकाहरूलाई उचित परामर्श दिएर मनमा परेको चोटबाट मुक्त गराउन आवश्यक रहेको बताइन् ।
    कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी नवदीप श्रेष्ठले सन् २०२३ को जनवरीदेखि जुन २५ सम्म बलात्कारका ९ वटा, बलात्कार प्रयासका ६ वटा, बहुविवाहका ४ वटा, कर्तव्य ज्यानको एक वटा घटना भएकोे जानकारी दिएका थिए ।

No comments:

Post a Comment