Monday, July 03, 2023

असार १५ : सुकिलालाई मात्रै रमाइलो

ब्यारेक भित्र नेपाली सेनाको जबरजंग गणले तयार गरेको एउटा गरोमा रोपाइँ गर्दै सरकारी अधिकारीहरू 

विदुर । धान खेतीका नुवाकोट पनि प्रसिद्ध जिल्ला हो । केही वर्षअघिसम्म धान खेती यहाँका अधिकांश किसानको मुख्य पेशा हुने गरेको थियो । पछिल्लो समय भने अव्यवस्थित भवन निर्माण र बजारिकरणले गर्दा खेतीयोग्य जमिनको आकार तीव्र रुपमा घट्दो छ । यद्यपि असार १५ अर्थात् धान दिवसमा यहाँ रोपाइँका औपचारिक कार्यक्रम भव्य रुपमा मनाउने गरिएको छ । यसपटक दुई दर्जन भन्दा बढी स्थानमा असार १५ मा विभिन्न औपचारिक कार्यक्रमहरू भए । मन्त्रीदेखि किसान नेताहरूको समेत उपस्थितिमा नुवाकोटमा छुट्टाछुट्टै कार्यक्रमहरू भए ।
    स्थानीय सरकार, संघीय सरकारका बेग्लाबेग्लै कार्यक्रम र किसानका पनि बेग्लाबेग्लै कार्यक्रमले असार १५ नुवाकोट जिल्लामा गौडागौडामा ‘रमाइलो’ बन्यो । त्यसो त नुवाकोटमा मात्रै हैन, अधिकांश जिल्लाहरूमा मन्त्रीहरूसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू आफ्ना संगठनका ब्यानरसहित खेतमा उपस्थित भएका छन् । वास्तविक किसान भने कहिले मल अभावमा त कहिले बाढीपहिरोले बाली बगाइदिँदा समस्यामा पर्ने गरेका छन् । लम्पी स्किन संक्रमणले गोरु थलिएर रोपाइँका लागि तयार नहुँदा ठूलो संख्यामा किसानको रोपाइँ नै प्रभावित बन्न पुगेको छ ।
    मन्त्री, सांसद तथा दलका नेताहरू खेतमा पुगेर धान रोपेका तस्बिर त खिचाए । तर हरेक वर्ष किसानलाई चिन्तित बनाइरहेको मल अभाव र लम्पी स्किनको समाधान भने नेताहरूले पनि दिन सकेनन् ।
    यस्तैमा नुवाकोटका प्रायः वास्तविक किसानहरूले भने रोपाइँ कार्यक्रम गर्न खेतमा पुगेका जनप्रतिनिधिलाई सहजै मल नपाएको गुनासो गरेका छन् । रोपाइँको मौसम सुरु भए पनि सरकारले सर्वसुलभ रुपमा रासायनिक मल उपलब्ध नगराउँदा रोपाइँ नै प्रभावित भएको उनीहरूको गुनासो छ । धान दिवसका अवसरमा नुवाकोटको गेर्ख‘टार, मदानपुर, तादी, पञ्चकन्या, ककनी लगायतका स्थानमा शुक्रबार भएको धान महोत्सव सहभागी किसानहरूले अतिथिसँग रासायनिक मल उपलब्ध गराइदिन माग गरे । कार्यक्रममा सहभागी अतिथिहरूले पनि पहल गर्ने आश्वासन दिए । सबै कार्यक्रम हेर्दा किसनालाई झन् बढी चटारो र दुःख देखिन्थ्यो, अतिथि आएकालाई ‘रमाइलो’ ।
    बेलकोटगढी नगरपालिको बासुकी फाँटमा धान दिवस तथा रोपाइँ महोत्सवमा पर्यटन तथा नागरिक उड्डन  राज्यमन्त्री सुशीला शेर्पाली ठकुरीले किसानहरूको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताइन् । कृषिप्रधान देश नेपालमा किसानलाई समस्या परेको र यसको समाधान सबै पक्षको सहकार्यबाट गरिने उनको भनाइ छ । कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोग गरेर उत्पादन बढाई युवा पलायन हुने कार्य नियन्त्रण गरिनुपर्ने राज्यमन्त्री ठकुरीले बताइन् । मदानपुर बासुकीफाँटमा भएको रोपाइँ महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामासहित किसानहरूले धान रोप्दै ‘रमाइलो’ गरे । 

बेलकोगढी  नगरपालिकाको बासुकीफाँटमा असार १५ गते हिलोखेल्न खेतमा पसेकाहरू ‘अतिथिहरू’

No comments:

Post a Comment