एसईईपछि रोजगारमुलक शिक्षा
किशोराबस्थाको मध्य अवस्थामा पुगेका कारण विद्यार्थीले यो समयमा के गर्ने भनेर निक्र्योल गर्न सकेका हुँदैनन् । ठीक त्यसरी नै एसईईको नतिजापछि पनि कुुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने निक्र्यौल गर्न मुश्किल छ । विद्यार्थीले साथीको लहलहैमा लागेर वा कलेजको प्रभोलनमा परेर विषय तथा कलेज छनोट गर्नु हुँदैन । कलिलो उमेरका विद्यार्थीहरू साथीहरूको लहलहैमा लागेर, बिल्डिङ राम्रो देखेर, विज्ञापन राम्रो देखेर, कतिपय अवस्थामा कलेजको युनिफर्म राम्रो देखेर, स्कुलका सवारी साधन राम्रो देखेर, लामो कपाल राख्न पाउने भएर, लामो दूरीको स्वदेश वा विदेशको भ्रमण अवसर हुने भएर पनि कतिपय विद्यार्थीले स्कुल वा कलेज रोज्ने गरेको पनि पाइन्छ । आफ्नो रुची, चाहना र क्षमता सबैभन्दा बढी आफैलाई थाहा हुन्छ । आफूले अध्ययन गर्न सक्ने विषय वा शैक्षिक धार र भोलि मार्केटमा रोजगारी पाउने र गुणस्तरीय जीवन जीउन सकिने हुन्छ भनि विचार गरेर छनोट गर्न‘पर्ने हुन्छ । विद्यार्थीले पनि आफ्नो रुचि, चाहना र क्षमताको विषय क्षेत्रको बारेमा थप परामर्शको लागि आफ्ना अभिभावक, आफूले अध्ययन गरेको विद्यालयका शिक्षक, शिक्षिकाहरूसँग पनि परामर्श लिई, आफूले अध्ययन गर्न चाहेको विद्यालयको विगतको रिजल्टको अवस्था, शैक्षिक सुविधाका विषयहरूमा विभिन्न माध्यमबाट सूचना लिई आफ्नो अनुकुलको विद्यालयको छनोट गर्दा उपयुक्त हुन्छ । कक्षा ११ र १२ पढाइ हुने निजी तथा सार्वजनिक विद्यालयको वेवसाइटबाट पनि कुन कलेज कस्तो ? भनी छुट्याउन सक्ने उपाय बताउँदै विद्यार्थीले मात्र नभएर अभिभावकले पनि त्यसबाट विद्यालयमा कस्तो कस्तो विषयको पढाइ हुन्छ भन्ने कुराको जानकारी लिन सक्नुपर्छ । अहिले अभिभावकले विद्यालयको भ्रमण गर्ने, शिक्षक शिक्षिकाहरूसँग शुल्क, पढाइ र सुविधाबारेमा जानकारी लिने, छलफल गर्ने गरेका छन् । तर पनि विद्यार्थी सरल विषय पढेर सहज ढंगले पास हुन सकिन्छ भन्ने कुराबाट पनि प्रभावित हुन्छन् । यसले भोलिको भविष्यमा पर्ने प्रभावबारेमा पनि ख्याल गर्नुपर्ने छ । धेरै विद्यार्थीले जुन विषय पढे पनि ख्याल गरेर अध्ययन गर्नु आवश्यक छ ।
अहिले सही विषय र सही विद्यालय छनौट गर्न सकियो भने एसईईपछिको करिअर राम्रो बनाउन सकिने भएकोले निक्कै ख्याल गर्नु आवश्यक छ । एसईई परिक्षाको प्रतिफल प्रकाशित भएसँगै विद्यार्थीहरू कुन विषय पढ्ने, कुन कलेज पढ्ने भन्ने दुविधामा रहेर कलेजहरू बुझ्न धाइरहेका छन् । अभिभावकहरू पनि आफ्ना नानीहरूलाई फलानो विषय पढ भनेर दबाब दिइरहेका छन् । पढेर पास गर्नसँग मात्र शिक्षा सम्बन्धीत छैन । शिक्षा र रोजगार बीचको तालमेल मिलाउन पनि जरुरी छ । पढाइको अर्थ जान्न र सिक्नमा मात्र सिमित छैन, शिक्षाका सम्बन्ध सिधै रोजगारसँग सम्बन्धीत छ । त्यसरकाण पछिल्लो समय रोजगार मुलक शिक्षाका विषयहरूमा बढी वकालत तथा विश्लेषण हुने गरेको छ । आफ्ना सन्तानलाई रुची अनुसार पढ्न दिनुपर्छ । यसले जुनसुकै विषयमा उत्कृष्टता हासिल गर्न सकिन्छ । तर, रुचीभन्दा बाहिरको विषयहरू जबर्जस्ती लाद्न खोजियो भने यसले विद्यार्थीलाई मनोवैज्ञानिक दबाब दिन्छ । विशेष गरेर अभिभावकको पहिलो रोजाइमा पर्ने विषय हो विज्ञान । यो विषय प्रायः वि प्लस देखि माथि जिपिए ल्याएका विद्यार्थीहरूले पढ्ने गर्दछन् । केही अपवादमा छोडेर हेर्ने हो भने प्रायः अभिभावकहरू पनि आफ्ना वि प्लस देखि माथि ल्याएका छोराछोरीलाई साइन्स पढाउन जर्वजस्ती नै गर्दछन् । विषय छान्ने कुरा विद्यार्थीको क्षमता र रुचीमा भर पर्ने कुरा हो । पश्चिमा मुलुकहरूमा शिक्षा तथा विषय छनोटमा विद्यार्थीको रुचीलाई प्राथामिकता दिइने चलन छ । त्यहाँ आफ्ना सन्तानले म यो विषय पढ्छु भन्दा अभिभावकले उसलाई हौसला र प्रेरणा दिने प्रणाली विकसित छ । पश्चिमा देशहरूमा विद्यार्थीले आफ्नो क्षमता र रुची अनुसारको विद्यालय खोज्ने, आफुले भनेको विषय त्यो कलेजमा पढ्न नपाए अर्को विद्यालयको कोर्ष लिने र त्यसमा अभिभावकले सहयोग गर्ने चलन छ । नेपालमा भने यो परिपाटी यति धेरै विकास भइनसकेको अवस्था छ । सूचना र प्रविधिको विकासले गति लिएसँगै प्राविधिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण बढ्दो छ । समय सापेक्ष शिक्षाको माग पनि दिन प्रतिदिन बढ्दो छ । देश दिगो विकासको गतिमा अधि बढिरहेकाले पनि ग्रामिण विकास, कृषि जस्ता व्यवाहारीक पाठ्यक्रमहरू नभएका हैनन् । तर झन्ट कलेज पढ्ने भन्दा विज्ञान, व्यवस्थापन र मानविकी विषय भन्ने मात्र वुझाइ छ । त्यहाँ भित्र के के विषय पर्दछन् ? कस्ता विषयहरू छनोट गर्ने हो ? कुन विषयले आफ्नो रुचीलाई पूरा गर्छ भन्ने विद्यार्थीहरूले कमै सोच्दछन् भने अभिभावकहरू त अझ अनविज्ञ छन् । प्रत्येक विद्यार्थीमा केही न केही विशेषता हुन्छ, मात्र त्यसलाई चिनेर त्यही अनुसारको विषय छनोट गर्ने हो भने त्यो विद्यार्थी पढाईमा मात्र होइन व्यवहारिक जीवनमा पनि सफल हुन्छ ।
रोजगारीको तिब्र प्रतिस्पर्धा भइरहेको समयमा ‘मार्केट भ्यालु’ रिसर्च गरेर पढ्दा पनि सफलता प्राप्त हुने धेरै शिक्षाविदहरूको मत छ । धेरै शिक्षाविदहरू पुराना विषयहरू भन्दा पनि प्राविधिक धारका तथा विश्व बजारसँग विक्ने विषयहरू छान्न विद्यार्थीहरूलाई सुझाव दिइरहेका छन् । अहिलेको युग बिज्ञान प्रबिधिको युग हो । तसर्थ आफ्नो क्षमता भएका विद्यार्थीले होटल म्यानेजमेन्ट, कम्युटर साइन्स, कम्युटर इन्जिनियर, सिविल इन्जिनियरिङ, नर्सिङ, मेकानिकल इन्जिनियरिङ, कृषि विज्ञान लगायतका प्राविधिक विषय अहिले नेपाल जस्तो देशमा राम्रो स्कोप छ । विदेशमा पनि यस्तै प्राविधिक विषय नै बिक्छ । माध्यमिक शिक्षा अर्थात कक्षा १२ को परीक्षा सम्पन्न भएपश्चात् धेरै विद्यार्थीहरूको गन्तव्य वैदेशिक शिक्षा र त्यहाँको रोजगारसँग सम्बन्धीत छ । नेपालबाट अष्ट्रेलिया, युरोपियन देशहरू, अमेरिका लगायतमा गएर पढ्ने तथा त्यतै करियर बनाउन खोज्नेको विद्यार्थीहरूको सपना दिन प्रतिदिन बढ्दो छ । त्यसकारण पनि एसईई परीक्षा पश्चात् रोजाइमा पर्ने विषयहरूनै त्यी देशहरूमा करियर बनाउने आधार हुन् । कुनै पनि विषय आफैमा सम्भावना नबोकेका हुँदैनन् । सबै विषयले आ–आफ्नो क्षेत्रमा विषयगत विज्ञता प्रदान गर्दछ । तर, पढ्ने विद्यार्थीको आवश्यक्ता र चाहनसँग मिल्नु पर्दछ । यस्तै अभिभावकले पनि आफ्ना सन्तानको सफल भविष्यकालागि सन्तानलाई के विषय पढाउने सोच्नु पर्दछ । सन्ताको रुची के हो ? उसको क्षमता कति छ भन्ने जस्ता पक्षलाई विश्लेषण गरेर सन्तानलाई सहि परामर्श दिन जरुरी छ । समयको माग के हो ? रोजगारमुलक शिक्षा कस्तो हुन्छ र कस्ता कस्ता शिक्षा रोजगारमुलक हुन् भन्ने अभिभावक प्रष्ट हुनुपर्दछ । एसईई परीक्षाको मुखमा कतिपय कलेजहरूले बढी भन्दा बढी राम्रा र उच्च अंक ल्याएका विद्यार्थी भित्राउने दाउमा आकर्षक विज्ञापन गर्न थाल्छन् । विज्ञापन र सरकारी अनुगमन कमजोर भएकोले कलेजहरूले अन्योल बनाइदिन्छ । यस्तो अवस्थामा विद्यार्थी स्वयम चनाखो बन्नुपर्छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Thursday, July 13, 2023
२०८० साल असार २५ गतेको सम्पादकीय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment