![]() |
विदुर नगरपालिका– १० मा रहेको तिरतिरे भीर बग्ने क्रम स्थायी रुपमा नियन्त्रणमा आएको छैन । |
विदुर । नेपाललाई भारत र चीनसँग जोड्ने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडकको निर्माण कार्य भइरहेको छ । सडक निर्माणका लागि आठौं पटक थपिएको म्यादसमेत २०८० साल असार २५ गते सकिँदैछ । फेरी म्याद थपेर निर्माण कार्य गर्न‘पर्ने अवस्था रहेको छ । पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको विदुर हुँदै रसुवाको बेत्रावती–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी मार्गसम्म जोड्ने सरकारी योजना अनुसार दुई लेनको पक्कि मोटरबाटो निर्माण भइरहेको छ ।
हाल विदुर–वेत्रावती सडकखण्डको बीचमा रहेको तिरतिरे भीरको माटो तथा पहिरो सफाई गर्ने कार्य भइरहेको छ । विदुर नगरपालिका– १० मा रहेको तिरतिरे भीरमा स्काभेटरलगायतका आवस्यक उपकरणमार्फत भीर सफाई गर्ने कार्य भइरहेको गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजना प्रमुख ध्रुवकुमार श्रेष्ठको भनाई छ । उनका अनुसार हाल यस सडक अन्तर्गत रहेको विभिन्न स्थानमा सडक निर्माण तथा विस्तार कार्य भइरहेको छ । सो सडकमार्गको काम हाल ५० प्रतिशतभन्दा धेरै निर्माण कार्य सकिएको छ ।
रसुवागढी हुँदै केरुङ जोड्नका लागि गत आ.व २०७२/०७३ देखि निर्माण सुरु भएको सो गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक ८२ किलोमिटर दुरीको निर्माण भइरहेको छ । जसमध्ये नेपाल सरकारले ६५ किलोमिटर र चीन सरकारको अनुदानमा १७ किलोमिटर निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो सडकको हालसम्म ३५ किलोमिटर कालोपत्रे गरिसकिएको र हाल सडक चौडा, देवा पर्खाल निर्माण र नाली निर्माणको कार्य भइरहेको छ । कुल १५ अर्ब ५० करोड रुपैयाँ लागत रहेको सो सडक आयोजनामा हालसम्म आठ अर्ब ७५ करोड रुपैयाँ खर्च भइसकेको छ ।
हालसम्म तीन अर्ब २५ करोड मुआव्जा तथा क्षतिपूर्तिका लागि र सांढे पाँच अर्ब निर्माणको काममा खर्च भइसकेको छ । सडकमार्गको बीचमा ३२ वटा पुल निर्माण गर्न‘पर्नेमा १३ वटा निर्माण सम्पन्न भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए । जसमध्ये पाँचवटा पुल निर्माणाधिन र चार वटा पुलको ठेक्का प्रक्रिया भइरहेको छ । सडकका लागि सातसय ६६ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । यस सडक डवल लेनको हुने र केन्द्रविन्दुबाट १५/१५ मिटर हुने आयोजना प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए । उनका अनुसार निर्माण गरिएको सडकमा ११ मिटर चौडाइमा कालोपत्रे र सात मिटरको अल्फाल्ट पिच गरिएको छ । चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा आएसँगै कारोबारमा सहज भएको छ । मालबाहक कन्टेनर तथा साना सवारी साधन उक्त सडकखण्डबाट आवतजावत गरिरहेका छन् ।
त्यसो त, राष्ट्रिय गौरवको योजना अन्तर्गत धादिङ जिल्लाको गल्छीदेखि नुवाकोटको विदुर–ढुङ्गे–बेत्रावती हुँदै रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढीसम्म निर्माणाधीन सडक निर्धारित समयमा सम्पन्न नहुँदा सडक प्रयोगकर्ताले सास्ती व्यहोर्न‘ परिरहेको छ । यो सडकमार्गको देवीघाटपारिको पहिरो र भैँसेनजिकको तिरतिरे पहिरो नियन्त्रण नहुँदा पानी पर्दा सडक घण्टौँ अवरोध भइरहँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना अन्तर्गत ढुङ्गे–बेत्रावती खण्डको तिरतिरेभिर क्षेत्रको सडक र देवीघाट पुलसँगैको जिलिङको पहिरो समयमा नियन्त्रण नहुँदा वर्षा हुनासाथ अवरुद्ध हुने गरेको छ । उक्त दुवै क्षेत्रको पहिरो नियन्त्रणका लागि ठेक्का भएर ठेकेदारले काम अगाडि बढाइसकेका छन् । तर, ठेकेदारले ती क्षेत्रको डाँडोको माटो मात्रै खनेर छाडिदिएकाले वर्षा हुनासाथ लेदोसहितको भलपानी दुई–तीन फिटसम्म सडकमा जम्मा हुने गरेको छ ।
विदुर नगरपालिका–१० को १ नम्बर पुलदेखि भैँसेसम्मको सडकमार्गमा दैनिक सयौँ सवारीसाधान फस्ने गरेका छन् । गत महिना जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी किरण थापाको कार्यकक्षमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको प्रतिनिधि, तिरतिरेभिरको पहिरो र देवीघाटपारिको पहिरो नियन्त्रणका लागि जिम्मेवारी पाएको ठेकेदार कम्पनीका प्रतिनिधि र अन्य सरोकारवालाबीच भएको छलफलमा बर्खाभरि हेभी इक्युपमेन्टसहित प्राविधिक जनशक्ति ठेकेदारले उक्त क्षेत्रमा व्यवस्था गर्ने सहमति भएको थियो । उक्त सहमति भएको महिना दिन बितिसक्दा पनि दुवै क्षेत्रमा वर्षा हुँदा सडकमा थुप्रेको लेदो हटाउन सवारीचालक आफैँ सक्रिय हुनुपरेको छ । दुवै पहिरोको क्षेत्रमा योजना कार्यालय, ठेकेदार कम्पनीको प्राविधिक र उपकरण नदेखिएको सडक प्रयोगकर्ताहरू बताउँछन् ।
पानी आएपछि माथिबाट बगेको पानीसहितको लेदोले सडक पुरिने गरेको छ । सडक अवरुद्ध हुने गरेको जानकारी ठेकेदार र योजना कार्यालयलाई गराए पनि बेवास्ता गरिरहेका छन् । सडक अवरुद्ध हुँदा दैनिक सयौँ सवारीसाधन र स्थानीय सडक प्रयोगकर्ताले हैरानी र सास्ती पाइरहेका छन् । पहिरो नियन्त्रण गर्न ठेक्का लगाएको काम सुस्त गतिमा भएकाले र अहिले स्थगितजस्तै भएको छ । पहिरो नियन्त्रणको काम पूरा गरिसक्नुपर्ने समयमा मुख्य काम नै नहुँदा सडकमार्ग वर्षा हुँदा हिउँददेखि नै अवरोध हुँदै आएको थियो ।
यो क्षेत्रको वैकल्पिक मार्गको भैँसे, तुप्चेको त्रिशुली नदीको पुलको वारिपारिको दायाँबायाा भाग निर्माण भइरहेकोले वर्षात् भएपछि रसुवागढीदेखि आएका सवारीसाधन घण्टौँ यस क्षेत्रमा रोकिनुपर्ने बाध्यता छ । बेत्रावती, भैँसे र त्रिशुली, ढुङ्गेका स्थानीयको सवारी आवत–जावतमा दैनिक अवरोध हुने गरेको स्थानीयहरूले जानकारी दिए । दैनिक यो सडकको दुर्दशाबारे जिल्ला प्रशासन कार्यालयदेखि सडक योजना कार्यालयलाई जानकारी गराउँदा पनि पहिरो पन्छाउने जिम्मेवारी कसको हो थाहा हुन नसकेको स्थानीय व्यापारी कृष्ण प्याकुरेलले गुनासो गरे । यस भेगका बासिन्दा बजार जान, कार्यालय र अन्य काममा विदुर, त्रिशूली आउन वर्षा हुँदा सकस व्यहोरिरहेका छन् ।
No comments:
Post a Comment