Monday, July 24, 2023

भारतले दियो स्कुल बस

त्रिशुली स्कुलका अध्यक्ष र सहायक प्रअ बसको चाँन्सो बुझ्दै ।

विदुर  । भारतीय राजदूतावासले आज नेपालका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुलबस उपहारस्वरूप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुलबस हस्तान्तरण गरेका हुन् ।
    राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुलबसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखि यसरी सहयोग गर्दै आउने परम्परा रहेको बताए ।
    उपहारस्वरूप नुवाकोटको विदुर नपा–१ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई एक स्कूल बस, किस्पाङ गाउँपालिका–४ साल्मे स्वास्थ्य चौकी र म्यागङ गाउँपालिका वडा नं. ३ देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एम्बुलेन्स प्राप्त भएको छ । नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । त्यसयता भारतले अहिलेसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहारस्वरूप उपलब्ध गराइसकेको दूतावासले जनाएको छ ।

No comments:

Post a Comment