कसरी बढाउन सकिन्छ धानको उत्पादन ?
धेरै नेपालीले खेत हिल्याएर धान रोप्न ठीक पारेका छन् । नेपालमा प्रतिव्यक्ति १३७.५ किलोग्राम चामल उपभोग हुन्छ । यो विश्वभरिमै सबैभन्दा बढी खपत दर हो तर नेपालको आवश्यकतानुसार धान उत्पादन भने हुनसकिरहेको छैन । यसबाहेक सडक विस्तार र राम्रो आम्दानी हुनु भनेको धेरैले चामल खान थाल्नुलाई मानिन थालिएको छ । ब्राण्डेड, मसिना र लामा चामलको माग बढिरहेको छ । कुल अन्न खपतमा चामलको हिस्सा ६७ प्रतिशतसम्म पुगिसकेको छ । धेरै मानिसले मकै, कोदो, फापर, जौ, कागुनो, लट्टे जस्ता परम्परागत पोषक अन्नहरू खान छाडेका छन् । फेरि पनि नेपालीहरूको दैनिक आहारमा ऊर्जाको ४० प्रतिशत र प्रोटिनको २३ प्रतिशत योगदान चामलकै रहेको छ । केवल २० प्रतिशत नेपाली किसानहरूसँग मात्रै कृषिसम्बन्धी उपकरणको उपलब्धता छ । धेरैजसो निर्वाहमुखी खेती गर्ने किसान छन् र त्यो पनि आकाशे पानीका भरमा गरिरहेका छन् । अहिलेसम्म धान नेपालको सबैभन्दा महत्वपूर्ण बाली हो । दुईतिहाइ भन्दा अधिक किसानको आजीविका र आम्दानीको प्राथमिक स्रोत पनि हो । यो देशको संस्कृतिसँग गहिरो गरी जोडिएको छ । नेपालमा धानको उत्पादन अन्तर धेरै छ– प्राप्ति योग्य उत्पादन र सम्भावित उत्पादनबीचको भिन्नता ४५–५५ प्रतिशतका बीचमा रहेको छ । धान उत्पादनमा ठूलो उतारचढाव हुनुले कम उत्पादन भएको स्पष्ट छ ।
अहिलेसम्म धान नेपालको सबैभन्दा महत्वपूर्ण बाली हो । दुईतिहाइ भन्दा अधिक किसानको आजीविका र आम्दानीको प्राथमिक स्रोत पनि हो । यो देशको संस्कृतिसँग गहिरो गरी जोडिएको छ । यसले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ । धान उत्पादन, उत्पादकत्व र नाफा बढाउन राम्रा धानका प्रजातिहरू, चुस्त व्यवस्थापकीय अभ्यासहरू प्रयोग गरेर धानमा आधारित कृषि खाद्य प्रणालीसँग जोड्ने विशेष ज्ञान आवश्यक पर्छ । प्रशिक्षणको अभाव, जलवायु परिवर्तन र मौसमी भिन्नताले हुने वर्षाले त्यस्तो हुनसकिरहेको छैन ।
धान र बजारमा आइपुग्ने अन्य बालीका लागि सीमित बचत आश्चर्यजनक छ । नयाँ प्रविधि प्रयोग गरेर चैते धानको वास्तविक संभावना उजागर ग¥यो भने नेपालमा खाद्यसुरक्षा कायम हुन सक्छ । कोभिड–१९ पछि कृषि क्षेत्रलाई पूर्णरुपले रुपान्तरण गर्न सकिन्छ किनभने नेपालको ९० प्रतिशत भन्दा बढी जनसंख्यासँग अहिले मोबाइल फोन छ जसलाई धानको महत्वपूर्ण विकासको चरणमा प्राविधिक सूचना आदानप्रदानका लागि उपयोग गर्न सकिन्छ । राइस डाक्टर, राइस क्रप म्यानेजर र वी राइजजस्ता निर्णय गर्न सहयोग गर्ने प्रविधिहरू पनि उपलब्ध छन् यद्यपि तीमध्ये केहीलाई नेपाल अनुकूल बनाउनुपर्ने हुनसक्छ । नेपालको नेशनल एग्रिकल्चर एण्ड रिसर्च सिस्टम (एनएआरईएस) मा दक्ष जनशक्तिको अभाव छ, र भएका पनि नवीनता र विज्ञान प्रविधिमैत्री छैनन् । यसबाहेक त्यसको संस्थागत संरचनाले विद्यमान निर्वाहमुखी धान उत्पादन प्रणालीलाई प्रविधिमा आधारित प्रणालीमा रुपान्तरण गर्न तयार देखिंदैन ।
धानको उत्पादकत्व बढाउने मुख्य प्रविधि नै असल र उन्नत जातको बिउ छनोट गर्नु हो । नेपाल धान उत्पादनका लागि उर्वर भूमि हो । तराईदेखि मध्यपहाड र हिमाली प्रदेशको ३०६० मिटर उचाइसम्म धानखेती गरिएको पाइएको छ । धानले खाद्य सम्प्रभुतामा महत्वपूर्ण योगदान पु¥याएको भए पनि देशको मागबमोजिम चामल आपूर्ति हुन नसक्दा देशले थुप्रै वैदेशिक मुद्रा व्यय व्यहोर्नुपरेको छ । विगतको कृषि तथ्याङ्कलाई केलाउने हो भने नेपालमा धानको उत्पादकत्व र उत्पादन बढ्दै गएको देखिन्छ । यसरी धानको उत्पादन र उत्पादकत्व बढ्दै जाँदा पनि देशले प्रत्येक वर्ष अर्बौं रुपैयाँको चामल आयात गर्दै आएको छ । विश्वका अन्य धान उत्पादन गर्ने मुलुकको तुलनामा हाम्रो देशको उत्पादकत्व कम छ । यसको प्रमुख कारण भनेको हाम्रो परम्परागत खेती प्रणाली, समयमा रासायनिक मलको अभाव, यान्त्रिकीकरणको कमी, महँगो ज्याला, खेतमा श्रम गर्ने व्यक्तिको अभाव, असल बिउको स्रोतमा पहुँचको कमी, रैथाने बिउको अत्यधिक प्रयोग, कृषि अनुसन्धान र विकासमा सरकारको उदासीनता आदि हुन् ।
करिब ३०–४० वर्ष पहिलेसम्म नेपालबाट धान–चामल भारत निर्यात हुन्थ्यो । तर, आज नेपालले बर्सेनी भारतबाट अर्बौं रुपैयाँको चामल आयात गर्छ । जबकि, त्यतिवेला नेपालमा धानको उत्पादकत्व आजको भन्दा निकै कम अर्थात् करिब दुई मेट्रिक टन प्रतिहेक्टरजति थियो । यसरी धानको उत्पादन र उत्पादकत्व बढ्दै जाँदा पनि आयात बढ्नुको मुख्य कारण नेपालीको खाने बानीमा परिवर्तन र सडक सञ्जालको विकासलाई लिन सकिन्छ । पहिलेका दिनमा विशेषगरी पहाडी र हिमाली क्षेत्रमा पक्की सडक सञ्जालको राम्रो व्यवस्था थिएन, जसले गर्दा त्यस भेगमा बस्ने आमनेपाली नागरिक दैनिक खानाका रूपमा मकैको ढिँडो र कोदोको रोटी बनाएर छाक टार्ने गर्थे । तर, पक्की सडकको निर्माण भएसँगै त्यस भेगका नागरिकको खानपिनमा व्यापक परिवर्तन देखियो । उनीहरूको प्राथमिकता चामलमा प¥यो । आजसम्म आइपुग्दा अधिकांश नेपालीको दैनिकी चामलको भातसँगै फेरिएको छ । यसैगरी, चामल आयात हुनुको अर्को प्रमुख कारणमा धानका खेतहरू अव्यवस्थित रूपमा ‘प्लटिङ’ परिवर्तन हुँदै जानु हो । जुन खेतमा धानका बालाहरू झुल्नुपर्ने हो, त्यो खेतमा बस्ती बस्न थालेको छ । यसकारण धान उत्पादन हुने उर्वर भूमि संकुचित हुँदै गएको छ र नेपालमा धानको आयात बढेको छ । बहुसंख्यक नेपाली वैदेशिक रोजगारीमा छन् । उनीहरूको आयस्तरमा वृद्धि भएको छ, खाद्यान्न किन्न सक्ने क्षमता बढेको छ । नेपाली समाजमा बास्नादार र मसिनो चामलको भात खानुलाई प्रतिष्ठाको रूपमा लिइन्छ । चामलको भात खानु प्रतिष्ठासँग गाँसिएको भएकाले पनि अधिकांश नेपाली आयातीत चामल किनेर दैनिकी चलाउने गर्छन् । चामल आयात बढ्नुका अन्य प्रमुख कारणमा धान लगाउने वेला रासायनिक मलको अभाव हुनु, खेतमा पर्याप्त सिँचाइ सुविधा नहुनु, उन्नत जातको बिउभन्दा रैथाने जातको बिउ प्रयोग गर्नु, उत्पादित धान चामल भण्डारण क्षमता कमी, समयमा बिउ उपलब्ध नहुनु, किसानले मौसम पूर्वानुमान गर्न नसक्नु वा मौसमसम्बन्धी जानकारी समयमै पाउन नसक्नु, धानखेतीमा यान्त्रीकरणको अभाव आदि हुन् ।
नेपाल सरकारले दीर्घकालीन धान मिसन कार्यक्रम सञ्चालन गर्नु जरुरी देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका धान ब्लक, धान जोन कार्यक्रमलाई निरन्तरता दिन जरुरी छ, तिनीहरूको प्रभावकारिता समीक्षा गर्न आवश्यक छ । यस्तै, नेपालमा चैते धानखेतीको ठूलो सम्भावना भएकाले सरकारले चैते धानखेती गर्न सक्ने क्षेत्रहरू पहिचान गरी त्यस ठाउँमा चैते धान मिसन चलाउन जरुरी देखिन्छ । बर्खे धानको भन्दा चैते धानको उत्पादन बढी हुन सक्छ भनेर कृषकमा जनचेतना जगाउन आवश्यक छ । साथै, सरकारले धानको बिउ, मल र सिँचाइमा अनुदान दिनुपर्छ । नेपाल सरकारले स्थानीयस्तरमा दक्ष प्राविधिकको व्यवस्था गर्नुपर्छ । प्रत्येक नगरपालिका र गाउँपालिकामा स्नातक उत्तीर्ण प्राविधिक भए किसानले आफ्नो समस्या निराकरण गर्न पाउँथे । तर, अहिलेसम्म गाउँपालिका र नगरपालिकामा दक्ष जनशक्तिको खाँचो देखिएको छ । योसँगसँगै परम्परागत रूपमा धानखेती गर्दै आइरहेका किसानलाई नयाँ प्रविधि र नयाँ जातबारे सुसूचित गराउन तालिमको व्यवस्था गरिनुपर्छ । धानखेती हुने जग्गाको खण्डीकरण रोक्न सरकारले पहल गर्नुपर्छ । प्लटिङका काममा अंकुश लगाउन जरुरी छ । जग्गाको खण्डीकरण कम भयो र चक्लाबन्दी खेतीको व्यवस्था भयो भने यान्त्रिकीकरण गर्न सजिलो हुनेछ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 03, 2023
२०८० साल असार १८ गतेको सम्पादकीय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment