आज श्रावण १५ गते । आजको दिनलाई खिर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खिरको लागि प्रचलित छ । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपार तथा सहयोगीहरूले असारको व्यवस्तताबाट केही राहत मिलेपछि खीर खाने गर्दछन् । वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको छ ।
परापूर्वककालदेखि नै पुर्खाहरूले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ ।
नेपाली संस्कृतिमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाई छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. विष्णु दाहालले भनाई छ । भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले संक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ । यसको साथै साउनमा मासु, माछा नखाई ब्रत बस्ने तथा आप, नास्पाती, भूइकटहरलगायतका फलफूल खाने चलन छ ।
किन खीर खाइन्छ ?
रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैंयन दशकदेखि स्वादिलो बनाउँदै आएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरू प्रशस्त हुने गर्दछन् जसलाई लैनो गाई तथा भैंसीहरूले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।
भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा बिभिन्न मन्दिरहरूमा निःशुल्क गरिब दीनदुखिहरूलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरूमा दीनदुखीहरूलाई खिर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ । पाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाआजा, विहे, ब्रतबन्धमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरूले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर आउँछ ।मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ ।
यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको आकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरूले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आर्य“वेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द ‘क्षिरमा’बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई ‘पायस’ तथा कतैकतै यसलाई ‘तस्मै’ पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरूलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।
परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, माघको १५ गते मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । त्यस्तै मंसिर पुणिर्णामा यमरी खाने चलन नेवार समुदायमा छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Monday, July 31, 2023
आज साउन १५ अर्थात् खीर खाने दिन, खीर खाने प्रचलन कसरी सुरु भयो ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment