Monday, July 31, 2023

गन्तब्य अस्पताल बन्दै त्रिशुली अस्पताल

त्रिशुली अस्पतालको ५९ औं बार्षिकोत्सवमा सहभागि अतिथथिहरू स्मारिका बिमोचन गर्दै ।

त्रिशुली । राजधानीका अस्पतालहरूको स्रोत अस्पतालको रुपमा रहँदै आएको त्रिशुली अस्पताल पछिल्लो समय रसुवा र धादिङका नागरिकहरूका लागि गन्तब्य अस्पतालको रुपमा बिकसित हुँदै आएको छ ।
    २०६० सालसम्म १ चिकित्सकको भरमा मात्र सञ्चालित अस्पतालमा अहिले १५ जना बिशेषज्ञ चिकित्सकहरू कार्यरत छन् । सुबिधासम्पन्न अस्पतालहरूमा पाईने सेवाहरू यहीँ पाईन थालेपछि नागरिकहरू उपचारकै लागि राजधानी धाउनुपर्ने बाध्यताबाट समेत मुक्त बन्ने अवस्थामा पुगेका छन् । सेवामा बिबिधता, प्रभावकारीता र व्यवस्थापकीय पक्ष चुस्तदुरुस्त रहँदा त्रिशुली अस्पतालमा संघ र प्रदेशस्तरमा पटक–पटक उत्कृष्टसमेत बन्दै आएको छ । स्थापनाको ५९ बर्षमा आईपुग्दा बिभिन्न आरोह–अवरोहसमेत पार गर्दै आएको छ । कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि  जीवनदाता नै बन्दै आएको यो अस्पतालले आफ्ना सेवाहरूलाई अझै बिशिष्टिकृत र प्रभावकारी बनाउन सक्दा सरकारी अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवाप्रति आम नागरिकको बिश्वास झनै बढ्न जाने बिश्वास छ ।
    अस्पतालको ५९ औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित बिशेष कार्यक्रमका सहभाागिहरूले पनि अस्पतालका सेवाहरूले नागरिकको मन जित्दै गएको बताउँदै सेवाहरू अझै बढी परिष्कृत हुनुपर्नेमा जोड दिए । अस्पतालका भौतिक र प्रशासनिक पाटोमा सुधार आवश्यक रहेको र त्यसको पूर्णता बिना प्रभावकारी स्वास्थ्य सेवा सम्भव नभएको पनि उनीहरूको भनाई थियो ।
    कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तामाङले त्रिशूली अस्पतालको सुधार र क्षमता बिस्तारमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै प्रभावकारी स्वास्थ्य सेवाका लागि आवश्यक स्रोत र साधनको कुनै कमी हुन नदिईने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्थानीय स्तरमै प्रभावकारी स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारको सम्मान गर्दे सरकारी अस्पतालमै प्रभावकारी उपचार हुन्छ भन्ने मान्यता स्थापित गर्न प्रदेश सरकार दृढ संकल्पित रहेको धारणा ब्यक्त गरे ।
    बागमती प्रदेशसभा सदस्यहरू राधिका तामाङ र रमेशकुमार महत, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी, विदुरका मेयर राजन श्रेष्ठ, पूर्ब प्रदेशसभा सदस्य हिरानाथ खतिवडा, तादी अध्यक्ष सन्तमान तामाङ, दुप्चेश्वर अध्यक्ष शंकरबहादुर थापा, म्यागङ अध्यक्ष आशा तामाङ, विदुर उपप्रमुख प्रभा बोगटी, किस्पाङ उपाध्यक्ष अर्जुन न्यौपाने, सिडिओ किरण थापा, काँग्रेसका उपसभापति राजु थापा, माओवादी केन्द्रका सचिव कल्पना रिमाल, रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेल, विदुरका पूर्ब नगर प्रमुख सञ्जु पण्डित, विदुर वडा नम्वर ९ का अध्यक्ष हरेराम भण्डारी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देबकोटा र अस्पताल सरोकार समितिका अध्यक्ष रमेश श्रेष्ठले अस्पतालले प्रवाह गरिरहेको सेवाहरूको चर्चा गर्दै प्रभावकारी स्वास्थ्य सेवाका लागि सबै पक्षको समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राजु पण्डित र मेडिकल सुपेरिण्टेण्डेन्ट डा. प्रतिक सिंहले अस्पतालको बर्तमान अवस्थाको बारेमा जानकारी दिँदै सर्बसुलभ र प्रभावकारी स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा बर्षभरीमा उत्कृष्ट ठहरिएका डा. दिपेन्द्र तिमिल्सिनासहित बार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका उत्कृृष्टहरूलाई पुरस्कृत समेत गरिएको थियो ।
    २०२१ सालमा त्रिशुली जलबिद्युत केन्द्रका कर्मचारीहरूको स्वास्थ्य उपचारका लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको बिकसित रुप नै आजको त्रिशूली अस्पताल हो । २०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि पनि खुला गरिएसंगै यो अस्पताल नुवाकोट, रसुवा र धादिङका नागरिकहरूको स्वास्थ्य उपचारका लागि उपयुक्त गन्तब्य बन्दै आएको छ । १५ बेडबाट सेवा दिन सुरु गरेको त्रिशुली अस्पतालको २०६९ सालमा ५० बेडमा स्तरोन्नती भयो । २०७२ सालको महाभूकम्पमा पूर्ण रुपमा क्षतीग्रस्त यो अस्पतालले अहिले कोरियन सहयोग संस्था कोईकाको सहयोगमा निर्मित अत्याधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ । पटक पटक संघ र प्रदेश स्तरमा उत्कृष्ट ठहरिएको यो अस्पतालमा राजधानीमा उपलब्ध प्राय : सबै प्रकारका सेवाहरू र १५ जना चिकित्सकहरूबाट बिशेषज्ञ सेवा उपलब्ध छ । पछिल्लो समय डेक्सास्क्यान र डाईलोसिस सेवा दिईरहेको अस्पतालबाट चाँडै नै सिटीस्क्यान सेवा समेत सुरु हुने अस्पतालले जनाएको छ ।

त्रिशुली अस्पताल सय बेडको हुने

त्रिशुली । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले जिल्ला अस्पताल त्रिशुलीलाई सय बेडमा स्तरोन्नति गर्ने बताएका छन् ।
    बिहीबार ५९ औं वार्षिकोत्सव तथा विविध सांस्कृतिक कार्यक्रममा मन्त्री जोशीले ५० बेडा भएको अस्पताललाई सय बेडया पु-याउने बताएका हुन् । ‘स्थानीयको मागलाई आगामी मन्त्रिपरिषद् बैठकमा लैजानेछु,’ मन्त्री जोशीले भने, ‘हुँदा खाने वर्गको पहुँचको रुपमा यो अस्पताललाई बनाइने छ । त्यसका लागि कार्यविधि बनाएर मन्त्रालयले कार्य गर्ने छ ।’ उनले ६५ वर्षभन्दा माथिकालाई निःशुल्क दन्त सेवाको कार्यक्रमसमेत ल्याइने जानकारी दिए । महिलाको पाठेघरको मुखको क्यान्सरको खोपका लागि संघीय स्वास्थ्य मन्त्रालयसँग पहल भइरहेको मन्त्री जोशीले बताए ।
    यस्तै आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले जिल्ला अस्पताल त्रिशुलीलाई अपग्रेड गर्न बजेट विनियोजन गरी अगाडि बढाउने आश्वासन दिए । ‘नुवाकोट, रसुवा र धादिङ जिल्लाको महत्वपूर्ण अस्पताल हो,’ उनले भने, ‘यसका लागि आवश्यक पर्ने पूर्वाधार र बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउँछु ।’ उनले अस्पतालका प्रयोगशाला, कर्मचारी र चिकित्सकलाई सुव्यवस्थित बनाउन अस्पताल विकास समितिलाई निर्देशन दिए ।
    बागमती प्रदेशसभा सदस्य राधिका तामाङले जिल्ला अस्पताललाई आवश्यक जनशक्ति र बजेट व्यवस्था गर्न‘पर्नेमा जोड दिइन् । उनले अस्पतालभित्र राजनीति नगरी बिरामीको उपचारका लागि सबै एकजुट भएर लाग्न आग्रह गरिन् ।
    अस्पतालमा दैनिक २ सयदेखि ३ सय बिरामी उपचार गर्न आउँछन् । अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले स्थायी चिकित्सकको खाँचो रहेको बताए । उनले छात्रवृत्तिमा आएका चिकित्सकले बिरामीको उपचार धानिरहेको बताउँदै स्थायी चिकित्सकसहितको जनशक्ति पठाइदिन प्रदेश सरकारसँग माग गरे । उनले अस्पतालको भौतिक पूर्वाधारका लागि जग्गा अभाव रहेकाले विद्युत् प्राधिकरणको जग्गा उपलब्ध गराइदिनसमेत आग्रह गरे ।
    त्रिशुली जलविद्युत् गृह निर्माणमा खटिएका नेपाल–भारतका कामदारहरूको उपचारका लागि २०२० सालमा खोलिएको स्वाथ्य उपचार केन्द्र नै हालको जिल्ला अस्पताल हो ।

No comments:

Post a Comment