![]() |
संक्रमित चौपाया |
विदुर । नुवाकोटका १२ वटै स्थानीय तहमा लम्पी स्किन तीव्र गतिमा फैलिएको छ । एक लाख २० हजार गाई र गोरुको तथ्याङ्क रहेको नुवाकोटमा अहिलेसम्म ११ हजार भन्दा बढी पशुचौपाया संक्रमित भइसकेका छन् ।
सङ्क्रमितमध्ये विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र म्यागङ गाउँपालिकामा तीन सय चौपाया मरेका छन् । क्याप्री पक्स भाइरसको कारणले संक्रमण हुने यस किसिमको रोग फैलिएसँगै लम्पी स्किन रोगको प्रकोप जटिल बन्दै गएको छ ।
गएको सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले सार्वजनिक गरेको तथ्यांकअनुसार भने जिल्लामा छ हजार एक चौपाया सङ्क्रमित भएको तथ्याङ्क छ भने १७८ गाई मरेको छ । चार हजार ८२५ गाईलाई लम्पी स्किनविरुद्धको खोप लगाई सकेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेका अनुसार जिल्लामा संक्रमण केही मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको बताएका छन् । दिनहुँ लम्पी स्किन रोगकाकारण गाईवस्तुहरू सङ्क्रमित भइरहेका छन् । अहिलेसम्ममा जिल्लामा गाई, गोरु र भैसीं गरी करिब ११ हजारभन्दा बढी चौपाया सङ्क्रमित भइसकेको उनले जानकारी दिए । स्थानीय तहले पनि यकिन तथ्यांक नपठाउँदा र दिनहुँ यस रोगबाट सङ्क्रमित हुने चौपायाको संख्या बढ्नेक्रम रहेकोले तथ्याङ्क यकिन गर्न कठिन भएको उनले बताए ।
‘यो रोगको लागि भेटेनरीले कुनै पनि औषधि प्राप्त भएको छैन’ उनले भने ‘जिल्लामा सञ्चालित निजीस्तरीय भेटेनरीले उपलब्ध गराउँदै आईरहेको छ भने कोहि किसानले काठमाडौंबाट ल्याई पशुचौपायाको उपचार गरिरहेका छन् ।’ लम्पी स्किन रोगकाकारण बिरामी भएका गाईको दुध खान हुन्छ तर दुधलाई अधिक मात्रामा उमालेर खाँदा मानिसमा नपर्ने सल्लाह दिए ।
विदुर नगरपालिकामा लम्पी स्किन रोगकाकारण एक हजारभन्दा गाईवस्तु सङ्क्रमित भएको पशु शाखाका प्रमुख विष्णुप्रसाद रिजालले जानकारी दिए । ‘लम्पी स्किन रोगकाकारण गाई मर्नेको क्रम रोकिएको छैन’, उनले भने ‘हालसम्म करिब दुईसयभन्दा बढी गाई मरिसकेको छ । अवस्था भयाभय बन्दै गईरहेको छ ।’ सङ्क्रमित गाईको उपचारमा जटिल बन्दै गईरहेको छ । बिरामी गाईको घाउमा किरा पर्ने, घाउ निको नहुने समस्याले उपचारमा जटिलता थपेको उनले बताए ।
यसैगरी बेलकोटगढी नगरपालिकामा ६० चौपाया मरेको पशु शाखाका प्रशान्त राईले जानकारी दिए । किसानले पालिका वा प्राविधिकलाई जानकारी गराए मात्र अभिलेख राख्ने गरिएको बताए । शाखाबाट खटिगएका प्राविधिकले नगरका वडा नम्बर ६, ७, १०, १२ र १३ क्षेत्रका दुईसय किसानका ७५० चौपायालाई खोप लगाएको जानकारी दिए । जसमा वडा नम्बर १२ र १३ मा बढी गाई, गोरु र भैसीं सङ्क्रमित रहेको बताए ।
म्यागङ गाउँपालिकाका ८४० चौपाया सङ्क्रमित भएको छ । जसमा ३२ गाई र गोरु मरेको पशु शाखाका प्रमुख सुदर्शन सापकोटाले जानकारी दिए । पालिकाका कृषकहरूको १५० चौपायामा खोप लगाईए तापनि ६० प्रतिशतमा लम्पी स्किनको लक्षण देखिएकोले किसानले पनि आफ्नो वस्तुभाउलाई खोप लगाउन नमानेपछि खोप लगाउने कार्य बन्द गरिएको उनले बताए । पहिले दिनहुँ २० को हाराहारीमा चौपाया सङ्क्रमित हुने देखिएकोमा अहिले १२ वटा चौपायामा देखा पर्न थालेको उनले जानकारी दिए ।
नेपाल भारत सीमा क्षेत्रमा शुरुमा फैलिएको लम्पी स्किन अहिले गढवाका सबै वडामा देखिएको छ । शुरुमा मुसी नाका र ६ नं. वडाको खबरीमा लम्पी स्किन देखिएको थियो । नियन्त्रणको लागी उपचार थालिएपनि समस्या समाधान भएको छैन ।
यो रोगको संक्रमण भएपछि गाई, भैँसीको घाँटी र पुच्छरवरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना ठूला गिर्खा (१ देखि ५ सेन्टिमिटर भन्दा ठूलो) देखिने, १०५ डिग्रीभन्दा बढी ज्वरो आउने, कचेरा र सिंगान बग्ने, मुखबाट फिँज धेरै निकाल्ने, खानेकुरा नखाने हुँदा ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने समस्या देखिने पशु सेवा विभागले जनाएको छर । रोगका कारण ४५ प्रतिशत गाईभैँसीमा संक्रमणको असर बढी देखिने तथा १० प्रतिशत गाईभैँसी मर्न सक्ने विभागले जनाएको छ । यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिँगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्ने गरेको छर । उड्ने किराले संक्रमण फैलाउने गरेका छन्र । यसबाहेक संक्रमित गाई, भैँसीको ओसारपसारबाट समेत रोग सर्ने गरेको छ। यो रोग मूलतः दुधालु गाई, भैँसीमा छिटो संक्रमण हुने प्रकृतिको छ ।
यसै बीच, पशु सेवा विभागले पशुमा देखिने लम्पी स्कीन रोगको उपचार गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । सङ्क्रमण फैलिँदै गएकाले विभागले यथाशिघ्र औषधि उपचार तथा खोप खरिद गर्न आग्रह गरेको छ । विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले आज विज्ञप्ती जारी लम्पी स्कीन रोग फैलिने गएकोले स्थानीय तहलाई उपचार गर्न आग्रह गरे । विभागले महामारी नियन्त्रण गर्नका लागि फैलिएका स्थानीय तहमा एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
विभागले महामारी रोकथाम र नियन्त्रण गर्न प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकेको उनले जानकारी दिए । विभागले लम्पी स्कीन रोग नियन्त्रण कक्ष स्थापनासहित प्रभावित क्षेत्रमा रोग अन्वेषण, उपचार र प्राविधिक सल्लाहका लागि टोली परिचालन गरेको छ । उनका अनुसार २०७९ चैतदेखि फैलिएको लम्पी स्कीन सङ्क्रमणबाट २५ हजार ८७२ पशु मरेका छन् । सङ्क्रमणमबाट देशभरि सात लाख नौ हजार दुई सय तीन पशुवस्तुमध्ये चार लाख ५३ हजार ८१९ पशु निको भइसकेका जनाइएको छ । अहिले पनि दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित रहेका छन् । रोग २०७९ चैत महिनादेखि कोशी प्रदेशबाट रोगको प्रकोप सुरु भई हालसम्म ७६ जिल्लामा रोग पुष्टि भइसकेको छ ।
No comments:
Post a Comment