काठमाडौँ । देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाईभैंसीमा लम्पी स्किन रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्यांकअनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दूध उत्पादन हुँदै आएकोमा अहिले ३० देखि ४० प्रतिशतले उत्पादन घटेको छ । रोगका कारण दुहुना गाई र भैंसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै बन्द भएजस्तै बनेको छ ।
‘रोग फैलिनुअघि दैनिक एक लाख लिटर दूध उत्पादन हुने अनुमानित तथ्यांक थियो, तर अहिले थोरैमा ३० प्रतिशत र बढीमा ४० प्रतिशतसम्म दूधको उत्पादन घटेको अनुमान लगाउन सकिन्छ,’ पशु विकास अधिकृत डा. सन्दिप सिलवाल भन्छन्, ‘रोगको सङ्क्रमण बढ्ने क्रम नरोकिएकाले दूधको उत्पादन अझ घट्न सक्छ ।’
भेटेरिनरी अस्पतालमा संकलन भएको तथ्यांकअनुसार हालसम्म धादिङ जिल्लामा आठ हजारभन्दा बढी गाईभैँसीमा लम्पी स्किनको संक्रमण देखिएको छ । त्यसमध्ये ७० प्रतिशतभन्दा बढी संक्रमण दूधालु गाई, भैंसीमा देखिएको सिलवालले जानकारी दिए । गाउँगाउँमा खटिएका प्राविधिकले पनि दूधको उत्पादनमा ५० प्रतिशतभन्दा बढीले घटेको बताएका छन् ।
गोरुभन्दा गाईमा नै संक्रमण बढी देखिएको नीलकण्ठ नगरपालिका ८ का पशु स्वयंसेवक ईशु तामाङले बताए । ‘म जहाँ पुगेको छु त्यहाँ दूधालु पशु नै धेरै मरेको पाएको छु, संक्रमण दर बराबर जस्तै भए पनि असर दूधालु पशुमा नै देखिएको छ,’ तामाङ भन्छन्– ‘दूध दिइरहेका र ब्याउने बेला भएका गाईमा रोगको संक्रमण देखिए पनि किसान चिन्तामा छन् ।’
स्थानीय तहले समयमै जानकारी नदिँदा जिल्लाको यकीन तथ्यांक आउन नसकेको पशु विकास अधिकृत डा. सिलवालले बताए । जिल्लामा भएका १३ वटै स्थानीय तहले भेटेरिनरी अस्पताललाई जानकारी गराउनुपर्ने भए पनि स्थानीय तहबाट तथ्यांक लिनै कठिन भइरहेको उनको भनाइ छ ।
स्थानीय तहले रोग नियन्त्रणका लागि गाउँगाउँमा प्राविधिक परिचालन गरिरहेको भने पनि रोग नियन्त्रण हुन सकेको छैन । विगत तीन महिनादेखि रोग देखा परे पनि हालसम्म यसको संक्रमण बढ्दो नै छ ।
प्रकाशक : कपिलदेव खनाल, सम्पादक : शर्मिला उप्रेती, सह–सम्पादक : सुजित भण्डारी, प्रमुख समाचारदाता : प्रितिका थापा, कार्यालय : विदुर नपा– ४ विदुर नुवाकोट, फोन नं. ०१०५६१६७८,९८५१०९३२९० email : imageweekly@gmail.com
Thursday, July 13, 2023
प्रकोपले ४० प्रतिशत दुग्ध उत्पादन कम
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment