Monday, July 03, 2023

स्वयम्भू महाचैत्यको पुनर्निर्माण सुरु

पुनर्निर्माण सुरु

नुवाकोट । बुद्धप्रति आस्था राख्ने र सम्पदा संरक्षण गर्नुपर्छ भन्ने जनसमूह तथा संघसंस्थाको साथ र सहयोगमा नुवाकोटको विदुर नगरपालिका–२ महामण्डल (अशोकबारी) क्षेत्रमा जिल्लाकै सबैभन्दा पुरानो ऐतिहासिक पुरातात्विक र धार्मिक स्वयम्भू चैत्यको उत्खनन गरेर पुरानै अवस्थामा पुनर्निर्माण सुरु भएको छ ।
    पुरातत्व विभागको समन्वयमा स्वयम्भू महाचैत्य कार्ययोजना बनाई चार चरणमा पुनर्निर्माण गर्ने लक्ष्य बनाइएको छ । यो क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न स्थानीय जनसमुदाय र संघसंस्था जुर्म‘राएका छन् । २३०० वर्षभन्दा अगाडिको पुरातात्विक ऐतिहासिक दुर्लभ स्वयम्भू चैत्य पुरानै अवस्थामा पुनर्निर्माण गर्नका लागि बज्रयानी तन्त्रअनुसार र विधिपूर्वक गएको शुक्रबार पूजापाठ, होम सम्पन्न भयो ।
    सम्राट अशोकले नुवाकोटको महामण्डल (अशोकबारी) क्षेत्रमा अशोक चैत्य बनाएको शिलालेखमा उल्लेख छ । यो ठाउँको महत्वलाई बुझेर स्थानीय गौतममान सिंहले पुरानो ऐतिहासिक पुरातात्विक र धार्मिक स्वयम्भू चैत्यको उत्खनन गरी पुनर्निर्माण, संरक्षण र सम्र्वद्धन गर्नका लागि नेतृत्वदायी पहल गरिरहेका छन् । गौतमको सक्रियतामा बुद्धप्रति आस्था राख्ने जनसमुदाय र संघसंस्था जोडिने क्रम दैनिक बढिरहेको विदुर नगरपालिका–२ का अध्यक्ष एवम् स्वयम्भु चैत्यको पुनर्निर्माणमा संलग्न दीपक कायस्थले जानकारी दिए । पुनर्निर्माण अभियानमा साथ र सहयोग विदुर नगरपालिकाले दिएको छ । विदुर नगरपालिकासहित यो निर्माण अभियानमा नुवाकोट युवा क्लब, विदुर नगरपालिका–२, बज्राचार्य युवा क्लब काठमाडौं, चिभाः चैत्य अर्गनाइजेसन, पदमावती महाविहार नःबहाल ललितपुर, लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५, नुवाकोट उद्योग वाणिज्य सङ्घ आबद्ध भइसकेका छन् ।
    स्वयम्भू महाचैत्य पुनर्निर्माणका लागि इन्जिनियर सुरज लामाले डिपिआर तयार गरेका छन् । उक्त डिपिआरअनुसार कार्ययोजना बनाएर निर्माण कार्य अगाडि बढाउने र सहयोग जुटाउने कार्य भइरहेको निर्माण अभियन्ता गौतममान सिंहले जानकारी दिए । उनले दिएको जानकारीअनुसार निर्माण कार्य चार चरणमा गरिनेछ । निर्माणका लागि आवश्यक जग्गा स्थानीय भुवन पाण्डेले एक रोपनी निःशुल्क प्रदान गरेका छन् । चैत्य निर्माण क्षेत्रमा पाँच रोपनी र टुँडीखेलदेखि चैत्यसम्म बाटोसहित एक रोपनी गरी स्वयम्भू चैत्यका लागि आठ रोपनी लगभग जग्गा रहेको छ । महाचैत्य निर्माणका लागि पहिलो चरणमा टुँडीखेलदेखि स्वयम्भू चैत्यसम्म ढुङ्गेसिँढी निर्माण गर्ने र सिँढीको दायाँबायाँ बुद्धधर्मसँग सम्बन्धित चिभा, चैत्य, मूर्ति आदि निर्माण गर्ने । दोस्रो चरणमा सम्पूर्ण पाँच रोपनी जग्गालाई पूर्ण रूपमा ऐतिहासिक झलक आउने गरी ढुङ्गेपर्खाल निर्माण गर्ने । तेस्रो चरणमा स्वयम्भू महाचैत्यको निर्माण गर्ने र चौथो चरणमा सर्वसाधारण र सघंसंस्थालाई बौद्धधर्मको प्रचार–प्रसार र ध्यान साधना गर्न महास्तुपा, विहार, चैत्य, चिवा, बुद्धका मूर्ति निर्माण गर्ने रहेको छ ।
    पहिलो चरणमा टुँडिखेलदेखि स्वयम्भू चैत्यसम्म ढुङ्गेसिँढी निर्माण गर्ने । सिँढीको दायाँबायाँ र स्वयम्भू चैत्यको पश्चिमपट्टिको खाली स्थानमा बुद्ध, धर्म र संघ सम्बन्धित चिभाः, चैत्य तथा बुद्धका मूर्ति निर्माण गर्ने योजना भएको जानकारी निर्माण अभियन्ता गौतममान सिंहले दिए । इच्छुक महानुभाव तथा कुनै पनि सघंसंस्थाले स्वेच्छाले ढुङ्गेसिँढी एउटा अथवा चैत्य, चिभाः वा बुद्धमूर्ति दान दिई पुण्य कमाउनसमेत उनले अनुरोध गरेका छन् । ढुङ्गेसिँढी जसले पहिले सहयोग गर्न‘हुन्छ उसैलाई पहिलो प्राथमिकताको क्रममा राखिनेछ । पुण्य सञ्चय गर्ने कार्य भइरहेको हुनाले ‘एक व्यक्ति एक सिँढी’ अवधारणा भएको कारण आफ्नो पुर्खाको सम्झनामा आफ्नो स्थान सुरक्षित राख्नुहुन पनि सम्पूर्ण दातामा उनले अनुरोध गरेका छन् ।
    नुवाकोट युवा क्लबका अध्यक्ष सरोज डङ्गोलका अनुसार बन्दै गरेको स्वयम्भू चैत्य निर्माण कार्यमा सम्लग्न मजदुर राम तामाङले स्वेच्छाले पाँच दिनको ज्याला ६ हजार रुपैयाँ दान गरेका छन् । सम्पूर्ण जनसमुदाय र सङ्घसंस्थालाई टुँडिखेल क्षेत्रदेखि स्वयम्भू चैत्यसम्म निर्माण भइरहेको ढुङ्गेबाटोको पश्चिमपट्टिको ढुङ्गेपर्खालमा बुद्ध र बोधिसत्वका मूर्ति स्थापना गर्न सुरु गरिएको छ । यो ढुङ्गाको पर्खालमा १५ इन्चको खोपा बनाइसकेकाले १० इन्च र १२ इन्चको ढुङ्गेमूर्ति दान गर्नसमेत निर्माण समितिले आह्वान गरेको छ । स्वयम्भू महाचैत्यको स्थलगत अवलोकन गर्न र धार्मिक तथा सांस्कृतिक महत्वको जानकारी संकलनसहित संरक्षण तथा संवद्र्धनका लागि उत्प्रेरणा दिन बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन, प्रदेशकै बिनाविभागीयमन्त्री रामकृष्ण चित्रकार, प्रदेशका सांसद शैलेन्द्र बज्राचार्य बिहीबार नुवाकोट आएका थिए ।
    महाचैत्य निर्माण अभियानमा सरिक हुँदै हौसलासहित सहयोग गर्न गएको बिहीबार नै नेपालका अग्रज पर्यटन व्यवसायी तथा सकारात्मक सोचका संरक्षक कर्ण शाक्य, कीर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिका अध्यक्ष राज्यलक्ष्मी शाक्य, गैरआवासीय नेपाली संघ अमेरिकाका प्रतिनिधि राजीव श्रेष्ठसहितको टोली पूजा कार्यक्रममा सहभागी थिए ।
    उक्त कार्यक्रममा नुवाकोटबाट संविधानसभामा प्रतिनिधित्व गर्ने संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका–१ का अध्यक्ष लेनिन रञ्जित, वडा नम्बर २ का अध्यक्ष दीपक कायस्थ, होटेल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सन्तोष उप्रेती, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नुवाकोट होटेल व्यवसायी संघका अध्यक्ष वासुदेव अधिकारीलगायतको सहभागिता पूजा कार्यक्रममा रहेको थियो ।

No comments:

Post a Comment