Monday, July 31, 2023

व्यवसायी र बैंकरबीच अन्तरक्रिया

 व्यवसायी र बैंकरबीच अन्तरक्रिया

विदुर । दैनिक पत्रपत्रिकामा बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर, लिलामी र कालोसूची विवरणको सूचनाबाट वाक्क–दिक्क भएका नुवाकोटका उद्योगी व्यवसायीले नुवाकोट उद्योग वाणिज्य संघलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संघ–संस्थाको बढेको ब्याजदर, म्याद थप नगरीकन लिलामी प्रक्रिया थालेको र नवीकरण गर्नका लागि किस्ता र ब्याज तिर्न सरलीकृत नगरी कालोसूचीमा राख्न थालेकाले उद्योगी–व्यवसायी त्रसित बनिरहेका छन् । केही व्यवसायीले बैंकको आतंकको कारण आत्महत्यासमेत गरेका छन् । गएको सोमबार नुवाकोट उद्योग वाणिज्य संघले गरेको उद्योगी–व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीचको अन्तरक्रियामा व्यवसायीले बैंकको आतंकले त्रसित बन्नुपरेको बताए ।
    संघको आयोजनामा भएको अन्तरक्रियामा उद्योगी–व्यवसायीले ०७२ को भूकम्प र कोरोना महामारीले उद्योग–व्यवसाय दिनप्रति दिन धराशायी बन्दै गएको, अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढाउने, लिलाम गर्ने र कालोसूचीमा राख्ने होडबाजीले जिल्लाका व्यवसायी थप संकटमा परेका होटेल व्यवसायी बासु अधिकारीले बताए । सो कार्यक्रममा उद्योगीद्वय सुदर्शन दुवाल र रघुनाथ रिमालले बैंकको ब्याजदर स्थिर नभएकाले उद्योग सञ्चालन गर्न नसकिने अवस्था रहेको बताए । अहिले कोरोना महामारी तथा रूस र युक्रेन युद्धको कारण चरम आर्थिक मन्दी भएकाले उत्पादित सामान बिक्री हुन नसक्दा उद्योग बन्द गर्न‘पर्ने अवस्थामा पुगेको उनीहरूले बताएका थिए ।
    सहकारीकर्मी गोकर्णनाथ न्यौपानेले बैंकको बढेको ब्याजदर र अन्य सेवाशुल्क र राज्यको विभिन्न निकायले विभिन्न शिर्षकमा लिइरहेको करको कारण ‘गर कि मर’को अवस्थामा व्यवसायी रहेको बताए । नबिल बैंक बट्टारका शाखा प्रबन्धक श्रीराम नेपालले ब्याजदर बढाउने बैंकको रहर नभएर बाध्यता भएको बताएका थिए । बैंकको बढेको ब्याजदर, नवीकरण र अन्य सेवा, शुल्क घटाउनेबारे अन्तरक्रियामा उठेका समस्या र गुनासो समाधानका लागि जिल्लामा रहेका सबै बैंकले केन्द्रमा अनुरोध गरी पठाउने प्रतिबद्धता जनाए ।
    कृषि विकास बैंकका शाखा प्रबन्धक ध्रुव कुँइकेलले व्यावसायिक पीडा बुझेर पनि सहयोग गर्न नसक्ने अवस्थामा रहेको बताए । बैंकले लगानी गरेर नाफाको रकमले बाँच्नुपर्ने भएकाले नियमानुसार लगानी गर्ने र ऋण उठाउनुपर्ने बाध्यतामा आफूहरू रहेको उनले बताए । राष्ट्रियस्तरको ‘क’ वर्गका स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक सबै बैंकको शाखा रहेको नुवाकोटमा लगभग नौ अर्ब निक्षेप संकलन र १४ अर्ब लगानी रहेको सानिमा बैंक शाखा विदुरका प्रबन्धक मधुप्रकाश खतिवडाले जानकारी दिए । अन्य जिल्लाको तुलनामा नुवाकोटमा न्यून ऋणीको नाम मात्र कालोसूचीमा रहेको उनले दाबी गरे ।
    कर्जाको मागमा आएको कमीलाई सुधार गर्न उद्योगी–व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले ऋणीको सहमतिमा कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न दिनुपर्ने, पुनर्कर्जाको सुविधा उपलब्ध गराउनुपर्ने, ब्याजमा न्यून प्रिमियम राख्न जिल्लाका उद्योगी–व्यवसायीका तर्फबाट सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले उक्त कार्यक्रममा प्रस्ताव राखे । विगतमा जिल्लाको पहिचान बनाउन सफल रेन्बो ट्राउट माछापालन, स्ट्रबेरी तथा मुलाखेती गर्न, पशुपालन र कुखुरापालनमा बैंकले दिँदै आएको ब्याज अनुदानको सुविधालाई अहिले कटौती गरेकाले त्यसलाई कटौती नगरी निरन्तरता दिन जिल्लामा रहेका बैंकहरूलाई केन्द्रमा प्रस्ताव पठाउन आग्रह गरे । प्रमुख अतिथि विदुरका मेयर राजन श्रेष्ठले व्यवसायीको समस्यालाई बैंकहरूले बुझेर ऋण र ब्याज तिर्ने समय सरलीकृत गर्न‘पर्नेमा जोड दिए । आर्थिक गतिविधि शून्य रहेको अहिलेको अवस्थामा उद्योगी–व्यवसायीलाई त्रसित बनाउनेभन्दा पनि काम गर्ने उत्साह बढाउने गरी बैंकहरूले कार्यक्रममा ल्याउन उनले सुझाव दिए ।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नेपाल उद्योग वाणिज्य संघका बागमती प्रदेशकी सदस्य गीता अमात्य, नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, नुवाकोट चेम्बर अफ कमर्सका महासचिव केशव मिश्र लगायतले जिल्लामा उद्योगी–व्यवसायीको ब्याजदरलगायतको गुनासोलाई सकारात्मक ढङ्गले केन्द्रमा पु¥याइदिन बैंकका प्रतिनिधिलाई आग्रह गरेका थिए । सुझावलाई महासंघमार्फत बैंकको नीति, नियम बनाउने तहसम्म पु¥याउने प्रतिबद्धता संघका बरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जनाए ।

No comments:

Post a Comment