Thursday, July 13, 2023

हातैले उप्काउन मिल्ने पिच

पिच उप्काउदै जनप्रतिनिधिहरु ।

छहरे । टोखा–छहरे सडकअन्तर्गत नुवाकोट शिवपुरी गाउँपालिका–८ नम्बर वडा कार्यालयभन्दा पश्चिमतर्फ गरिएको कालोपत्रेमा गम्भीर लापरबाही भएको पाइएको छ । संघीय सांसद, प्रदेश सांसदसहित जनप्रतिनिधि र स्थानीयले शनिबार गरेको स्थलगत निरीक्षणका क्रममा निर्माण व्यवसायीले हतार–हतारमा मापदण्डविपरीत कालोपत्र गरेको पत्ता लगाएका हुन् । त्यस क्षेत्रको कालोपत्र जनप्रतिनिधि र स्थानीयले हातैले उप्काइएको दृश्य सार्वजनिक भएको छ । उक्त सडक खण्डको मर्मतको जिम्मा शिवशंकर निर्माण सेवाले लिएको हो । जसको मुख्य व्यक्ति बट्टार निवासी शिव श्रेष्ठ हुन् ।
    नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले चिसो माटोमा ग्राभेलसमेत नगरेको, आवश्यक ठाउँमा अलकत्रा नराखी पिच गरेर निर्माण व्यवसायीले गैरजिम्मेवार तरिकाले काम गरेको पाइएको जानकारी दिए । उनले प्राविधिक हिसाबले नापजाँच गर्दा मापदण्ड पुग्ने र स्थानीय उपभोक्ता सन्तुष्ट हुने अवस्था नभएसम्म भुक्तानी नदिन आफूहरूले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराएको समेत जानकारी गराए । ‘सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमाललाई सम्पर्क गरी उक्त खण्डको सडक निर्धारित गुणस्तर अनुसारको कार्य नभएकोले निर्माण व्यवसायलाई भुक्तानी नदिन र निर्माण व्यवसाय कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छु । उक्त सडक खण्डमा कार्यालयले जिम्मा दिएर पठाएको इञ्जिनियरलाई पनि कारबाही गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘निर्माण कम्पनीलाई कालोसूचीमा राख्न अनुरोध गर्छौं ।’
    यस्तै सडक निरीक्षणमा पुग्नुभएका वागमती प्रदेशका सांसद एवं पूर्वउपसभामुख राधिका तामाङले पनि यस खालको लापरबाही आफूले पहिलोचोटी देखेको बताए । ‘पिच एक इन्च पनि छैन । बेस राम्रो नगरी माटोमा नै पिच हालिएको छ । पुरानो पिचमाथि पनि सफा नगरी कालोपत्र गरिएको छ,’ उनले भने, ‘यस्तो लापरबाही अहिलेसम्म देखेको थिइनँ । हदैसम्मको छ ।’
    कानुनी हिसाबले अनुगमन गर्ने अधिकार जनप्रतिनिधिलाई नभए पनि स्थानीयको बोलावटपछि निरीक्षणमा गएको उनले प्रस्ट पारे । उनले विकास निर्माणमा काम दिने र गर्ने निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन् । ‘कानुनी हिसाबले अनुगमन गर्ने हामी जनप्रतिनिधिलाई अधिकार छैन । स्थानीयले बोलाउनुभएपछि गएका हौं । यस्तो कार्यमा अनुगमन गर्ने निकाय । काम लगाउने निकाय जिम्मेवार बन्नु पर्छ,’ उनको भनाइ थियो । उनले निर्माण व्यवसायी, कर्मचारीको लापरबाही र गैरजिम्मेवारपनका कारण विकास निर्माणमा भएको कमजोरीको दोष जनप्रतिनिधिमाथि खन्याउने गरेको पनि गुनासो गरेका छन् । प्रदेश सांसद तामाङले प्राविधिक रुपमा उक्त सडकको नापजाँचको विषयमा जिल्ला समन्वय प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीले प्रक्रिया अगाडि बढाउने बताएको जानकारी पनि गराएका छन् ।
    २०७४ अघि निकै दयनीय अवस्था रहेको टोखा–छहरे सडक केही वर्षकै अन्तरालमा अन्यत्र राम्रो काम भएकोमा उनले खुसी व्यक्त गरे । ‘केही मान्छेले प्रचार गर्ने, काम नगर्ने । काम भए पनि जनताको आँखा छारो हाल्ने प्रकृतिको थियो । पहिले काम भएको थिएन । संघका माननीय हितबहादुर तामाङ, हामी प्रदेशमा निर्वाचित सांसदहरूको पहलमा काठमाडौं र नुवाकोट सडक डिभिजनका प्रमुखहरूसँग र अन्य सरोकारवालासँगको समन्वय–सहकार्यमा केही भागबाहेक जुन उपलब्धि हासिल गरेका छौं, यो राम्रो काम हो,’ उनले भने ।
    संघीय सांसद तामाङले पनि आफूहरूकै पालामा टोखा–छहरे सडकको अवस्था निकै सुधार भएको उल्लेख गर्दै २०७४ पछि मात्रै यो मार्गलाई पटकपटक गरी संघीय सरकारबाट ४२ करोडभन्दा बढी रकम पारिएको जानकारी गराए । ‘२०७४ सालमा संघीय संसदमा निर्वाचित भएदेखि पटक–पटक गरी संघीय सरकारबाट राजमार्ग पुनःस्थापना शीर्षकमा ४२ करोड भन्दा बढी रकम पारेर बनाएको सडक अन्यत्र राम्रो भए पनि जनज्ञान मावि सातदोबाटो आसपासकोमायो दुर्गतिमा देखे पछि ज्यादै दुःख लागेको छ,’ तामाङले भने ।
उनले नुवाकोट र रसुवाका जनता राजधानी आवतजावत गर्ने मुख्य मार्ग टोखा–छहरे निर्माणमा कमजोरी भएको खण्ड नसुधारिएसम्म ठेकेदार र कर्मचारीलाई नछाड्ने चेतावनीसमेत दिएका छन् ।
    ‘रसुवाको सिंगै र नुवाकोटको ८० प्रतिशत जनता यो बाटोबाट हिँड्छन् । त्यसैले अरु गाउँको बाटो बनेर सार्थकता नपाउने भएर हामीले यसैलाई महत्व दिएका हौं । यो बिग्रिएको खण्ड नसुधारिकन ठेकेदार र कर्मचारीलाई हामी छोड्दैनौं,’ उनले भने, ‘यदि यस्तै अवस्थाको बाटो निर्माणको भुक्तानी दिएछ भने भुक्तानी दिने कार्यालयविरुद्ध पनि हामीले लड्नु पर्ने हुनसक्छ ।’
    सडक डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी एवं साइट इन्जिनियर सुमनराज बस्नेतले जनज्ञान माध्यमिक विद्यालय नजिकबाहेक अन्यत्र समस्या नरहेको दाबी गरे । उनले निर्माण व्यवसायीले काम नसकाएकोले भुक्तानी दिन पनि बाँकी रहेको बताएका छन् ।
    ‘जनज्ञान माध्यमिक विद्यालय नजिक खाल्डो थियो । त्यसमा माटो भरेर सडकको लेभलमा बनाउने काम गर्ने तर पिच नगर्ने भनेका थियौं । तर निर्माण व्यवसायीले धूलो उड्छ भनेर पिच गराए । त्यहाँमात्र समस्या हो । अन्यत्र समस्या छैन,’ उनले भने, ‘समयमै काम नसकिएकोले भुक्तानी दिएका छैनौं । ६ सय मिटरको काम जिम्मा लिएकोमा अहिलेसम्म कार्यप्रगति ५० प्रतिशतमात्रै देखिएको छ ।’
    इन्जिनियर बस्नेतका अनुसार सडक बोर्डको ५० लाख रुपैयाँ बजेटमा सामान्य मर्मत शीर्षकअन्तर्गत त्यस खण्डको निर्माण सम्झौता गत मंसिर/पुसमा भएको थियो । सम्झौताअनुसार यही असार २५ गतेसम्ममा सकिने गरी ढलानबाहेकका ठाउँमा २ सेन्टीको मोटाइमा पिच गर्ने भन्ने रहेको उनले बताए । इन्जिनियर बस्नेतले भने, ‘सडक चुस्त दुरुस्त नबनाएसम्म भुक्तानी रोक्ने हो । ढुक्नु होला सबैजना । खोल्चीको भुक्तानी पाइँदैन ।’
    संघीय सांसद तामाङका अनुसार कार्यालय प्रमुख रिमालले तत्काल बिल स्वीकृत नगर्ने, भुक्तानी नदिने र गुणस्तर अनुसारको काम त्यही कम्पनीलाई दिने र तोके अनुसारको काम गरेपछि मात्रै भुक्तानी दिने कुरामा सहमति जनाएका छन् । वडा कार्यालयबाट सफल पाहुना घर हुँदै गुर्जेभन्ज्याङ तर्फको आसफाल्ट पिचको कुनै समस्या नदेखिएको सांसद तामाङको भनाइ छ ।
    सडक निरीक्षणका क्रममा सांसदद्वय, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, माओवादी केन्द्र शिवपुरीका अध्यक्ष मिनबहादुर तामाङ, शिवपुरी–८ का निर्वाचित वडाध्यक्ष वीरबहादुर तामाङलगायत स्थानीय नेता तथा स्थानीय बासिन्दाहरू उपस्थित थिए ।

No comments:

Post a Comment