Thursday, July 13, 2023

‘कपालको त्यान्द्रा जस्ता धरापबाट बाँचेर आँए’

युद्धकालमा जानुका धमला

ध्रुवकुमार रावल/भोलाराज पौडेल

वागेशवरी गाविस (हाल सुर्यगढी गाउँपालिका) फलाटेमा जन्मिएकी जानुका धमला समाजमा भएको विभेदको अन्त्य गर्नको लागि माओवादी मोर्चामा लागिन् । माओवादीले उठाएको विषयवस्तु र गरिव, महिला, जनजाति, दलित, उत्पीडनको मुद्दाले उनको मन छोयो, उनी एसएसली पास भएपछि नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा उच्च शिक्षा पढ्नमा लागि बट्टार झरिन् । पढ्नको लागि झरेकी उनी उत्पीडनको अन्त्य र मुक्तिको लागि भन्दै त्यतैबाट भूमिगत भइन् । ‘०५५ सालदेखि म विद्यार्थी आन्दोलनबाट माओवादीप्रति आस्था राख्न थालेको हो ।’ जानुका भन्छिन्– ‘२०५७ मा घर छाडेर माओवादी पूर्णकालीन कार्यकर्ता बनेर हिँडेँ ।’
    उनको भूमिगत जीवन पनि केही अनौठा र दुःखद अनि ठीट लाग्दा छन् । उनका बुबा कृष्णप्रसाद प्याकुरेल तत्कालिन शाही नेपाली सेनामा कार्यरत थिए । उनी माओवादी विद्यार्थी संगठनको नेता । ‘विद्यार्थी संगठनमा जोडिएर २०५५ सालदेखि सांगठनिक काम गरेको हुँ’ उनी भन्छिन्– ‘बुबा शाही नेपाली सेना म माओवादी सोच्नुस् त, त्यो बेलाको हाम्रो घरको अवस्था ?’
    त्यतिबेलाको अवस्था सम्झँदै जानुका भन्छिन्– यसले गर्दा घरमा अर्को खालको वातावरण बन्यो । परिवारमा द्वन्द्व सिर्जना भयो । कि मैले घर छाडेर हिँड्नुपर्ने भयो, कि बाबाले जागिर छाड्नुपर्ने अवस्था आयो । त्यतिखेर मैले के सोचेँ भने मैले घर परिवार भन्दा बर्गीयको मुक्ति, समाजले नयाँ रुपान्तरणसहितको अर्को राज्य प्रणालीको विकास हुन्छ भने मैले घर छाड्नु नै उचित ठानेँ । त्यतिखेर सबै विषयवस्तुहरू राम्ररी बुझेर हिँडेको नभई थोरै विषयवस्तु अध्ययन गरेर नै बर्गविहीन समाज निर्माण हुन्छ भनेर उनलाई अरु कसैले भनेर नभई आफैं स्वतस्फुर्त रुपमा अघि बढेको उनी बताउँछिन् । ‘बुबासँग सल्लाह गरेर घर छाडेर म छापामार भएको होइन ।’ पछि बुबाले जिल्ला प्रशासनमा हामी बाबुछोरीको भेट युद्ध मैदानमा हुनेछ भनेर पत्र लेखेर पठाउनुभएछ ।’ एउटै घरमा बाबा सरकारको बन्दुक बोक्ने छोरी विद्रोहीको बन्दुक उचाल्ने भएपछि त्यो परिवारको अवस्था कस्तो होला भन्ने त त्यतिबेला मात्रै महसूस गर्न सकिन्थ्यो ।
    उनी घरको जेठी छोरी हुन् । उनको परिवारले उनीप्रति जे अपेक्षा राखेका थिए, त्यो अपेक्षा उनीबाट पूरा हुन सकेन । उनले परिवारको ती अपेक्षालाई लत्याएर अघि बढिन् । जानुका भन्छिन्– ‘मप्रति जुन अपेक्षा थियो, त्यो अपेक्षा विपरित म हिँडेपछि मप्रति रिसाउने, चित्त दुःखाउने, भनेको भन्दा विपरित जाँदा उहाँहरू मसँग खुशी हुनुहुन्थेन ।’
    देशमा २०५८ साल मंसिरबाट दाङको होलेरी काण्डपछि देशमा संकटकाल सुरु भयो । उनका बुबाले जिल्ला प्रशासन कार्यालयमा पत्र लेख्दै बाबुछोरीको भेट युद्ध मैदानमा मात्रै हुनेछ भन्ने आसयको पत्र लेखेर बुझाएका थिए । चिठी अहिले पनि सुरक्षित छ ।
    बुबा नेपाली सेनामा जागिरे भएका कारण उनले बुबाको भनदा आमाको न्यानो काख बढी पाइन् । आमाबारे सम्झँदै जानुका भन्छिन्– ‘आमा सामान्य साक्षर हुनुहुन्छ । छोरीले पढ्नुपर्छ भनेर नै मलाई सानैदेखि हात समातेर कख लेख्न सिकाउनु भयो । आमाले मेरो लागि धेरै ठूलो संघर्ष र त्याग गर्न‘भयो, मलाई पढाउनको लागि जुनखालको भूमिका निर्वाह गर्न‘भयो, मलाई लेख्न अनि छोरी सशक्त हुनुपर्छ भन्ने सिकाउनुभयो । बाबासँग त म लामो समय बस्न पाइन । आमासँगै बढी बसेकोले छोरा र छोरीमा अहिले पनि जुन खालको विभेद छ । त्यतिबेखर पनि विभेद छ । छोराले गर्न सक्ने काम छोरीले किन सक्दैनन् भन्ने लाग्थ्यो । हामी त्यतिखेर हलो जोत्न बञ्चित थियौँ । छोरी मान्छेले छोएको बन्दुक पड्कँदैन भन्ने गलत संस्कारबाट हामी हुर्किएका थियौँ । त्यो बेला मेरी आमाले आत्मनिर्भर हुनुपर्छ भनेर जुन खालको शिक्षा दिनुभयो, त्यो मेरी आमाको महान कार्य हो ।
    उनी भूमिगत हुँदा १७ वर्षको थिइन् । भूमिगत हुँदा आमा बाबा दुवै जनासँग उनको सल्लाह भएन । बुबा आमाले उनलाई स्टाफ नर्स पढाउने कुरा थियो । तर, उनलाई स्टाफ नर्स पढ्ने रुची भएन, उनलाई बन्दुक बोकेर समाज रुपान्तरण गर्ने इच्छाले भूमिगत बनायो । २०५७ साल भदौमा एसएसलसीको रिजल्टपछि साथीहरूसँग बट्टार साथीसँग झरेकी जमुना अरु कलेज भर्ना भए । उनी बन्दुक बोक्न खरानीटारको एउटा कार्यक्रम हुँदै भूमिगत भइन् । ‘त्यो ठाउँसम्म पुग्नको लागि स्व. रामभक्त उप्रेती मेरो राजनीतिक अभिभावक हुनुहुन्थ्यो । उहाँको माध्यमबाट म त्यहाँ गएको हो ।’ उनी भन्छिन्– ‘उहाँ हाम्रो परिवारसँग अलि नजिक हुनुहुन्थ्यो ।’ छोरी माओवादी आन्दोलनमा हिँडेको कुरा उनकी आमाले तीन दिनपछि मात्र थाहा पाइन् त्यो पनि उनै रामभक्त उप्रेतीको माध्यमबाट । ‘आमाले छोरीलाई हाम्रो चलन अनुसार मुन्द्रा औठी बनाएर लगाइदिनु भएको थियो । यो हराउछ, ममी भनेर त्यो सुनका गहना आमालाई जिम्मा लगाएको थिएँ ।’ उनले भनिन्–‘ आमाले सायद त्यतिबेला नै छोरी हिँड्छे भन्ने थाहा पाइसक्नु भएको थियो होला ।’
    रामभक्तको छोरी गायत्री ‘नमुना’ उनको साथी थिइन् । उनलाई आन्दोलनमा लाग्नको लागि नमूना जस्ता धेरै साथीहरूको हात छ । चञ्चला आले मगर ‘चेतना’ परिवर्तनको लागि १३ वर्षको उमेरमा एउटा हातमा मादल, गितार, बासुरी लिएर हिँड्दै गर्दा उहाँहरूले समाजलाई दिएको चेतना र सकारात्मक सन्देशका कारण हामीले समाजलाई केही गर्न सक्छौँ भनेर नै आफू हिँडेको उनी बताउँछिन् । भूमिगत भएपछि उनले रसुवामा बढी समय विताइन् । त्यतबेला माओवादीले रसुवा र नुवाकोटलाई संयुक्त कमाण्डले हेर्ने गरेको थियो ।
    हिँडेको एक, डेढ वर्षपछि वर्षपछि संकटकालपछि उनका बुबाले जागिर छाडे । त्यसपछि मात्रै परिवार भेट्न घर आइन् । ‘त्यो भन्दा अघि मरो घर आउने बाटो खुल्ला थिएन । बुबाले छोरी आयो भने म घरमा बस्दिन भन्नु भएको थियो ।’ जानुका सम्झँदै भन्छिन्– ‘त्यो हिसावले पनि म घर आउन सक्ने वातावरण थिएन । बुबाको इच्छा विपरित म वीचमा घर आउन सक्ने थिइन् ।’
    विद्यार्थी संगठनमा कक्षा ८ देखि काम गरेको उनले ३ वर्षको विद्यार्थी संगठनमा लागेर भूमिगत भएपछि २०५९ सालमा उनी जनमुक्ति सेनामा भर्ना भइन् । त्यतिबेला माओवादीले काठमाडौं सहितका वरिपरीका जिल्लालाई विशेष जिल्ला भनेर घोषणा गरेको थियो । जनमुक्ति सेनामा स्पेशल फोर्स पाँच÷पाँच जनाको दरले पठाउने निर्णय ग¥यो । उनीहरू पनि जिल्लाबाट पठाउने पाँच÷पाँच जनाभित्र परे । उनका श्रीमान आनन्दकुमार थापा पनि सँगै थिए । एक महिनासम्म उनीहरूले तालिम गरेँ । ‘तालिमपछि हामी निरन्तर कारवाहीको प्रक्रियामा सहभागी भयौँ ।’ उनी भन्छिन्– ‘युद्ध भनेको नाप्ने तौलने केही हुन्न । आकस्मिक नै हुन्छ । अहिले के हुन्छ ? अलिबेरमा के हुन्छ यो अनिश्चितकालको यात्रा हो ।’
    जानुका ४२ वटा युद्धमा प्रत्यक्ष सम्लग्न भएकी भइन् । उनी आफैंले १२ वटा युद्धको कमाण्ड गरिन् । एउटा टुकडीको कमाण्ड गरेको सर्लाहीको युद्धमा उनले आफ्नो श्रमिान गुमाइन् । युद्धको बेला उनीसँग धेरै धेरै तितो, नमिठो पल छ । उनको जीवनकै पीडादायी क्षण भनेको उनले आफ्नो पतिलाई युद्धमा गुमाइन् । ‘मैले पहिलो युद्ध लडेको सर्लाहीको हरिवनमा हो । त्यहाँ नै मैले मेरो श्रीमान गुमाएँ ।’ उनले आँखाभरी आँसु खसाल्दै भनिन् –‘मैले त्यहाँ एउटा टुकडीको कमाण्ड गरेको थिएँ । मेन फोर्समा हामी दुवैको आ–आफ्नै जिम्मेवारी थियो । तीन चार महिनाअघि देखि हाम्रो भेटघाट भएको थिएन ।’
    त्यस भन्दा अघि पनि उनको घरमा अर्को घटना घटिसकेको थियो । उनको विरामी नन्दवहिनीलाई तत्कालीन शहाही नेपाली सेनाले घरबाट उठाएर सामूहिक बलात्कार गरेर सातविसे भन्ने ठाउँमा गाउँलेलाई भेला गरेर गोली हानेर मारेको थियो । ‘त्यसको ६ महिनापछि मैले मेरो श्रीमान र मेरी सासुआमाले छोरो गुमाउनु भयो । त्यो पीडा मैले जीवनमा वर्णनै गर्न सक्दिन ।’ जानुका भन्छिन्– ‘मैले यो कुरा घरमा यो भन्नुपथ्र्यो । मैले सासुआमालाई तिम्रो छोराले पनि सहादत प्राप्त ग¥यो भन्नै सकिन ।’
    उनले सयौँ साथीहरू युद्धमा गुमाएकी छिन् । युद्ध भने जस्तो हुँदैन भन्ने उनले बुझेकी छिन् । उनलाई उनको अहिलेको जीवन नाफाको जीवन होइन, नाफाबाट पनि उपहार प्राप्त जीवन हो जस्तो लाग्छ । कष्टकर जीवन कपालको त्यान्द्रा जस्ता धरापबाट बाँचेर आइपुग्ने मान्छेहरू कमै मात्र हुन्छन् भन्ने उनको बुझाई छ । उनी पूर्वी कमाण्डमा जनमुक्ति सेनामा भर्ना हुँदा एक सय ५८ जना थिए । अहिले १२ जना मात्रै वाँकी छन् । ‘बाँचेका १२ बाहेक अरु सबैले आन्दोलनमा सहादत प्राप्त गरे’ जानुका भन्छिन्–‘त्यो स्थितिबाट बाँचेर आज यहाँसम्म आइपुग्नु भएको जीवन उपहार नै हो भन्ने लाग्छ ।’
    उनलाई जीवनको अमूल्य समय माओवादी युद्धमा विताएको भनेर कुनै पश्चाताप छैन । आफूले जे गरेँ ठीक गरेँ भन्ने उनको बुझाई छ । ‘अहिले जसरी सक्षम भएर बाँचेको छु, यो समाजसँग त्यो बाँचनुको मुख्य कारण भनेको जनयुद्ध हो । यदि जनयुद्धमा लागेको थिइन भने मसँग यति शक्ति हुने थिएन । मान्छेलाई दुःखले स्पात बनाउने रहेछ । सुखले मान्छेलाई संघर्ष गर्न सिकाउँदैन । जो मान्छेले दुःख, हण्डर, यातना खान्छ  उसले मात्रै सुन्दर जीवन देख्छ ।’–जानुका भन्छिन् ।
    राजनीतिक सुख अहिले कसैले प्राप्त गरेका छैनन् । माओवादी मात्र होइन, अरु पार्टीले पनि सुख प्राप्त गरेको छैन । यो प्रक्रिया रहेछ । त्यसैले सन्तुष्ट हुँदैन । मैले १६ वर्षको उमेरमा बुझेको राजनीति र अहिलेको राजनीतिमै फरक छ । संघर्षको हिसावले मैले जे गरेँ त्यो ठीक गरेँ, त्यसप्रति म सन्तुष्ट छु ।
    ‘हिजो जुन सपना देखेर मेरो उमेरका साथीहरू किशोरहरूको ओठमा जुँगा थिएन, किशोरीहरूको छातीमा गाठा नउम्रिएका छोरीहरू पनि आन्दोलनमा सहभागी थिए ।’– ‘कयौँ साथीहरूलाई मैले त्यहाँ भविष्य छ भनेर सम्झाएर लैजाँदै गर्दा अनि सपनाहरू पूरा नहुनुमा जनयुद्ध विश्राम हुनु पनि एक हो ।’ युद्ध एउटा सम्झौतामा अन्त्य नभएको भए उनी जस्ता लडाकूले उठाएका धेरै मुद्दा समाधान हुने उनको विश्वास छ । ‘हामी एउटा सम्झौतामा विश्राम ग¥यौँ ।’ उनीले भनिन् – ‘त्यसैले गर्दा सोचेका सबै कुरा पूरा भएनन् ।’
    उनी जनमुक्ति सेनाको क्याम्पबाट घर फर्कदै गर्दा १५ वर्ष अघिको समाजसँग प्रतिष्पर्धा गर्नुपर्ने थियो । ज्वरो आउँदा ५० रुपैयाँको सिटामोल किन्ने पैसा उनीसँग थिएन । ‘मलाई समाजले म माओवादी आन्दोलनमा सहभागी भएकै कारणले ५० रुपैयाँ पत्याएन’ उनले भनिन् –‘माओवादीलाई ऋण दियो भने उनीहरूले तिर्दैनन् भन्ने मान्यता समाजमा स्थापित थियो ।’ आफू जस्तै स्थापित हुन आउने सयौ योद्धाहरूले भोगेको कथा यस्तै रहेको उनी बताउँछिन् । मैले पहिला मेरो लागि म आफैंले सोच्नुपर्ने रहेछ भन्ने सोच उनीमा आयो । पार्टीमा हुँदा जनताले खान दिन्थेँ लगाउन दिन्थेँ, जनताको ओछ्यानमा सुत्न पाइन्थ्यो । अव घर फर्किएपछि आफ्नै खुट्टामा उभिन बाध्य बनायो ।
    व्यक्तिगत जीवनको बारेमा आफूले सोच्नुपर्ने भएपछि पहिले आफू र परिवार बनाउनुपर्ने चुनौती थियो उनीसँग थियो । गाँस, वास र कपासको लागि संघर्ष गर्न‘पथ्र्यो । क्याम्पबाट फर्किएपछि उनले आफ्नो घर परिवासँग सल्लाह गरिन् । ‘परिवारले मलाई अरुले जे गरिरहेका छन् तिमीले पनि त्यही ग¥यौँ भने समाजमा टिक्न गाह्रो हुन्छ भनेर सिकायो, जानुका भन्छिन् –‘यसपछि पढेर आत्मनिर्भरताको लागि विदेश जाने निधो गरेँ ।’
    उनले फेरी पढ्ने र भाषा सिकेर वैदेशिक रोजगारीमा जापान जाने निर्णय गरिन् सन् २०१४ देखि २०१६ सम्म जापान र २०१७ देखि पोर्च‘गल हुदै फ्रान्स गएको र त्यहिबाट नेपाल फर्किएको हुँ । जापानमा रहँदा पनि प्रवास समन्वय समितिमा रहेर काम गरेँ । हाल पार्टीको जिम्मेवारीको हिसावले बागमती समन्वय समितिको सदस्यको हैसियतमा उनी छिन् ।
    अहिले माओवादीमा लागेर भूमिगत जीवन विताएका जनप्रतिनिधिहरूको संख्या अत्यन्तै कम छ । ककनी गाउँ पालिकाको अध्यक्ष सुमन, विदुर नगरपालिकाको उपप्रमुख प्रभा भूमिगत जीवन भोगेरै जनप्रतिनिधि भएका हुन् राजनीतिमा पछि जोडिनेहरूले स्थान पाउँदै गरेको सन्दर्भमा उनले यसलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्छिन् । ‘नराकात्मक रुपमा हामीले हेर्दा एउटा पुस्ताले दुई वटा काम गर्न सक्दैन भन्ने मान्यता छ’ उनी भन्छिन्– ‘त्यसैले पार्टीमा नयाँ उदय हुनु स्वभाविकै हो ।’
    उनी जस्तै लडाईँ गर्न गएका लडाकूहरूको उर्जाशील समय त विताई सकेकोले अवको पुस्ताले यसको नेतृत्व सम्हाल्नुपर्ने उनी बताउँछिन् । उनी घाइते हुँदाहुँदै पनि शिक्षाको कारण केही अगाडी छिन् । उनले अर्काको देशमा श्रम नै गरेर भएपनि आफूलाई जीवन यापनको लागि केही सहज बनाएकी छिन् । ‘मेरा सयौँ घाइते साथीहरू जीवन यापनको लागि सडकमा माग्नुपर्ने अवस्थामा छन् ।’ उनी सम्झिछिन् – ‘खानकै लागि संघर्ष गर्नुपर्दा औषधोपचारका कारण कष्टकर जीवन भोग्न बाध्य छन् ।’
    आन्दोलनमा घाइतेहरूको उपचार गर्नको लागि उनले सहयोग जुटाउने र कोषको स्थापना गरी सहकर्मीहरूको घाउमा मल्लम लगाउने प्रयासमा जुटेकी छिन् । ‘एउटा वहिनीको २७ वटा गोलीको छर्रा शरीरमा छन्, जीवनको अन्तिम अवस्थामा म मरुँ कि के गरुँ दिदि भनेर फोन गरिन् ।’ उनले भनिन्– उनको उपचारको लागि मैले अभियान सञ्चालन गरेकी छु । साढे चार लाख रुपैयाँ जति संकलन पनि भएको छ ।’
    धेरै मान्छेहरूलाई सहयोग गर्ने क्षमता उनीसँग छैन । वैदेशिक रोजगारीमा जापान बसेर आएकाले त्यहाँ उनका साथी छन् । साथीहरूलाई गुहार माग्दा केही सीमित व्यक्तिहरूको नयाँ जीवन दिने सहारा भनेर स्थापित हुने कोशिष उनको छ । घाइते, अपाङ्गहरूको उपचारको लागि गणतन्त्र सेनानी कोष भनेर अघिल्लो महिना बागमति प्रदेशस्तरीय कोषको स्थापना गर्न दर्ता समेत भइसकेको छ । बागमति प्रदेशस्तरीय यो कोषको असोज ३ गते घोषणा गर्ने कार्यक्रम उनले राखेकी छिन् । उपचारै नपाएर छट्पटाईरहेका साथीहरूको लागि उपचारमा सहयोग गर्ने यो कोष र उनको उद्देश्य छ ।
    यस अघि पनि सिन्धुपाल्चोकको नयनबहादुर तामाङलाई क्यान्सर भएर उपचारमा समस्या भयो । उपचारको लागि ४०/४२ लाख रुपैयाँ संकलन गरेपनि उनलाई बचाउन सकिएन । उनको ऋणसमेत तिरिदिएर छोराछोरीलाई निःशुल्क पढ्नेसमेत व्यवस्था मिलाइएको उनी बताउँछिन् । अहिले उनी विदुरमा रहेको विन्दबासिनी वचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक भएर आफ्नो स्वभिमानमा रमाइरहेकी छिन् । – यो समय डटकमबाट

युद्धकालमा जानुका धमला

 

No comments:

Post a Comment